site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
परदेशको दसैँ

झिसमिसदेखि केके न जितौँ भनेर काममा खट्ने शुभासन आज काम नगर्ने मुडमा छ, कम्पनीमा बिदा पनि मागेको छैन । बिदा नलिई बस्दा के भन्लान् भन्ने पनि सोचेको छैन ।

ग्रीन टीको चुस्कीपछि बाहिर निस्किन्छ । कहाँ जाने उसलाई थाहा छैन । उसले कसैसँग सोध्नु पनि छैन । को छ र सोध्नु ? कोठामा छरिएका किताब र फाइलहरू, कुनामा टेबल र टेबलमाथि पढ्ने ल्याम्प, ल्यापटप, आइप्याड र सामसङ ग्यालेक्सी मोबाइल सेट नै उसका साथी भनौँ कि सहयोगी । सामसुङ ग्यालेक्सी साथै जाने भयो ।

उसको डेरा टोकियो मध्यभागमा भएकाले निस्किएको केही मिनेटमै रेल्वे स्टेसन पुग्यो । शरदीय सुन्दरतामा सडकका किनारा साकुरा र अरू फूलहरू मुस्कुराइरहेका छन् । अरू दिन भए आँखा डुलाउँदै हिँड्थ्यो ।

दशकदेखि यही बाटोमा फूल र साकुरासँग रमाउँदै, स्टार बक्समा कफीको घुड्को लिँदै आफ्नै खुसीमा हिँड्ने शुभासन आज बेग्लै छ । बाटो पनि बिरानोझैँ लागिरहेको छ । पाइला पनि नमानीनमानी सडक नाप्दै छन्, उसको दृष्टि पनि एकोहोरो छ ।

‘ए, रेल्वे स्टेसन त काटिसकेछु ! कहाँ जानु छ र, जहाँ पुगिन्छ त्यही जान्छु !’

उसका पाइला सुमिदा नदीको सानो वाटर क्रुजतर्फ लागे । कैयन्पटक सरलासँग गरेको यात्रा भएकाले होला, पाइलाहरू थाहै नपाई त्यतैतिर बढेका छन् ।

बिहान भए पनि सिमसिमे पानी छ । वाटर क्रुज (पानीबस)मा पनि खासै यात्रु छैनन् । जति छन्, जोडी छन् । परिवारमा छन्, साथीहरूसँग छन् । बच्चाहरू पपकर्न, पोकी, सित्तोरी चोको, किनको नो यामा, चकलेटमा रमाएका छन् ।

वयस्कहरु कफीमा छन् । युवतीहरू मोबाइल स्क्रीनमा आँखीभौँ मिलाउँदै छन् । सधैँ काम, काम, कामले होला, युवतीहरूलाई सिँगारिन पनि समय नभएको ।

क्रुजको गति खासै छैन, भिजिबिलिटी पनि कम छ । शुभासनको मन बच्चाबच्चीतर्फ पर्छ— मेरा पनि यत्रै बच्चा भएको भए यसैगरी चारचारचिरचिरमा हुन्थे होलान् । बच्चाले आमाबाबासँग गरेको झगडाको पनि आफ्नै आनन्द हुने थियो !

एक्लो यात्रा, गन्तव्यहीन निरुद्देश्य यात्रा । आफ्नै मनबाहेक बोल्ने कोही छैन । सबै आआफ्नै ध्याउन्नमा छन् ।

सुमिदामा चल्ने पानीबसहरूमा धेरै त जोडी नै छन् । कोही आलिंगनमा छन्, कोही टिकटक भिडियो बनाइरहेका छन् । शुभासनको मन भने आफ्नो बाल्यकालको विजयपुर, भेडेटार, आँपगाछी, इटहरीतिर पुग्यो ।

मिठा स्मृतिका क्षणहरू चलचित्रका मोन्टाजजसरी मनका भित्ताभरि सरर्र फैलिए– स्कुले जीवनमा आमाबुबाको आँखा छलेर भेडेटार पुग्थ्यौँ । म त केटा मानिस, सरलालाई ढाँट्न कति असजिलो थियो होला ? अरूको आँखा छलेर गएको रेस्टुराँ, त्यहाँ गरेका बाचाहरू, कुरा गर्दा गर्दै सेलाएका चिया, खाजाहरू...।

लुकेर गरिएको माया कति मिठो ! जापान जाने हाम्रो सपना, मेरो भिसा लागेपछि सरला कति दुःखीखुसीमा थिई । काखमा घोप्टिएर घुँक्कघँुक्क गरेको अहिले जस्तो लाग्छ ।

बिचरा शुभासनलाई पढ्नु थियो, प्रेम गर्नु थियो । आमाबुबाको दुःखलाई पैसाले भरथेग गर्नु थियो । समाजमा विदेश गएर पढे–कमाएको देखाउनु थियो । यसको योजना सरलासँगै बसेर भेडेटार, दन्तकाली र बुढासुब्बामा बनाएको थियो । भिसा लागेपछि दन्तकालीमा गएर सरलालाई सुटुक्क सिँउदो रंग्याएको थियो ।

स्वर्गजस्तो देश जान पाइने भएपछि शुभासनलाई केके न गराँै, केके न भनौँ भन्ने खुसी छ । चेहरामा खुसी र चञ्चलता स्पष्टै देखिन्थ्यो ।

शुभासनले इन्जिनियरिङ गरेपछि सरलाले पनि जापानी भाषा सिकिन् । उता शुभासनले भन्नुको जागिर पाएको छ । बिहानबेलुको अल्वाइतो पनि गरेर टन्न पैसा कमाउन थालिसक्यो । नेपालीहरू नियमित कामबाहेक अल्वाइतो गरेर पनि पैसा कमाउँछन् ।

जापानमा नेपाली रेस्टुराँ खोलेर तहल्का मच्चाउने सरलाको योजना थियो । भीष्मजीले आयरिस ग्याल्वे पव खोलेर धेरैलाई काम दिएको, पैसा कमाएको चर्चा गाउँभरि फैलिएको थियो ।

आफूले पनि त्यसै गर्ने सरलाको योजना छ । योजनाअनुरूप नै शुभासन नेपाल आएर छोटकरी विवाह गरे, मनमनको विवाह त दन्तकाली साक्षी राखेर पहिल्यै गरिसकेका थिए, समाजलाई देखाउनु थियो ।

सरलालाई लिएर शुभासन टोकियो हानियो । एउटा जापानी रेस्टुराँमा काम लगाएको केही दिनमा ऊ अलि परको कन्ट्रीसाडमा गयो । सप्ताहान्तमा आएर सरलासँग बस्थयो ।

मनभित्रको सपनाको संसारले अँकुर हाल्दै थियो । तर, एक वर्ष नपुग्दै सरलाले सपना जगैदेखि भत्काइदिइन् । रेस्टुराँ मालिक डेजू उनको श्रीमान् भएछ ! 

एक दिनको सप्ताहान्तमा आउँदा घाइते हुने गरी डेजूले शुभासनलाई आक्रमण गर्‍यो । आक्रमणमा सरलाले राम्रै सघाइछन् । अगिल्लोपटक आउँदासम्म ‘आहायो गाजाइमास शुभ साङ’ भन्थ्यो । उनीहरूले राम्रै योजना बनाएका रहेछन् ।

शुभासनले तीन त्रिलोक देख्यो । छाँगाबाट खसेजस्तो भयो– सरला किन डेजूकी श्रीमती बनेकी होली ? न चिन्नु न जान्नु !

म कति उल्लु मानिस, एउटा जवान केटीलाई जवान केटा मात्र भएको रेस्टुराँमा उसैलाई जिम्मा लगाएर काममा जाने । थुक्क लन्ठु ! पिण्डेश्वरका गुरुले मनुस्मृति उद्धृत गर्दै भनेका थिए– जवान केटीलाई अरू त अरू आफन्तसँग पनि एक्लो छाड्नु हुन्न । शास्त्रको भनाइ किन झुटो हुन्थ्यो !

डेजूको श्रीमती बन्ने उनको बाध्यता थियो होला, सल्लाहले भनेको भए पनि हुन्थ्यो । यति माया गर्ने प्रेमीलाई किन मर्ने गरी पिटाएकी ? म डेजूको श्रीमती भेट्न गएको थिएँ र ! आफ्नै श्रीमती, धरानदेखिको माया, आफैँले मायामा हुर्काएको मुटुको टुक्रा भेट्न गएको थिएँ ।

उनले मलाई त्यस्तो धोका नदिएको भए हुन्थ्यो । माया त विश्वासमा हुन्छ । सँगै रहँदा, निदाउँदा मारिदिएको भए हुन्थ्यो, मैले उनलाई विश्वासघाती त भन्नुपर्ने थिएन ।

हाम्रो माया सरलाको जवानीको रापले भस्म भयो, हाम्रो सपना सरलाको कामुक प्यासले खरानी बनायो । फेरि, उनलाई यसको अलिकति पर्वाह, पश्चात्ताप केही छैन ।

त्यो मंगोलियन ढेडुले हामीलाई सखाप पार्‍यो । हामीलाई सखाप पार्न अचानक देखिएको ‘ब्ल्याक हर्स’ – त्यो ब्ल्याक हर्सको सैतानीले उनैलाई नडस्ला कसरी भन्ने ?

मेरी श्रीमती लैजाने, उल्टै मलाई नै मेरी श्रीमती भएकोमा किन आइस् भनेर आक्रमण गर्ने ?

सरलाको मन कति निष्ठुर ! दन्तकालीमा गरेको जीवनभर सँगै बाँच्ने बाचा कहाँ गयो ? सल्लाह गरेर नै म तिमीसँग हैन, उससँग खुसी छु, उसैकी पत्नी बन्छु भनेको भए भइहाल्थ्यो नि ! अरूकी पत्नी भनेपछि म किन मसँगै बस भन्थे होला र ?

सरलाले नारी सत्ताकै उपहास गरिन् । के नारी यौन, जवानी र सुखसयलबाहेक अरू केही चाहँदैनन् ? विश्वास र मायालाई अपमान गरेर धरातलै भत्काएर धोका दिने मन कसरी हुर्किन्छ ? उनले आमा बनेर मातृत्व कसरी वरण गर्लिन् ? उनले आफ्ना सन्तानलाई कस्तो शिक्षा देलिन् ?

के जवानी रित्तिएपछि पनि डेजूले उनलाई अपनाइरहला ? आ, जेसुकै होस्, शून्यमा गएर सम्बन्ध भुले भइगो नि ! भुल्न पनि सक्नुपर्‍यो नि ! एकान्त भएपछि सरलाको आकृतिले पछ्याउन भुल्दैन, कसोरी भुलूँ ।

मायाको अर्थ पाउनु मात्र हो र ? जुलियटले रोमियो गुमाएपछि झन् माया झाँगिएको थियो ।

पानीबस ओदाइवामा रोकियो । सबै यात्रु हतारहतार झरे, आआफ्ना यात्रामा बाँडिए ।

शुभासन एकछिन ठिंग उभियो । नजिकको कियोस्कमा खै के हाल्यो, एउटा स्टारबक्स कफी र निहोन सिम्बोन पत्रिका लिएर किनाराको लिबर्टी स्टाच्यु र साकुराको भर्‍याङबीचमा त्यो निहोन सिम्बोन ओछ्याएर बस्यो ।

समयसमयमा स्टारबक्सबाट कफी चुस्दै परपरसम्म आँखा बिछ्याएर टोलाउन थाल्यो । कोलाहल, रमझम केहीले उसलाई छोएको छैन । सबैबाट तटस्थ छ, निरपेक्ष छ ।

सरलालाई जापान ल्याएको, सिन्जुकू, आकिहावारा, टोकियो टावर, फुजी साङ, ओदाइवा घुमाउँदै सपना बुनेको स्मृतिले उसलाई एकतमासले थिचिरहेको छ । उनले सबैभन्दा मन पराएको ठाउ ओदाइवा, त्यसैले उसका अचेत पाइला अवचेत मनलाई पछ्याउँदै यता बढेका थिए होलान् ।

ऊ सम्झिन्छ– हामी दुई आशाकुशादेखि यही पानीबसमा पटकौँपटक यहाँसम्म आएर लिबर्टी स्टाच्युमा रमाएका थियौँ । भोकाएपछि रेगिक्यु रिभर सन्टरमा लन्च गर्थ्यौं । कुन पापले मेरी सरलालाई मबाट थुतेर लग्यो !

त्यो ब्ल्याक हर्सले मेरी सरलालाई सुख त देला नि !

बिचरा सरला ! तिमीलाई कहिल्यै दुःख नपरोस्, तिमी खुसी रह्यौ भने पनि मेरो मायाले शान्ति पाउँछ । तिमी उसकी भए पनि मेरोचाहिँ तिमी मात्र हौ, मेरो मुटुमा अरूका लागि ठाउँ छैन । तिम्रा आँखामा एक बुँद आँसु हुनु हुँदैन, मन टङ्चिनु हुँदैन ।

सिमसिम पानी पर्न थाल्यो । शुभासन ओतका लागि रेगिक्यू रिभर सेन्टरको सुपर लबीतिर लाग्यो ।

सुपर लबीमा उसका आँखा ठ्याक्क अडिए– यही लबीमा हामीले तीनचारपटक दिन बिताएका थियौँ । तर, आज म एक्लै ।

शुभासन त्यहाँ पनि अडिन सकेन । फेरि लिबर्टी स्टाच्यु आएर साकुराको फूलतिर हात तेर्स्यायो । स्टाच्यु स्थिर छ, जापानमा उनीहरू दुईको प्रेम कथाको साक्षी यही साकुरा र लिबर्टी हो ।

आज त साकुरा पनि हाँसेको छैन । स्टाच्यु स्वतन्त्र छ, नामजस्तै । स्वतन्त्र हुनुको अर्थ निरपेक्ष हुनु पनि हो । होइन, ऊ निरपेक्ष छैन, उसका समीप जो जति आलिंगनमा आए ती सबैलाई स्वच्छन्दताको आशिष् दिँदै आएको छ ।

शुभासन पनि लिबर्टीजस्तै मूर्ति बन्यो, मानौँ उसमा कुनै चेतना छैन । कुनै प्रतिक्रिया छैन । हातको निहोन सिम्बोन पनि सिमसिमे पानीले भिजाइसक्यो । अखबारका अक्षर भिजेर के भो, आफैँ सखाप भएपछि !

झल्याँस्स चेतनामा पुग्यो र फेरि स्मृतिमा डुब्न थाल्यो– आज दसैँको अन्तिम दिन, विजयादशमी । सरलाले त टीका पनि लगाउन्नन् होला । सँगै भए जयन्ती मंगलाकाली... भन्दै देवीशक्तिको उपसानामा कति मिठा आशिष् दिन्थेँ । ती आशिष् मैले उनलाई दिए पनि हाम्रै खातिर हुने थिए ।

त्यो डेजू ढेडुलाई टीकाको के मतलब ! डेजूको भएकीले सरलालाई नेपाली संस्कृतिको के मतलब, माया त चटक्क फेर्न सक्नेलाई संस्कृतिको के मतलब !

धरानमा रहँदा निधारभरि टीका लगाएर, बगलीभरि दक्षिणा र गलामा जमराको माला लगाएर कति ठूलो बन्थेँ । सरला मलाई भेट्न आफ्ना आमाबुबालाई छकाउने दाउ मिलाएर आउँथिन् ।

म एकछिन साथीसँग रोटेपिङ भन्दै सरलालाई पल्सरमा हुँइक्याएर भेडेटार पुग्थेँ । चार्ली प्वाइन्टमा सप्तकोसीको हलुका गुलाबी दृश्यमा रमाएपछि राजारानीतिर हेर्दै कफी पिएर धरान हुँइकिन्थ्यौँ ।

हाम्रा उहिलेका दसैँ । हामी रमाउन आमाबुबालाई ढाटेका दिनहरू...। आमाबुबाले पनि ढाँटेका कुरालाई पत्याएका दिनहरू...।

त्यो भेडेटार, यो ओदाइवा । यो टोकियो टावर, त्यो चार्लिप्वाइन्ट । यो टोकियो बे, त्यो सप्तकोसीको गुलाबी मैदान !

रत्नचोक र बाझगराको रोटेपिङ, विजयपुरको कुलायन पूजा, बुढासुब्बामुनि सर्दुको बगर, विष्णुपादुकाको हरियालीमा शुभासन हराइरहेको छ । ऊ अहिले ओदाइवाबाट धरान पुगेको छ । भावनालाई भौतिकीले कसरी छेकोस् ?

कल्पनामै हराउँछ ऊ– सरला र म काइहिन कोएनबाट आँखा बिछ्याउँदै फुजी साङ हेर्थ्यौं र कल्पना गर्थ्यौं– त्यो भेडेटारभन्दा अलिकति अग्लो त होला नि, जापानीहरूले कति पारख गरेका !

अब सरला छैनन्, फुजी साङलाई पनि बादलले घुम्टो ओढाइसक्यो । म मात्र भए पनि, अस्पष्ट देखिए पनि, हामीले आँखा बिछ्याएको स्थानमा हेरिरहूँ...!

घाम ढल्किसक्यो । यात्रुहरू दौडादौडमा छन् । कोही पूर्वतिर हानिएका छन्, कोही पश्चिमतिर । रेल, पानीबस सबै भरिँदै छन् । शुभासन भने लिबर्टीलाई नियाल्दै साकुराको फेदमा स्टाच्यु बनिरहेको छ ।

गए साल त शुभासनले नेपालबाट आएका एकजना वरिष्ठ कर्मचारीको हातको टीका लगाएको थियो । एनआरएनको दसैँ भेलाले नेपालबाट आएका ती कर्मचारीलाई अभिभावक मानेर दसैँ मनाइएको थियो ।

टीकापछि शुभासन केही नबोली घुँक्कघुँक्क रोएको थियो । अरू नेपालीहरू किन भावनामा बगेको भनी सम्झाउँदै थिए । शुभासनले मन खोलेको थिएन, मनको भक्कानोलाई आँसुमा पोखेको रहेछ ।

टीकाको दिन यतिखेर त हामी धरानको रोटेपिङमा मच्चिरहेका हुन्थ्यौँ । सरला र म एकैपटक चढेर रमाइलो मान्दै चिहिलिन्थ्यौँ । यहाँ बच्चाहरू रोलर कोस्टमा चिहिल्लएका छन् ।

भेडेटारको तोङ्बा भन्दै सरलासँग आसाई र साके पिएका दिन...। मलाई एक्लै पारेर के गरेकी मोरी तिमीले ! तिमीलाई जापानको सपना कसले देखायो ? यहाँसम्म कसले ल्यायो ?

सक्ने भएपछि सपना पोल्न पाइन्छ ? सक्ने भएपछि प्रेमी फेर्ने नारी तिम्रो मन छैन ? नाफा घाटा र सन्तुष्टिको हिसाब त मस्तिष्कले गर्ने हो, प्रेम मुटुले गर्छ, मुटुले । के जापानको भौतिक प्रगतिले तिम्रो मुटु नै परिवर्तन गर्‍यो ? तिमीसँग मुटु नै रहेनछ !

शुभासन मनमनै गमिरहेको छ । न बताउने साथी छ । बताउन पाएको भए पनि मन अलिकित हल्का हुन्थ्यो कि !

फेरि पानी बाक्लिन थाल्यो । सुमिदा नदीमा परेका पानीका थोप्लाले पनि शुभासनलाई आँखा तरेर हेर्दै छ । शुभासन तँ लाछी होस् ! रिभर सेन्टरको होडिङ बोर्डका दृश्यले पनि उसलाई उपहास गरेझैँ लाग्यो ।

उसको साँचो साथी त्यही साकुरा र लिबर्टी । साकुरा पनि उज्यालो छैन, लिबर्टी मन खिन्न मानेको जस्तो मुडमा एकटङ्कार हेरिरहेको छ ।

उसको चित्त बुझेको छैन– मलाई के नपुगेको थियो ? पढेर सरक्क धरान फर्केको भए मायाको ठाउँमा माया हुन्थ्यो, सरला मादमा मात्तिन पाउने थिइनन् । हाम्रा लालाबाला पनि भइसक्थे । आमाको काख र बाबाको अभिभावकत्व हुन्थ्यो ।

कर्कलाको पातमा नअडेको पानीको थोपाजस्तो मेरो रहर पातबाट झरेर विलीन भयो । मैले देश भुलेँ, आमाबाबा भुलेँ, जन्मभूमि भुलेँ । मेरो पहिचान र परिचय भुलेँ । संस्कार र संस्कृति भुलेँ । साथी र सँगत भुलेँ ।

खोइ, मेरो दसैँ र मालसिरीको धुन ? आँखाको तिरिमिरमा रमाएँ । जवानी सकेँ, जोस निखारेँ र आफू स्वर्ग आउने क्रममा मेरो पसिनाले जापानलाई झन् स्वर्ग बनाएँ । निर्जीव लिबर्टी र हाँसेर हेरिबस्ने साकुराबाहेक मेरो को छ यहाँ ? भएको जति सबै गुमाएर म किन बाँच्ने ?

म लाछी हुँ । आमाको कोखको भार, आफ्नै लागि भार । म किन बाँच्ने ? मैले आफूलाई आजै सक्नुपर्छ र चेतनाशून्य भएपछि यतिविघ्न अरू फेरि सोच्नै पर्दैन । यतिखेर धरानमा आमाबाबाहरू रुँदै टीका अर्पिंदै होलान् ।

शुभासनको मोबाइल रिङटोनमा मालसिरीको धुन बज्यो ।

आमा रुँदै भन्दै छिन्, “बाबा, भिडियो अन गर त ! टीका लगाउने साइत भयो ।”

आमा टीकाको थालीमा जमरा लिएर उभिइन्, बाबाले टीकाको मन्त्र पढ्न लागे– आयुद्रोणसुते श्रीयम्दशरथे शत्रुक्षयम् राघवे ।

(शंखमूल) 

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  २०:४०
प्रतिक्रिया दिनुहोस्