site stats
बाह्रखरी :: Baahrakhari
देश
मनसुन बाहिरिएपछि के हुन्छ ?
काठमाडौं आसपासको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । यो वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ । सोमबार (असोज २०) देशका केही भू–भागबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिम नेपालसम्मका धेरै भूभागबाट मनसुन बाहिरिएको छ । बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुन बाहिरिने भनेको के हो ?
मनसुन पूर्वी प्रणाली हो । पूर्वबाट बहने हावा हो । पश्चिमीले पूर्वी वायुलाई विस्थापन गरेपछि क्रमिक रूपमा मनसुन बाहिरिने महाशाखाले जनाएको छ ।

“देशैभर पश्चिमी वायु फैलिइसकेपछि – जताजता पश्चिमी वायुको प्रभाव रह्यो, त्यतातिरबाट मनसुनी वायु हट्दै जाने, मनसुनी वायुको प्रभाव कम हुने र पश्चिमी वायुको प्रभाव बढ्ने हुन्छ,” महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले गत वर्ष बाह्रखरीसित भनेकी छन् ।

पश्चिमी वायुको यात्रा एकदम लामो हुन्छ । मेडिटेरियन सी (भूमध्यसागर)देखि आउँछ यो । अफगानिस्तान, पाकिस्तान हुँदै पश्चिमी वायु नेपालसम्म आइपुग्ने उनले बताइन् ।

यो वायु नेपालसम्म आइपुग्दा सुक्खा हुन्छ । आफ्नो बाटोमा जलवाष्प छोड्दै आउँछ । “मेडिटेरियनबाट आउनेबित्तिकै त सुक्खा हुँदैन, तर बाटोमा ठूलो ल्यान्डमासलाई पार गर्दै गर्दै, पानी पार्दै पार्दै, मोस्चर (जलवाष्प) छोड्दै आउने भएकोले नेपालसम्म आइपुग्ने बेलामा यो अलिकति सुक्खा भइसकेको हुन्छ,” उनले भनेकी छन् ।

मनसुन बाहिरिएपछि के हुन्छ ?
“मनसुन पूरै बाहिरिइसकेपछि पश्चिमी वायुको प्रभाव रहन्छ,” उनले भनेकी छन्, “पश्चिमी वायुको प्रभाव रहे पनि देशमा स्थानीय वायुको प्रभाव बनिरहन्छ ।”

मनसुन बाहिरिएपछि पोस्ट मनसुन सुरु हुन्छ । पश्चिमी वायुको प्रभाव रहे पनि त्यो त्यति मजबुत हुँदैन । “पश्चिमी वायु मनसुनजस्तो स्ट्रङ हुँदैन । कमजोर वायु प्रणाली हुन्छ,” उनले भनेकी छन् ।

पोस्ट मनसुनमा स्थानीय वायुको प्रभावले सानोतिनो ‘सिस्टम’ बन्न सक्छ । र, मेघगर्जन/चट्याङसहित वर्षा हुने हुन्छ । “त्यस्तो खालको वर्षा पोस्ट मनसुनमा हुने हुन्छ,” उनले भनेकी छन् ।

उनका अनुसार, पोस्ट मनसुन र प्रिमनसुनमा विशेष गरी पश्चिम बंगाल र अरेबियन सी (अरबसागर) माझमा चक्रवातहरू बन्ने गर्छ । कहिलेकाहीँ चक्रवातीय वायु प्रणालीका कारणले पनि वर्षा हुने गर्छ ।

“जब मनसुन सकिन्छ, तब मनसुनी वायुको प्रभाव हटेर पश्चिमी वायु, स्थानीय वायु र केही विशेष परिस्थितिमा चक्रवात बनिहाल्यो भने चक्रवातीय वायुको प्रभावले वर्षाहरू हुने गर्दछ,” मौसमविद् मानन्धरले भनेकी छन् ।

त्यो मनसुनी वायुजस्तो निरन्तर पानी पर्ने हुँदैन । दिनरातभर वर्षा हुँदैन । क्षणिक हुन्छ । “त्योचाहिँ क्षणिक, एउटा सिस्टम आउने बेलासम्म मात्रै हुन्छ,” उनले भनेकी छन्, “सिस्टम हटिसकिसकेपछि फेरि पश्चिमी वायुको दबदबा हुन्छ । पश्चिमी वायुको जुन क्यारेक्टर छ सुक्खा हावा, त्यस्तै हुने गर्दछ ।”

मनसुन अवधिबाहेक नेपालमा अधिकांश महिना पश्चिमी वायुको प्रभाव रहन्छ । यो अवधिमा मात्र मनसुनीले पश्चिमी वायुलाई विस्थापित गर्ने उनको भनाइ छ । “जुन ट्रपिकल रिजन (उष्णप्रदेशीय क्षेत्र)मा नेपाल छ, यो ट्रपिकल रिजनमा बाह्रै महिना पश्चिमी वायु नै चल्ने ठाउँ हो । मनसुनका चार महिनाको लागि मात्र मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गर्ने हो,” उनले भनेकी छन् ।

थोरै पानी पर्ने महिना
अक्टोबर र नोभेम्बर पोस्ट मनसुनको अवधि हो । नेपालमा नोभेम्बरमा सबैभन्दा थोरै पानी पर्ने उनले बताएकी छन् । “अक्टोबर र नोभेम्बरलाई पोस्ट मनसुन भन्छौँ । नेपालको परिप्रेक्ष्यमा कुरा गर्नुपर्दा सबैभन्दा सुक्खा महिना नै नोभेम्बर हो,” उनले भनेकी छन्, “नोभेम्बरमा सबैभन्दा थोरै पानी पर्ने गर्दछ ।”

पोस्ट मनसुनपछि के ?
पोस्ट मनसुन सकिएपछि विन्टर सिजन आउँछ । जाडो महिना आउँछ । डिसेम्बर, जनवरी र फेब्रुअरीलाई जाडो महिना भनिने उनले बताएकी छन् । “जाडो महिनामा स्थानीय वायुभन्दा पनि पश्चिमी वायुकै प्रभाव रहन्छ । त्यति बेला पश्चिमी वायु एकदम स्ट्रङजस्तो हुन्छ,” उनले भनेकी छन् ।

जाडोमा पश्चिम नेपालमा धेरै पानी पर्ने हुन्छ । पूर्वमा धेरै पानी पदैन । त्यति बेला त्यही पश्चिमी वायुको कारणले गर्दा यस्तो हुने उनले स्पष्ट पारेकी छन् । “तर, मनसुनमा जस्तो धेरै पर्दैन । पूर्वमा भन्दा पश्चिममा बढी पानी पर्ने मात्र हो,” उनले भनेकी छन्, “ठूलो पानी, धेरै पानी पर्ने सम्भावना कम नै हुन्छ, जाडो महिनामा । त्यो सिजनमा । त्यसपछि फेरि प्रिमनसुन हो ।”

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । मनसुन भित्रने सरदर मिति जुन १३ हो । तर, ठ्याक्कै यही मितिमा मनसुन बाहिरिने र भित्रने भन्ने हुँदैन । हरेक वर्ष फरक–फरक हुनसक्छ । यो वर्ष सरदरभन्दा १५ दिनअगावै अर्थात् मे २९ मा नेपालमा मनसुन भित्रिएको थियो । तर, देशभर विस्तार हुन २३ दिन लागेको थियो ।

बंगालको खाडी हुँदै मनसुन कोसी प्रदेशबाट भित्रन्छ र क्रमशः देशभर फैलन्छ । सुदूरपश्चिमबाट क्रमशः कोसी प्रदेश नै हुँदै मनसुन बाहिरिन्छ ।

अंग्रेजी क्यालेन्डरका चार महिना – जुन, जुलाई, अगस्ट र सेप्टेम्बरलाई मनसुन अवधि मानिन्छ । मनसुन अवधिमा वर्षभरि हुने वर्षाको ८० प्रतिशत हाराहारीमा पानी पर्ने गरेको मौसमविद्को भनाइ छ ।

fadmsg-1759742968.jpg
 

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्