दसैँ हामीले महान् पर्वका रूपमा मानिआएका थियौँ र छौँ पनि । दसैँको सांस्कृतिक सौन्दर्यको पाटो बेग्लै महत्त्वकोे छ । कुरो त्यति बेलाको हो, जब म कक्षा–५ मा पढ्थेँ ।
दसैँको उत्साह नै बेग्लै । मेरा लागि दसैँले भरपेट मासु भोजन गर्न पाउनुको अर्थमा महत्त्व राख्थ्यो । दसैँ नवदुर्गा माताको पूजाआराधनाको आयामभन्दा हामी केटाकेटीलाई एकजोर नयाँ लुगा शरीरमा पाउने हतारो हुन्थ्यो । यो आयामको विशेष अर्थ थियो ।
मलाई लाग्छ, पैसाको अभाव हुन्थ्यो उति बेला । थोरै पनि पैसा जागिरेसँग बाहेक हुन्थेन् । गरिबीले थिचिएका गाउँलेहरूसँग कहाँ हुनु ?
बरु, अघिपछि मासु खान नपाए पनि दसैँमा सिंगो खसी प्रायजसोले मार हान्थे । त्यसको निम्ति बेलैदेखि जोहो गर्ने चलन थियो । हाम्रो घरमा पनि हजुरबुबाले दसैँका लागि खसी जोरजाम गर्नुहुन्थ्यो ।
बाबियो जताततै बारीका डिलमा पाइन्थ्यो । डोरी बाट्न जान्ने पाका बाहरूले बाबियो बाटेर लठारो बनाइदिन्थे, पिङको । घरअगाडि वरपिपलका रुख थिए । त्यही रुखमा पिङ हाल्थे ।
तर, म असाध्यै डराउँथे । कहिल्यै पिङको लठारो समाइनँ मैले । किनकि, मेरो काकाको काखमा बसेर पिङमा मच्चिँदा म घट्टको कुलोमा खसेको थिएँ ।
सायद मेरो भाग्य बलियो हो कि ! हिलोमा गाडिएको थिएँ । खासै चोटपटक लागेको थिएन । त्यसपछि पिङको लठारो अहिलेसम्म समातेको छैन ।
बुबा सहर आउनुहुन्थ्यो, परिवारका सदस्यलाई कपडा किन्न । उति बेला सहरको अर्थ काठमाडौं बुझिन्थ्यो । एक दिन बस्ने गरी बुबा सहर आउनुहुन्थ्यो ।
भाइ अलिक सानो भएकोले म बुबासँग सहरको झिलिमिली हेर्न पनि पाइने भएर पछि लाग्थेँ । यसैक्रममा वि.सं. २०४३ सालको दसैँताका बुबाले काठमाडौं ल्याउनुभएको थियो ।
घटास्थापनादेखि तिहारको भाइटीकाको दिनसम्म विद्यालय बिदा हुन्थ्यो । सहरको उज्यालोले मेरो मन पनि चम्किएको थियो । उति बेला अहिलेजस्तो घना सहरका बस्ती थिएनन् ।
साँझपख सहिद गेट झरेर न्युरोडतिर हिँड्दा बाटोभरि बिजुलीबत्तीको उज्यालो देख्दा क्या रमाइलो लागेको थियो मलाई !
पाकोभन्दा उता खिचापोखरीमा बुबाले कपडा किन्न लिएर जानुभयो । अरूले आफ्ना बच्चालाई ज्याकेट किनिदिएको देखेर मलाई पनि बहुत रहर लाग्यो । आहा, ज्याकेट लगाएर घर जान पाए त !
मन उसै पुलकित भयो । मैले बुबालाई एउटा ज्याकेट किनिदिन भनेँ । तर, बुबाले स्वीटर किन्न खोज्नुभएको थियो । किनकि, स्वीटरको प्रचलन बढी थियो । अनि, सस्तो पनि । ज्याकेट त गाउँमा हुनेखाने बिरलैले मात्र लगाउँथे ।
तीनवटा स्वीटर हेर्नुभयो बुबाले – मलाई, भाइलाई र हजुरआमालाई । मैले लगाउन मानिनँ । मैले कल्पनामै अलौकिक आनन्द मानेँ– ज्याकेट लगाउन पाए ! आन्दोलन गरेँ ! बुबालाई घुर्क्याएँ । अनुनयविनय गरेँ ।
आखिर मेरो जित भयो । बुबाले मलाई एउटा ज्याकेट नै लिइदिनुभयो । तर, भाइलाई एउटा स्वीटरबाहेक अरू कसैलाई केही किन्नु भएन ।
मैले पैसा नभएर नकिनेको होला भनेर सोच्न सकिनँ । अहिले सम्झँदा दुःख लाग्छ, मेरो जिद्दीपनमाथि । बुबाले मेरो जिद्दीको अगाडि पराजय स्वीकार्नुभयो ।
त्यसबखत म खुसीले असाध्यै गदगद थिएँ । पुतलीजस्तो फुरुंग परेर घुम्थेँ । लंगुरबुर्जा खेल्ने बेला ज्याकेट लगाएर जाँदा मेरा उमेरका दौँतरीहरू सबैको आँखा लाग्थ्यो ।
मलाई मेरो घरमा के बितिरहेको थियो त्यो परिवेशको मतलबै थिएन । कसैले मेरो शरीरको ज्याकेटमा हात लगाउँदा पनि थर्काउँथेँ । मानौँ, मैले संसार जितेँ– यो भान परेको थियो मलाई ।
तर, मलाई के थाहा बजेटमा नपरेको कुरा खरिद गर्दा घरमा समस्या हुन्छ भनेर ।
सबैले वाहवाही गरे । यसको जस्तो ज्याकेट लगाउन पाए भन्ने सबै मेरो वयका साथीहरूको मनमा खेल्दो हो ।
धुलो लागेको छ कि भनेर बेलाबेलामा हातले शरीरमा पहिरिएको ज्याकेट टकटक्याउँथे । पिङ नखेल्ने मान्छे म, त्यहाँ पनि पुग्थेँ ज्याकेट देखाउन । मनमौजी हिँड्थेँ । मामाघर जाँदा पनि त्यही ज्याकेट लगाएर गएको थिएँ ।
त्यति बेला मामाघरमा गाउँभरि टीका थाप्न जाने चलन थियो । जब सबै मेरा उमेरकाहरू मेरो ज्याकेट हेर्थे नि, त्यति बेला ममा एक प्रकारको रवाफ सवार हुन्थ्यो र नाकका पोरा गर्वले फुल्थे ।
तर, मलाई के थाहा कि त्यति बेला बुबाले मेरो खुसीका निम्ति महँगो ज्याकेट किनिदिनुभएको । अनि, त्यही ज्याकेटका कारण घरका केही सदस्यको आवश्यकता रोकिएको ।
जब अलिअलि चेत पस्न थाल्यो, तब मलाई त्यो ज्याकेट किनेर ठूलो भुल गरेछु भन्ने महसुस भयो । कति धेरै प्रताडना दिएको रहेछु बुबालाई ! घरको यावत् पक्षका बारेमा जानकारी नहुँदा परिवारलाई पिरोलेको रहेछु भन्ने सम्झँदा धेरै दुःख लाग्छ ।
वास्तवमा उति बेला दसैँमा नयाँ लुगा हालिदिने भनेको स्कुलको लागि सुहाउँदो ड्रेस नै थियो । स्वीटर पनि मिलाएर किन्दिन खोज्नुभएको रहेछ बुबाले ।
अहिले क्यालेन्डरमा जब दसैँ नजिकिन्छ, मलाई बचपनको त्यो ज्याकेटको कथा सम्झना हुन्छ र मन खल्लो हुन्छ ।
अहिले आफू बाबु हुँदा बच्चाहरूको आवश्यकता चाहेर पनि पूरा गर्न नसक्दा ती दिनतिरै मेरो मस्तिष्कले ‘युटर्न’ लिन्छ ।