site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
यतै उतै डुलिरहेका निर्भीक

साहित्यका विविध विधामा सर्वाधिक रुचाइने, लेखिने र साहित्यिक सर्जकहरूले कखरा थाल्ने विधा सायद कविता नै होला । कविता छन्दमय वा वाचाल, दुवै थरीबाट लेखिँदै आएको छ ।

पछिल्लो समय नेपाली साहित्यमा उपन्यास (आख्यान)ले छक्कामाथि छक्का मार्दै छ भने कविता अलिक ओझेलमा परेको हो कि भन्ने भान हुन्छ । तर, कवि मनले किन सजिलै हार मान्थे र ? यही मेसोमा निर्भीकजंग रायमाझीले पनि कृतिकै रूपमा लिएर आएका छन्– ‘त्यसरी त कहिल्यै सोचिएन’ शीर्षकमा एक कवितासंग्रह ।

संग्रह वा कृतिका रूपमा व्यावसायिक तवरबाट साहित्यिक बजारमा बिक्री गर्न अलि अभर छ, अहिले । तर, पनि काव्य गोष्ठी, समारोह, जमघटमा एकसेएक उम्दा कविले आफ्ना रचना हावामा हल्लाई–हल्लाई वाचन गरेको श्रवण गर्न पाउँदा निकै आनन्दित र आल्हादित हुन सकिन्छ ।

त्यसो भएरे जो कोही कवि बन्न सक्दैन, बन्नु पनि हुँदैन (कनि, कनि) ! तर, श्रोता हुन, पाठक हुन जो कोहीलाई छुटैछुट छ ।

आउनुस्, विचरण गरौँ निर्भीकको कविता संग्रहमाथि । यस संग्रहमा मनको आँखीझ्याल, देश–देशाटन, सपना देख्छ जिन्दगी, अन्तै कतै हिँडेको थिएँ र किस्ताकिस्तामा स्मृति गरी प्रत्येक खण्डमा १०/१० थान कविता समेटिएका छन् ।

आँखीझ्यालको महत्त्व बुझाउँदै कवि भन्छन्– ‘जस्तो त्रासमा पनि संसार चियाउन पाइयोस्, जस्तो याममा पनि क्षितिज निहार्न पाइयोस् ।’

वास्तवमा, आँखीझ्यालको विशेषता नै यही हो । पहिलेको समय त भइहाल्यो, राणाकाल तथा पञ्चायत कालखण्डको बन्द समाजमा पनि विशेषतः रैथाने महिलाहरूले भरपूर फाइदा लिएका थिए, आँखीझ्यालको ।

त्यो बेलाका घरहरूमा आँखीझ्याल अनिवार्य झैँ थियो । आखिर बिछोडिनु नै थियो भने नभेटेकै जाति भने जस्तै कवि बिदाइ शीर्षकमा पोख्छन्– ‘किन भेटेछु त्यो दिन, कि आँखा दोबाटोमै टिकाएर छुट्टिनुपर्‍यो त्यो दिन’ ।

प्रेम मिलनबाट बिछोडिँदा रोदन भाव टपक्कै टिप्न सफल छन्, कवि यस कवितामा ।

यस कविता संग्रहकै शीर्षक कविता अर्थात् कविकै हिसाबले पनि सबैभन्दा मुख्य कविता हो– ‘त्यसरी त कहिल्यै सोचिएन’ ।

हाम्रा दैनिकीका कति धेरै कुरा, विषय, परिप्रेक्ष्य, प्रसंग वा घटना हामी कति सामान्य, हल्का तवरले लिइरहेका हुन्छौँ भन्ने आभास दिलाएका छन्, कविले । कवि, गैरकवि सबैले अनुभूत गरिरहेकै कुरा हुन् । तर, पनि कवि मनले कसरी चटक्क टिप्न सकेको ?

अथवा, यस्तो भाव प्रस्तुत गर्ने ठेक्का किन कविकै पोल्टामै परेको ? किन अरूले पनि भन्ने आँट गर्न नसकेको– ‘पछुतो मानेर कहाँ विगत बदलिन्छ, उल्टै पाएको खुसी गुम्न सक्छ । आज चाहिँ सबै दुःख बिर्सेर खुसी–खुसी जीवनलाई स्वीकार्छु, त्यसरी त आजसम्म सोचिएन ।’

हो, यसरी ५० थान कविता छन् यस संग्रहमा, मुटुमा घोचिने, आँत नै रसिने, अन्तस्करण गाँठो पार्ने, किलकिलो नै हिक्क पार्ला–पार्लाजस्तो बनाउने ।

यस्तो प्रतीत हुन्छ, निर्भीकले टेबुल कुर्सीमा आसन जमाएर कविता रच्ने क्रममा घरि नौनीका, घरि फलामका तरबाररूपी, घरि ब्लेड सरिका, घरि फूलका पत्र सरिका कलम चलाएका हुन् ।

कविलाई सत्ता, शासक अनि संस्थापनसँग एकखालको असन्तुष्टि त छँदै छ, त्यसका अलावा बतास, हावाहुरी, साँझको समय, नक्सा बनाउने, होली खेल्नेसँग पनि बेग्लै खालको गुनासो छ ।

यस कवितासंग्रहका मूल कविताबाहेक खीर खाने दिन, शीतल निवासको गर्मी, नमस्कार गर्न भुलेछु, धमिलो रैछ पानी रानीपोखरीको, भान्साकोठामा बुद्ध, अखबार, मोनालिसा, जिन्दगी मलाई पनि दुख्छ, जबर्जस्त छन् ।

कवि हृदयले कसरी छाम्छन् जुरेली मन, भमराको व्यथा, सूर्यमुखीको बाध्यता, एस्ट्रेको पीडा ? निर्भीक, के छ तिमीसँग त्यस्तो हतियार, औजार, मेसिन ? हामीले देखेको, भोगेको वस्तु, तत्त्व, जीवन तिमीले कसरी पृथक् तरिकाले खुट्याउन सकेको ?

कविता कृतिको आवरण चिराग वाङ्देलको मेहनतले चार चाँद लगाइदिएको छ । भित्री खण्डहरूमा पनि चित्ताकर्षक स्केचहरूले कृतिको वजन झन् बढाइदिएको छ । त्यसरी स्केच कोर्नेमा गरिमा अधिकारी, नीमा लामा, रसिक राज, एरिना ताम्राकार, महेश बस्ताकोटी छन् ।

निर्भीक, दश–दश थानका कविता छुट्ट्याएजस्तै यो लैंगिक समानता अनि अवसर पनि, के यो ग्रान्ड डिजाइन नै हो ?

काभ्रेका एक सर्जक निर्भिकजंग अहिले उच्च अध्ययनका लागि बेलायतमा छन् । तनमात्र त्यहाँ हो, मन त यतै चारजात छत्तिस वर्णको फूलबारीमा डुलिरहेको आभास गर्न सकिन्छ ।

रंगभेद नै गर्ने हो भने, नश्लीय चेत राख्ने नै हो भने– ‘मेरो टोपी कैलाशको शिरजस्तो छैन’ भन्ने धावा बोल्ने कवि कति मीठो सत्यता (अकाट्य सत्य) महसुस गर्न सचेत गराउँछन्– ‘मर्छु कि जस्तो लाग्नेछ जुन दिन, जीवन सुरु हुनेछ खासमा त्यही दिन’ ।

प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२  २२:०८
प्रतिक्रिया दिनुहोस्