site stats
बाह्रखरी :: Baahrakhari
देश
देशभर १५ सय मिटर तटबन्ध कटान, नदी नियन्त्रणतर्फ १० करोडबराबरको क्षति

काठमाडौं । असोज १७ र १८ गतेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा नदी कटान, डुबान र तटबन्ध क्षतिग्रस्त हुँदा नदी नियन्त्रणतर्फ करिब १५ सय मिटर तटबन्ध बगाएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार कुल क्षतिको लागत करिब १० करोड रुपैयाँबराबर छ । पूर्वी तराईका झापा, मोरङ, सिरहा, रौतहट र महोत्तरी जिल्लामा सबैभन्दा बढी क्षति भएको छ ।

झापाको गौरीगञ्ज–२ मा कन्काई नदीले हुलाकी राजमार्गको तल्लो तटीय भागमा करिब २०० मिटर तटबन्ध कटान गरेको छ । उक्त कटानले होकलबारी गाउँका करिब ११४ घरपरिवारका बारी डुबानमा परेका छन् । यसबाहेक ५०० हेक्टर धानखेतमा क्षति पुगेको छ । झापा गाउँपालिका–२, कुवाडीमा थप २०० मिटर तटबन्ध कटान भई करिब २५ हेक्टर खेतमा क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ । कन्काई नदीले मात्रै करिब ७५ लाख रुपैयाँबराबरको क्षति पुर्‍याएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मेची नदीले विभिन्न स्थानका तटबन्ध र स्परहरूमा क्षति पुर्‍याएको छ । यस नदीको क्षतिको प्रारम्भिक अनुमान ५० लाख रुपैयाँबराबर रहेको मन्त्रालयले जनाएको छ । 

मोरङको विराटनगर महानगरपालिका–६ र १२ मा केशलिया (बुढी खोला)मा आएको बाढीले बस्ती डुबानमा परेका छन् । बाढीका कारण करिब ७५ घरधुरीका बासिन्दा सुरक्षित स्थानमा सारिएका छन् ।

सिरहाको कमला नदीको पूर्वी किनार पटेरुवामा रहेको तटबन्धमा पनि क्षति पुगेको छ । प्रारम्भिक अनुमानअनुसार त्यहाँ करिब २५ लाख रुपैयाँबराबरको क्षति भएको छ । रौतहटको मौलापुर नगरपालिका–१, मर्यादपुरमा लालबकैया नदीले करिब ६० मिटर तटबन्ध बगाउँदा करिब १०० हेक्टर धानखेतमा क्षति पुगेको छ । बौदीमाई गाउँमा पनि १२० मिटर तटबन्ध बगाउँदा २०० हेक्टर खेत डुबानमा परेको र करिब २०० घर तथा गोठमा क्षति पुगेको छ । लालबकैया नदी क्षेत्रको क्षतिको लागत ६० लाख रुपैयाँ बराबरको रहेको अनुमान गरिएको छ ।

महोत्तरीको रातो नदीले सबैभन्दा बढी क्षति पुर्‍याएको छ । बलवा नगरपालिका–२, १० र ११ का बन्चौरी, लेउरी, भल्नी र भगवतीपुरमा ३९० मिटर, लोहरपट्टी नगरपालिका–६ मा ४०० मिटर, महोत्तरी गाउँपालिका–६ रतबारामा २० मिटर, र जलेश्वर नगरपालिका–१, ४ र ७ का बखरी र खैरामा ८० मिटर गरी कुल ८९० मिटर तटबन्ध कटान भएको छ । रातो नदीका कारण सदरमुकाम जलेश्वर समेत बाढीको उच्च जोखिममा परेको छ । यो क्षेत्रमा मात्र ८ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

सम्पूर्ण रूपमा हेर्दा असोजको वर्षाले देशभरका नदी नियन्त्रण संरचनामा करिब १० करोड रुपैयाँबराबरको क्षति पुर्‍याएको जलस्रोत विभागले जनाएको छ । विभागले क्षतिग्रस्त तटबन्ध र नदी संरचनाको विस्तृत मूल्यांकन तथा पुनर्स्थापना कार्य अघि बढाउने तयारी गरेको छ ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्