काठमाडौं । निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाका खोला तथा नदीको जलसतह बढेको छ ।
वर्षासँगै वाग्मती, हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत नदी तथा खोलामा जलसतह बढेको हो । काठमाडौंमा १३ घण्टादेखि लगातार वर्षा भइरहेको छ ।
खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
गण्डकी प्रदेशको पूर्वी भूभागदेखि कोसी प्रदेशसम्म अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लामा अति उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।