भोकले आँत बटारिएजस्तो लाग्छ । बिहानदेखि पेटमा एक दाना परेको छैन ।
प्यान्टको खल्तीमा एक सुकी छ । ऊ बारबार खल्तीमा हात हाल्छ । चिसो सुकी उसका औँलाहरूमा टाँस्सिन आई पुग्छ । तर, ऊ रित्तो हात खल्तीबाहिर झिक्छ र सडकको पेटीपेटी हिँड्न थाल्छ ।
सडकका दुवै बगली सिरिसका अग्ला अग्ला रुखहरू छन् । केटाकेटीमा कसैले यी रुखहरूलाई ब्लू मिमोसा भनेर चिनाएका थिए । जे होस्, ब्लू मिमोसा होस् वा सिरिसको फूल, नाम जे पनि हुन सक्छ ।
उसकै कुरा, धेरै वर्षअगाडि उसको नाम सत्येन्द्र थियो । प्रमाण–पत्रहरूमा अझै त्यही नाम छ । तर, त्यो इतिहासजस्तो भइसक्यो । प्रमाण–पत्रहरू थन्काएर ऊ एक दिन होटेलको छोकडा हुन पुगेको थियो ।
पहिलो दिन, मालिकले केही अह्राउनुभन्दा अगाडि नै ऊ जुर्मुरिँदै उठेर मुँग्रोले पत्थर कोइला फोड्न थालेको थियो ।
“सत्तू, चुलोको काम तेरो होइन, तेरो काम हो चिया डिपाटमा” मालिकको मुखबाट उसको काम तोकिएको थियो ।
चुलाभन्दा चियाको डिपाट अलि सफा डिपाट हो । उसलाई खुसी नै लाग्यो । तर, यो सत्तू के हो ? उसले बुझ्न सकेको थिएन ।
उसले मालिकको मुखबाट फेरि सुन्यो, सत्तू ।
“सत्तू, माचिस ल्या त...”
उसले सोच्यो– सायद मालिकले मेरो नाम राम्ररी सुनेन । उसले एकपल्ट फेरि मालिकलाई आफ्नो नाम भनिदिने विचार गर्यो ।
“मेरो नाम सत्येन्द्र हो...”
“अरे बाबा, सत्येन्द्र होस् वा सत्तू फरक के पर्छ ? आखिर तँलाई चिया फिट्नु हो र यहाँ चिया खान आउने मान्छेलाई तेरो नामसित केही मतलब छैन । उनीहरूलाई मतलब छ, चियासित, गाढा कि फिक्का । चिनीसँगः एक चम्च कि दुई चम्च ।”
मालिकले बिडी सल्काउँदै भन्यो ।
आफ्नो नामको बिग्रँदो रूपलाई स्वीकार गर्न उसलाई गाह्रो परिराखेको थियो । मालिकलाई त उसले केही भनेन तर चिया खान आउने मानिसहरूलाई उसले सम्झाउने कोसिस गर्दै रह्यो कि उसको नाम सत्येन्द्र हो, सत्तू होइन ।
तर, ऊ सफल भएन र बिस्तारबिस्तारै उसलाई आफ्नो नामको परिवर्तित रूपलाई स्वीकार गर्न कर लाग्यो । नोकरी छोड र सत्येन्द्रलाई लिएर बस वा नोकरी समा र सत्तूलाई स्वीकार गर । र, ऊ सत्तू भएर चिया फिट्न थाल्यो ।
अब त त्यो नाम पनि छैन । कामका साथसाथै नाम पनि हराएर गयो । अब बेकारी छ, यो सडक छ र पेटीमा कनिकाजस्ता मसिनो निला फूल फल्ने रुखहरूको ताँती छ, जसलाई ऊ ब्लू मिमोसा भन्ने गर्थ्यो ।
कुनै जमानामा उसलाई यो रुख निकै मन पर्थ्यो । यस्तो एउटा रुख उसले पढ्ने स्कुलमा पनि थियो । स्कुलको ठूलो हाताको ठिक बीचमा चौतारामाथि ठडिएको रुख ।
झाँगिएका हाँगाहरू र ती हाँगाहरूमा फूलेका नौला–निला फूलहरू । ती फूलहरूले उसलाई आकाशको सम्झना दिलाउँथे । अग्लो आकाशको निलो र अन्त्यहीन फाँटले उसलाई जहिले पनि सम्मोहित तुल्याएको छ ।
तर, ऊ होचो छ र उसका हातखुट्टाहरू सानासाना छन् । ऊ आकाशलाई छुन सक्दैन । अनि ऊ रुखमा चढ्थ्यो र फूलहरूलाई हातले छुने गर्थ्यो । ऊसँग पढ्ने निलु स्कुल ड्रेसको निलो फ्रकको पोल्टा थापेर रुख मुनिबाट कराउँथी, “सतेन, मलाई पनि फूलहरू झारिद्यौ...”
आज, यत्तिका वर्षपछि ती निला फूलहरू फुल्ने रुखको मुनि पुगेर आफ्नो खाली पेटको सम्झना आउँदा छातीभरि एउटा राँको सल्केजस्तो उसलाई लाग्छ । एउटा असल जलन र मरणान्तक पीडामा ऊ छटपटिन थाल्छ ।
– तिमीलाई ठूलो मान्छे बन्नु छ ।
– तिमीलाई आइन्स्टान, न्युटनजस्तो बन्नु छ ।
निलु, हाम्रो एउटा घर हुनेछ । घरमा सपनाजस्तो मिठो संसार हुनेछ ।
यो जम्मै कुराहरू र बाचाहरूको साक्षी यस्तै निला फूल फुल्ने एउटा रुख थियो । आज पनि ती रुखहरू छन्, पोल्टाभरि सम्ट्रयुजस्तो लोभलाग्दा फूलहरू छन् । तर, त्यो समय छैन । ती बाचा र ती विश्वासहरू छैनन् ।
आज ऊ ठूलो सहरको बीच छातीमा उम्रेको रुखमुनि राक्षसजस्तो लामो आँतलाई महसुस गर्दै छ; उभिरहेछ र खल्तीभित्रको चिसो सुकीलाई सुमसुमाइरहेछ र सोचिरहेछ, के किनेर खाने ?
कुनै समयमा एक सुकीको निकै महत्त्व थियो । उसलाई सम्झना छ, सुकीलाई त्यसताका चारआना भन्ने चलन थियो । चारआनामा होटेलमा पेटभरि खान पाइन्थ्यो । चामलमात्रै अलिक खस्रो । मसिनो चामलको भातका लागि एक आना बढी तिर्नुपर्थ्यो ।
धेरै मान्छे सोच्थे, एक आना बढी किन तिर्ने ? चार आनामा भातमात्रै त मोटो चामलको हो । अरू व्यञ्जन त उस्तै हुन् । दाल रहरकै । फुराएको प्याज हालेको, जीरा, खुर्सानी र तेजपातले झानेको ।
आलु–परवरको रसदार तरकारी र एकथोक भुटुन पनि, मौसमअनुसार कहिले बोडी, कहिले रामतोरइको । त्यसमाथि इमलीको अचार, हरियो खुर्सानी र बाटुलो गरी काटिएको प्याजका टुक्राहरू र कतै कतै मान्छे हेरी एक टुक्रा कागती पनि । यी जम्मै एक चौवन्नीमा ।
तर, आज त्यो ‘चारआना’ले खानेजस्तो केही किन्न पाइँदैन । एकछिन फेरि ऊ टोलाएर उभिन्छ । ठूलो सहरको व्यस्त सडक । ओहोर–दोहोर गर्ने मानिसहरूको ओइरो छ । जम्मै खानलाउन पाएका मानिसहरूजस्ता ।
कसैका छाती उक्सिएका, कसैका भुँडी उक्सिएका । ऊ आफूतिर हेर्छ मात्र किन यति खियाउटो र लुरो, ऊ सोच्छ र फेरि ऊ पेटीपेटी हिँड्न थाल्छ ।
सडकका दुवै बगलमा अनगिन्ती पसलहरू छन् । एक पसलसँग जोरिएको अर्को पसल, त्यससँग जोरिएको फेरि अर्को पसल । तर, यी जिन्स र नाइलन वा पेन्टिज र नाइटिजका पसलहरू ।
सेन्ट, लिपस्टिक र हेयर रिमुभरका पसलहरू... ठूला ठूला पसलहरू, गम्कने र चम्कने पसलहरू ।
एक सुकीमा एक पिस पाउरोटी त किन्न सकिन्छ होला । तर, पाउरोटीको पसल यता कतै छैन ।
चिया–पाउरोटीको पसलको खोजीमा ऊ मूल सडक छाडेर एउटा गल्लीभित्र पस्छ । मूल सडकदेखि यो गल्लीको दुरी धेरै छैन । सय सवासय पाइला । तर, पसलहरू र यहाँ देखिने मान्छेहरूमा निकै फरक छ ।
बुङबुङती धुलो उड्ने बाटोहरू र गनाउने नाला र साँघुरा मोडहरू । मानौँ यो गल्ली होइन, इट–बालुवा र हिलो बोक्ने आइमाईको मैल र पसीनाले कटकटिएको फरिया हो...!
यहाँ पनि दुवै बगली पसलहरू छन् । डाडुपन्यु र ओदानहरू पिट्ने, फलामका काम गर्नेहरूका ज्यासलहरू, धोबी, किताबमा जिल्ला सिउने र मोटो चौबन्दी सिउने दमाईका पसलहरू ।
जम्मै थोत्रा र रंग उडेका पसलहरू । काम गर्ने मान्छेका अनुहार पनि कुनै रंग नभएजस्तो, जिङरिंग परेको कपाल । पसीनाले गुजुल्टिएको काखीका लामा–लामा रौँहरू र नाइटो मुनिसम्म चुहुने कालो पसीनाका धाराहरू र कोइलाजस्तो कालो सुरवाल र कट्टुहरू... ।
ऊ एउटा होटेलमा पस्छ । भित्र टम्म मान्छेहरू छन् । भित्र ठाउँ नपाएर ऊ सडकतिर राखेको बेन्चमा बस्छ । पसलेको मान्छे चिया फिट्नमा व्यस्त छ । ऊतिरै हेर्ने कसैलाई फुर्सद छैन ।
उसले पनि चिया फिट्ने काम गरेको हो । तर, सायद त्यो पसल अलिक ठूलो र सफा सुग्घर पनि ।
यो होटेल सानो छ, कोठाहरू साँघुरा छन् र जताततै झिँगाहरू भन्किराखेका छन् । भुइँमा जुठो र पानी पोखिएर नालजस्तै भएको छ । चिया फिट्ने मानिसको पेट ठूलो छ । तर, हातखुट्टा दुब्ला छन् र घाँटी खिरिलो छ । पेट हेरी मुख पनि निकै दुब्लो देखिन्छ ।
गाला फुलेका तर फुस्रा छन् । आँखा खोपिल्टाजस्तै भित्र गाडिएका छन् र आँखा मुनितिरका डिलहरू काला छन् । उसलाई मोटो भन्ने कि दुब्लो ऊ ठम्याउन सक्दैन । जे होस्, उसका नाक चुच्चा छन् र सानासाना आँखीगेडी फ्याउरोका आँखाजस्तै चम्किरहेछन् ।
सोलोडोलो रूपमा हेर्दा ऊ नोकर र मालिकको मिश्रित रूपजस्तो देखिन्छ । सायद ऊ त्यस होटेलको साहू नै हो ।
“साहुजी, चिया कपको कति ?,” ऊ त्यस मान्छेको ध्यान आफूतिर तान्न खोज्छ ।
“तीन सुका,” जवाफ आउँछ ।
तीन सुका । ऊ मनमनै गुन्छ । यस्तो भित्र गल्लीमा पनि यत्ति महँगो ! ऊ चिया फिटेको हेर्न थाल्छ ।
त्यस मान्छेको हात निकै सन्तुलित र नियन्त्रित छ । ऊ गिलासमा एक चम्चा चिनी राख्छ । कहिले भुलेर दुई चम्चा हाल्छ कि भनेर चिताउनुपर्दैन । त्यसपछि ऊ अति ठूलो चम्चाले एक चम्चा दुध राख्छ ।
अनि कित्लीमा उमाली राखेको चियाको कालो पानी खन्याएर गिलासमा एउटा चिनोस्सम्म भर्दिन्छ र चम्चाले खटखटखट चिया फिट्न थाल्छ ।
त्यसपछि एउटा फुच्चे आउँछ र गिलास उठाएर खाने मान्छेका हातहातमा थमाइदिन्छ ।
उसले चिया बनाउँदा कुरा अर्कै थियो । ऊ खाने मान्छेलाई सोध्थ्यो– चिनी कति, दुध कति, रंग फिक्का कि गाढा ?
तर, यहाँ त रेडिमेड चिया । न केही घटी न केही बढी । खाने भए खाऊ नत्र जाऊ; पसलबाट निस्कनासाथ गल्ली छ ।
“एक पिस पाउरोटी दिनुहोस् पहिला र एक गिलास पानी,” ऊ भन्छ ।
अब त्यो मान्छे बल्ल ऊतिर आँखा उचालेर हेर्छ । तर, केही भन्दैन र फेरि चिया फिट्न थाल्छ ।
“पाउरोटी एक...,” ऊ दोहोर्याउँछ ।
तर, साहु नसुनेजस्तै गरी चियामात्रै फिट्नेमा व्यस्त छ ।
खरिएको आँत । माग्दा न पानी, न पाउरोटी । उसलाई रिस उठ्छ ।
“सुनेनौँ कि क्या हो ?” यसपालि ऊ अलिक जंगिन्छ र बेन्चबाट जोस्सिँदै उठ्छ । तर, अझै त्यस मान्छेमाथि कुनै असर परेको देखिन्न । ऊ चिया फिट्न छाड्दैन ।
बरु चिया बाँड्ने फुच्चो बाल्टिनको फोहोर पानीमा जुठो गिलास चोप्न छाडेर ऊ निर आउँछ ।
“पाउरोटी हडताल छ, भाउ बढाउने रे,” ऊ सुन्छ कानै निर फुच्चे केटोको मसिनो स्वर ।
ऊ थुक निल्न खोज्छ । तर, मुख सुकेको हो कि ।
“ङ ङ” एउटा विचित्र सुक्खा आवाज उसको झिनो घाँटीबाट बाहिर निस्कन्छ । ऊ जिउ गलेको महसुस गर्दै फेरि थुचुक्क बेन्चमा बस्छ र अडेसका लागि पिठ्युँतिर हेर्छ ।
तर, पिठ्युँ पछाडि आकाशमात्रै छ, कुनै भित्ता छैन ।
(कथाकार अधिकारीको कथाकृति ‘अस्वीकृत’बाट ।)