काठमाडौं । देशका केही साना नदीमा आज (असोज १२) पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस दिन दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको अनुमान छ ।
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी, बागलुङ, पर्वत, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, प्युठान, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको पूर्वानुमान छ ।