site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं उपत्यकाभित्र बाढी प्रभावित विभिन्न २८ स्थानमा सेना तैनाथ

काठमाडौं । काठमाडौं उपत्यकाका बाढी प्रभावित विभिन्न २८ स्थानमा नेपाली सेना आवश्यक उपकरणसहित तैनाथ भएको छ । 

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ स्थित बास्तोला गाउँबाट स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जनाएको छ । स्थानीयको घरमुनिबाट लगातार पहिरो गइरहेकोले बस्ती जोखिममा परेको हुँदा भक्तपुरको खरिपाटीस्थित रणसुर गुल्मबाट उद्धारको लागि खटिएको फौजले उनीहरूलाई स्थानान्तरण गरेको हो ।
 
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० आकाशेधारामा रुख ढली अवरुद्ध भएको सडक फष्टरैफल गणबाट खटिएको फौजले अवरोध हटाई खोलेको छ ।
 
ललितपुरको ललितपुर महानगरपालिका–९ च्यासलस्थित वाग्मती खोलाको पुल मुनी बाढीले बगाएर ल्याएको रुखले खोला अवरुद्ध भई पुलसमेत जोखिम रहेकोमा राजदल गणबाट खटिएको फौजले अवरोध हटाएको छ ।
  
बाढी प्रभावित वाग्मती नदीको तटीय क्षेत्रमा नेपाली सेनाको फौज खटिई निरन्तर निगरानी गर्ने कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ । 

उपत्यका बाहिर समेत विभिन्न स्थानमा खोज तथा उद्धार कार्यको लागि आवश्यक उपकरणसहित फौज तैनाथ भएको विज्ञप्तिमा उल्लेख छ । 
 
रसुवाको गोसाईकुण्ड गाउँपालिका–४ तल्लेभिरको खहरे खोलामा आएको बाढीले बगाई बेपत्ता भएका चारजनाको खोज तथा उद्धार कार्यको लागि श्रीनाथ गणबाट विभिन्न ६ वटा स्थानमा खोज तथा उद्धार कार्य भइरहेको छ ।

सप्तरीको सप्तकोशी नगरपालिका–६ बचनिया पोखरी ईलाका र पिलाठी कौराठी गाउँपालिका–३ उदयमण्डल टोल, मुखियाटोल ईलाका डुवानमा परेकाले सप्तरीस्थित बरख गणबाट खटिएको टोलीले खोज तथा उद्धार कार्य गरिरहेको सेनाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्