site stats
बाह्रखरी :: Baahrakhari
देश
धादिङ, नुवाकोट र दक्षिणकाली सडक एकतर्फी खुला

काठमाडौं । धादिङ, नुवाकोट र काठमाडौं–दक्षिणकाली सडक एकतर्फी खुला गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आइतबार सूचाना जारी गर्दै उक्त जानकारी दिएको हो ।

विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधन, काठमाडौंबाट नुवाकोटतर्फ जाने सवारी साधन र काठमाडौं–दक्षिणकाली हुँदै हेटौँडातर्फ जाने सवारी साधनलाई पूर्णरुपमा बन्द गरिएको थियो ।

“हाल मौसममा क्रमिक सुधार हुँदै गएकाले धादिङ, नुवाकोट र काठमाडौं–दक्षिणकाली सडकखण्डका पहिरो पन्छाएर सडक सुचारु गर्ने कार्य भइरहेको छ,” काठमाडौं जिल्ला प्रशासन कार्यालयले भनेको छ । 

अहिले विभिन्न ठाँउमा पहिरो पन्छाई एकतर्फीरूपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य भइरहेको सूचना धादिङ, चितवन, मकवानपुर र नुवाकोट समेतका जिल्ला प्रशासन कार्यालयहरुले दिएपछि सडक एकतर्फी खुला गरिएको हो ।
 
“सडकमा यात्रुको चापलाई समेत मध्यनजर गरी उक्त सडकहरूमा आवागमन एकतर्फी खुला गरिएको छ । सवारी चलाउँदा सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन एवं ट्राफिक इसारा, संकेत र सूचनालाई गम्भिरतापूर्वक लिई सावधानीका साथ सवारी चलाउनुहुन अनुरोध छ,” काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्