site stats
बाह्रखरी :: Baahrakhari
देश
विपद् व्यवस्थापनका लागि देशभरका प्रमुख जिल्ला अधिकारीलाई गृहको सातबुँदे निर्देशन

काठमाडौं । विपद् जोखिम बढेपछि गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई सातबुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले शनिबार जारी गरेको परिपत्रमा विपद् जोखिम अवस्थालाई मध्यनजर गरी तत्काल कदम चाल्न निर्देशन दिएको हो ।

मन्त्रालयले बाढीपहिरो तथा डुबानको जोखिम भएका जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई २४ सै घण्टा कार्यकक्षमा रहन निर्देशन दिएको छ ।

के छ मन्त्रालयको निर्देशनमा ?
सवारी आवागमनमा रोक :
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधनको आवागमन असोज १९ र २० गतेका दिन बन्द गर्ने/गराउने र सो अनुसार अनुगमन र निगरानी गर्ने ।

यात्रु व्यवस्थापन : राजमार्गमा रोकिएका सवारी साधनलाई सडक र मौसमको अवस्था अनुसार गन्तव्यसम्म पुर्याउन सहजीकरण गर्ने र आवश्यकता अनुसार यात्रुहरूलाई स्थानीय तह तथा सरोकारवालाहरूसँगको समन्वयमा खानपानको व्यवस्था मिलाउन समन्वय गर्ने ।

गर्भवतीको व्यवस्थापन : राजमार्गमा रोकिएका एम्बुलेन्सलाई आवश्यक हेरी सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन सहयोग गर्ने । बाटोमा अलपत्र परेका गर्भवती महिलाहरूलाई नजिकको बर्थ सेन्टरसम्म पुर्‍याउने व्यवस्था मिलाउने ।

जोखिमयुक्त बस्ती स्थानान्तरण : बाढी, पहिरोको जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारलाई स्थानीय पालिकाहरूसँगको समन्वयमा नजिकको विद्यालय एवं खुल्ला स्थानहरूमा स्थानान्तरणको व्यवस्था मिलाउने ।

विमानस्थल व्यवस्थापन : मौसमका कारण उडान स्थगित भई विमानस्थलबाट फर्कने यात्रुहरूलाई यातायात व्यवसायीसँगको समन्वयमा आवश्यक परिबहनको व्यवस्था मिलाउने ।

उद्धारका लागि सम्पर्क : बाढी, पहिरोका कारण तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएमा मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्ने ।

सुरक्षा तयारी : प्रतिकूल मौसमको अवस्थालाई मध्यनजर गर्दै बाढी, पहिरो तथा डुबानको जोखिम रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू २४ सै घण्टा कार्यकक्षमा उपलब्ध हुने व्यवस्था मिलाउने ।

मन्त्रालयले भएका कार्यहरूको प्रगति विवरण विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा पठाउनसमेत निर्देशन दिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्