काठमाडौं । नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दिएको छ । सोमबार राति यूएईको शारजाह क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको हो ।
नेपालको ब्याटिङमा दुई खेलाडीले अर्धशतक प्रहार गरे । आसिफ शेखले सर्वाधिक ६८ रन बनाउन ४७ बलको सामना गरेका थिए । त्यसैगरी, सन्दीप जोराले पनि विस्फोटक ब्याटिङ गर्दै ३९ बलमा ६३ रन जोडे ।
अन्य खेलाडीमा कुशल भुर्तेलले चार, कप्तान रोहित पौडेलले तीन, कुशल मल्लले सात, गुलशन झाले ६ र मोहम्मद आदिल आलमले ११ रन बनाए । नेपालले कुल १३ अतिरिक्त रन पाएको थियो ।
बलिङतर्फ अकिल हुसेन र काइल मेयर्सले समान दुई–दुई विकेट लिए । यसबाहेक, जेडिया ब्लेड्सले एक विकेट लिए ।
आजको खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । यसअघि, पहिलो खेलमा नेपालले दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध १९ रनको जित निकालेको थियो ।
यी दुई टिमबिच तीन खेलको टी–२० शृंखला हुने तालिका छ । जसअनुसार, शृंखलाको अन्तिम खेल मंगलबार शारजाहमै हुनेछ ।