site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सतार नाच र मुरैको लड्डु

धेरै त सम्झना छैन, तर बाल्यावस्थामा अरूका लागि ज्ञानी र म आफैँका लागि अलिक लोसे खालको बच्चा थिएँ । स्कुल सकिनासाथ सबै मेचीखोलामा पौडी खेल्न जान्थे भने म खुरुखुरु घर आउँथेँ । त्यसैले होला, मलाई पौडी खेल्न आउँदैन । 

साथीहरू आँपको मौसममा बुद्धबगानमा आँप चोर्न जान्थे । त्यहाँको लामाले सोझै खुकुरीको झटारो हान्थ्यो । मैले यो रोमाञ्चक घटना भोलिपल्ट साथीहरूको मुखबाट सुन्थेँ मात्र, प्रत्यक्ष कहिल्यै हेर्न पाइनँ ।

यस्ता रमाइला (मेरी आमाका हिसाबले उपद्रो)हरू मैले गर्न पाइनँ । तर, दसैँमा नयाँ लुगा हाल्न, मिठो खान पाउनेमा चाहिँ म अग्रपंक्तिमा नै पर्थें ।

लुगा सिलाउने कुरामा याद आयो, हाम्रो घरमा एउटा टेलर पसल भाडामा बस्थ्यो, न्यू स्टाइल टेलर्स । त्यसका मास्टरको नाम के थियो कुन्नि, हामी मोटा मास्टर भन्थ्यौँ ।

उनले मेरो लुगा मिलाउने, उध्रेको सिलाउने सबै भन्नासाथ तुरुन्तै गरिदिन्थे । तर, उनीसँगको एउटा पृथक् सम्झना छ । एउटा दसैँ मैले कपडा लगेर दिएँ र फुल पाइन्ट सिलाइदिन भनेँ । 

उनले अप्ठ्यारो मान्दै एकफेर सोध्नुपर्छ भनेर कपडा थन्क्याइदिए । म आमासम्म पुगेँ । आमासँग हारगुहार गरेपछि मात्र मैले पहिलोपटक फुल पाइन्ट लगाउन पाएँ ।

नयाँ लुगा लगाएर मेला घुम्न जानुको सान नै बेग्लै हुन्छ, चाडबाडमा । माघ महिनामा बिहानै ४ बजे उठेर बैलगाड़ा चढेर कीचकवध जानुको उत्साह अहिलेको ठूलै प्राप्तिभन्दा धेरै हुने गर्थ्यो ।

दसैँको बेला बन्ने पण्डालहरू र त्यसको बीचमा हुने आपसी प्रतिस्पर्धा अहिले पनि मेरो मानसपटलमा ताजै छन् । वास्तवमा त्यतिबेला बनाउने मूर्ति, पण्डाल र त्यो सजावट अविस्मरणीय हुन्थ्यो । (अहिले पनि भारतको सिलीगुडी जानुभयो भने तपाईंका लागि त्यो लाइफटाइम एक्सपिरिएन्स हुनेछ)

हामीले अहिले सिनेमाका लागि त्यतिको सेट बनाउन पनि सोच्नुपर्ने हुन्छ । त्यसबाहेक प्रतिस्पर्धाका रूपमा हुने ‘धुपौरो नृत्य’ (माटोको धूप जलाउन प्रयोग गरिने भाँडो) जुन ढाक (ढोलक)को तालमा झुम्दै नाचिन्छ) हेर्नमा अति नै रोमाञ्चक हुने गर्थ्यो, जसमा महिला, पुरुष र बच्चा गरेर विभिन्न समूहमा प्रतिस्पर्धा हुने गर्थ्यो र नगद तथा जिन्सीमा पुरस्कार पाइन्थ्यो ।

मेला हेर्नका लागि पहिलेपहिले हामी सीमापारि जान्थ्यौँ, चुरली मेला । भारतको बिहारमा पर्थ्यो यो ठाउँ । हामीलाई साइकलमा पुग्न करिब एक घण्टाभन्दा बढी नै लाग्थ्यो । पछिपछि हामी चुरली मेला जान छोडेर गरामुनी मेला जान थाल्यौँ ।

यी सबैभन्दा मलाई बढी रोमाञ्चक लाग्ने र अहिले पनि झझल्को आइरहने कुराचाहिँ बेग्लै छ । भद्रपुर बजारको बीचमा हरिकीर्तन मन्दिर छ । त्यहाँ अष्टमीको दिन सिंगो पाडोको बलि दिइन्थ्यो ।

चन्द्रगढीबाट नेपाली सेनाले बाजागाजासहित फूलपाती लिएर आउने कामदेखि बलि चढाउने कामसम्म गर्थ्यो । त्यसलाई त्यहाँ ‘भैंसा–चक्कर’ भन्थे । त्यो नाम कसरी रहन गयो वा त्यो बलि चढाइएको पाडो प्रसादका रूपमा कसले लान्थे, यस विषयमा मैले कहिले पनि चासो राखिनँ । कारण, म शाकाहारी भएर पनि होला ।

अँ, मैले भन्न लागेको कुरा त अर्कै छ । दसैँको दिन बजारमा मेला लाग्थ्यो, त्यो दिन छेउका गाउँहरूबाट मेला हेर्न ठूलो संख्यामा गाउँलेहरू आउने गर्थे । त्यसमा सबैभन्दा आकर्षक पक्ष भनेको सतार (सन्थाल)हरूको समूह हुन्थ्यो ।

उनीहरूको पहिरन अनि सिटी र ढोलकको तालमा नाँच्दैनाँच्दै अघि बढ्ने प्रक्रिया सार्है आकर्षक हुन्थ्यो । हामी भने सय रुपियाँको सयवटा मुरैका लड्डु लिएर हरिकीर्तन मन्दिरको माथि गएर त्यही सतार समूहको पर्खाइमा बस्थ्यौँ ।

उनीहरू नाँच्दैनाँच्दै त्यो मन्दिरको अगाडि आइपुगेपछि हामी माथिबाट लड्डु फाल्थ्यौँ । र, उनीहरूले लड्डु च्यापै समाएर मुखमा हाल्थे ! हामी दंग पर्थ्र्यौ । एकछिनपछि त उनीहरूले त्यो लड्डु सोझै मुखले नै समाउँथे !

हामीसँगै तिनका लागि पनि यो रोचक खेल बन्न पुग्थ्यो । त्यही सम्झनामा अहिले पनि बजारमा मुरैको लड्डु देखेँ भने किन्छु । तर, न त्यो भाउ न त्यो रोमाञ्च हुन्छ । हुन्छ त केवल सम्झनाहरू मात्र ।

हुनत बितेको उमेर, समय र रोमाञ्च केही पनि फर्किन्न । फर्कीफर्की आउने त केवल यादहरू मात्र हुन् । ती यादहरूजस्तै मधुर शुभकामना तपाईंलाई पनि ।

माँ दुर्गाले असुरहरूको नाश गरेजस्तै मेरो देशका भ्रष्टाचारीहरूको पनि नाश गरून् ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  २२:१०
प्रतिक्रिया दिनुहोस्