काठमाडौं । सडक विभागले दसैँमा विभिन्न स्थानमा आवतजावत गर्ने सडक यात्रुहरूलाई केही दिन मुख्य राजमार्गको प्रयोग गर्न सुझाव दिएको छ । मुख्य राजमार्गमा नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत सुरक्षाकर्मीको व्यवस्था हुने र बाटो मर्मत कार्य पनि चाँडो हुने भएकाले मुख्य राजमार्ग प्रयोग गर्न विभागले सुझाएको हो ।
जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सुझाव दिएको छ । सडक विभागले सकेसम्म अनावश्यकरूपमा यात्रा नगर्न, यात्रा गरे पनि रातको समयमा यात्रा बढी जोखिमपूर्ण रहेकाले दिउँसो यात्रा गर्न सुझाएको छ ।
दसैँको टीकाका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने क्रम जारी रहँदा रातको समयमा यात्रा गर्दा पहिरोका कारण बढी जनधनको क्षति हुन सक्ने भएकाले सकेसम्म रातमा यात्रा नगर्न विज्ञहरूले पनि सुझाव दिएका छन् ।
विभागका प्रवक्ता प्रभातकुमार झाले असोज २० गतेसम्म बाढी पहिरो जस्ता मनसुनजन्य विपद्का घटनाहरू बढ्न सक्ने र यसले राजमार्ग अवरुद्ध गरेमा तत्काल बाटो खुलाउने प्रयास गरिने तयारी भइरहेको बताएका छन् ।
“पहिरोका कारण राजमार्ग अवरुद्ध भएको अवस्थामा हामी जतिसक्दो चाँडो बाटो खुलाएर यातायात व्यवस्थालाई सहज त गर्ने प्रयास गर्छौं । तर, अस्वाभाविकरूपमा बाढी पहिरो आएर फिल्डमा खटिनै गाह्रो भयो भने तत्कालका लागि केही गर्न सक्दैनौँ,” उनले भनेका छन्, “तसर्थ केही दिन यात्रा नगरौँ । गर्नै परेमा मुख्य राजमार्ग प्रयोग गरौँ ।” रासस