site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दसैँमा प्रवासी छोरीलाई चिठ्ठी

हामी गाउँबाट सहर आयौँ
आउँदा दसैँका कतिपय सौन्दर्य
ल्याउन सकिएनछ:
कमेरोमाटो, दुनाटपरी र लिपपोत,
मान्यजन, साथीसँगी र लिंगेपिङ,
खुकुरी, दहीचिउरा र कोसेली
मालसिरी र नयाँ कपडा छेकाउँदा हुने खुसी
उतै छुटेछन् ।
हाम्रो दसैँको ठूलो अंश गाउँमै छुटेछ ।
तैपनि केही ल्यायौँ:
टीका जमरा ल्यायौँ,
आशिष् र दण्डवत् ल्यायौँ,
भेटी र दक्षिणा ल्यायौँ,
भुटुवा र पक्कु ल्यायौँ,
केही आफन्तहरू खोजियो,
केही आफन्त बनाइयो;
र, क्षतविक्षत दसैँ मनाइयो ।

तिमीहरू जो परदेशमा छौ:
यहाँबाट समय मिलाएर
तिमीहरूको नाममा
आरामविरामको खबर आदानप्रदान भयो;
टीका जमरा पठाउन सकिएन ।
आशिष् पठाउन त सकियो;
दही चिउरा र पक्कु पठाउन सकिएन ।
चाडबाडले पहिलेपहिले जुन खुसी लिएर आउँथ्यो
केही वर्षदेखि सबै चाडबाड रित्तै आउँछन् ।
खुसी नलिइकन आउँछन् ।
हुँदै नभएको खुसी कसरी सेयर गर्न सकिन्छ र ?
त्यो पठाउन सकिएन ।
त्यसैले चाडबाडको तिथिमिति खबर गर्न सकियो;
खुसीयाली पठाउन सकिएन ।

त्यहाँ पनि मुछ्यौ होला– अक्षता
खोज्यौ होला– मान्यजन
लगायौ होला– टीका
थाप्यौ होला– आशिष्
कि त, हेर्‍यौ होला– ऐना
लगायौ हौला– टीका आफैँले आफ्नो निधारमा
र, काममा जाने बेलामा पुछ्यौ होला– त्यसलाई । 

पारिवारिक सोपानको अर्थ
सबैभन्दा टड्कालो देखिन्छ– दसैँमा
पारिवारिक आशिष्, सद्भाव र स्नेह
सुस्पष्ट चित्रित हुन्छ– दसैँमा
र, एउटा नेपाली परम्परा
जुन खण्डित भयो भने;
पहिचानका नाममा भावी पुस्तालाई दिने
केही बाँकी नरहला– तिमीहरूसँग।

त्यसैले, सुनिस् नानी !
आफ्नो जन्मस्थल छाडे पनि
दसैँलाई नछाडेस् ।
भाषाभेषबाट टाढा भए पनि
दसैँको जगेर्ना गरेस् ।

प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२  २१:४०
प्रतिक्रिया दिनुहोस्