दसैँ हिन्दुहरूको महान् चाड । त्यसमाथि कुन बेला दसैँ लाग्ला र स्कुल छुट्टी होला भन्ने हाम्रा लागि त निकै मजा हुन्थ्यो, बाल्यकालमा । अलिअलि बुझ्ने हुँदाको दसैँको रमाइलो अहिले कहाँ पाउनु !
१२–१३ वर्ष अर्थात् आजभन्दा ३०–३२ वर्षअगाडिको दसैँ सम्झँदा मन उही समयमा फर्किन्छ । अहिलेजस्तो नयाँ लुगा कहाँ पाउनु, वर्षको एकजोर त्यो पनि दसैँमा पाइने कपडा अरूलाई देखाउने रहर गजबै हुन्थ्यो ।
काँठमा दसैँ आएको चाहिँ घरमा तोरी पेलेर ल्याएको तेलको मिठो मगमगाउने बास्नाबाट थाहा हुन्थ्यो । अझ गाउँभरिका दिदीबहिनीहरू मिलेर रातो माटो खन्न जाने सल्लाह हुन्थ्यो र हुल बनाएर रातो माटो र कमेरो माटो खन्नका लागि लामै लागेर गइन्थ्यो ।
खनेर ल्याएको रातो माटोले लिपेर रातै पारेपछि, वरपरका झारपात उखेलेपछि घरआँगन सफा देखिथ्यो । चिउराको मगमग बास्ना अनि मिलेर काटिने खसीका र मासुका कुराले आँतैदेखि भोक लागेर आउने !
टोलका समउमेरका साथी मिलेर खेल्ने लंगुरबुर्जा अनि चंगा चेटको खेल । हामी सहरभन्दा अलि परको काँठमा दसैँलाई घर लिपपोत गरेपछि स्वागत गर्थ्यौं । नयाँ लुगा किन्नु र लगाउनु यो चाडबाडको महत्त्वपूर्ण माग नै हुन्थ्यो । दसैँमा नयाँ लुगा लेराएपछि मात्र मन खुसी हुन्थ्यो ।
हुनेले सजिलैसँग र नहुनेले रिनधन खोजेरै भए पनि लुगा किन्थे । नेपालका ग्रामीण क्षेत्रमा अर्थात् गाउँघरमा बसोबास गर्ने धेरै मानिसको नियति नै त्यही हो । यो चलन आजपर्यन्त चलेकै छ । आज पनि लुगाका पसलमा हुने गरेको भीडले त्यही इंगित गर्दछ ।
हुन पनि दसैँमा सबैभन्दा बढी लत्ताकपडा बिक्री हुने गरेको छ । अहिले पनि त नयाँ कपडा नकिनी दसैँ आएजस्तो कहाँ लाग्छ र !
दसैँ नजिकिँदै जाँदा चंगा उडाउनु सामान्य हुँदै जान्थ्यो । भनिन्छ, अब वर्षा नपठाउन भगवान्लाई सम्झाउने एउटा तरिका मानिने भएकोले पनि चंगा उडाउने गरिन्छ । रंगीचंगी चंगा उडाएर र ‘चंगा चेट’ गर्दा चिच्याउने आवाजले पनि दसैँलाई उज्यालो बनाउँथ्यो ।
दसैँ मनाउनुको एउटा अर्को विशेष पाटो हो, सबै आफन्तसँगको भेटघाट र सम्बन्धको नवीकरण । यसलाई सबैभन्दा महत्त्वपूर्ण भनिदिँदा हुन्छ ।
काँठमा दसैँको बेला केटाकेटीहरू चंगा उडाउन व्यस्त हुँदा परिवारका ठूलाबडा पैसा र रमाइलोको लागि एकसाथ भेला भएर तास खेल्ने गर्थे । तास खेल त अहिले पनि चलिरहेकै पाइन्छ, तर आजका केटाकेटी चंगासँग होइन मोबाइलसँग खेल्छन् ।
एक त काँठको दसैँ, त्यसमाथि पिङ नहुने हो भने के मज्जा भयो र ! हुनत अलि हामी ससानाका लागि रुखमा नाम्लोको बाबियोको पिङ पनि हालिदिन्थे । अलि पर चोकतिर बाँसमा लिंगेपिङ बनाइएको हुन्थ्यो ।
दसैँको विशेषतामा पिङको उत्सव पनि थपिने भएकाले काँठका धेरै ठाउँहरूमा बाँसका लिंगेपिङहरू नै निर्माण गरिन्थ्यो । यो चलन आज पनि छ । कुनैकुनै डाँडामा पिपलको रुख वा आँपका रुखमा पनि पिङ हाल्ने परम्परा थियो । तर जसरी होस्, पिङ हालिन्थ्यो नै ।
पिङ स्थानीय संस्कृति, परम्परा, सामुदायिक भावना र आनन्दको सबैभन्दा राम्रो प्रस्तुति मानिन्छ । यी पिङहरू समुदायका सदस्यहरूले परम्परागत सामग्रीहरूद्वारा निर्माण गरेका हुन्छन्, जसमा कडा घाँस, बाँसको लट्ठी, काठ र डोरी प्रयोग गरिन्छ ।
सामान्यतया घटस्थापनाको एक हप्ताअघि नै पिङ बनाउने र दसैँतिहारपछि मात्रै फुकाउने गरिन्छ । वर्षको एकचोटि भुइँ छोड्नुपर्छ भन्ने मान्यताअनुरूप बनाइएको पिङको उचाइ बीस फिटभन्दा बढी हुने गरेको छ ।
दसैँजस्तो चाडबाडको समयमा मेला तथा उत्सवको आयोजना पनि हुँदै आएको हो । सामान्यतया विविध सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना हुँदै आएका हुन् । सहरहरूमा व्यावसायिक मेला र उत्सवहरू हुँदा ती व्यवस्थित देखिन्छन् भने काँठमा हुने उत्सवमा त्यो व्यवस्थापन देखिँदैन । मेला गाउँको मेलाजस्तै हुन्छ ।
घटस्थापनाको दिन जमरा राखेपछि हरेक बिहान उठेर नुहाएर नित्यपूजा र चण्डी पाठ गरिन्थ्यो । सानैदेखि जमरा कोठामा गरिने चण्डी र दुर्गा सप्तशती पाठ आज पनि आफैँ निरन्तर गरिआएको छु ।
दसैँको उत्सव शक्ति र शक्तिको समन्वय गराउने उत्सव हो । नौरथाका नौ दिन जगदम्बाको उपासना गरेर शक्तिशाली बनेको मनुष्य विजय प्राप्तिका लागि तत्पर रहन्छ ।
हामीकहाँ नवमीका दिन नौवटा कन्या खोजेर पूजा गरिन्थ्यो भने बा, आमा, हजुरआमाले गर्न लगाएको काम पनि खुरुखुरु गरिन्थ्यो ।
दसैँ हिन्दु संस्कृति प्राचीनकालदेखि नै वीरता र सौर्यको समर्थक रहेको छ । भगवान् राम रावणसित युद्ध गर्न यसै दिन प्रस्थान गरेका थिए । मराठा रत्न शिवाजीले पनि औरंगजेबका विरुद्ध यसै दिन प्रस्थान गरेर हिन्दु धर्मको रक्षा गरेका थिए ।
इतिहासमा अनेक उदाहरण छन्, जब हिन्दु राजा यस दिन विजयका लागि प्रस्थान गर्दथे । खुसियालीको ठूलो पर्व र विजयोत्सवका रूपमा मानिने दसैँ आज पनि उत्तिकै महत्त्वपूर्ण चाडका रूपमा रहेको छ ।
(चन्द्रागिरि, काठमाडौं)