site stats
बाह्रखरी :: Baahrakhari
देश
कोकिन कारोबारीका मुख्य आरोपीलाई उन्मुक्ति ! यस्तो छ ‘र्‍याकेट’

काठमाडौं । प्रहरीको मालीगाउँ टोलीले ज्ञानेश्वरको ‘भगवती होटल इन’ मा दुई महिनाअघि एउटा अपरेसन चलायो ।  लागुऔषध कारोबारीविरुद्ध चलाएको उक्त अपरेसनमा लागुऔषध कोकिन सेवन गरिरहेकै अवस्थामा दुईजना पक्राउ परे ।

उक्त होटलमा निरन्तर लागुऔषध कारोबार भइरहने सूचनाका आधारमा प्रहरीले त्यो दिन अपरेसन चलाएको थियो । त्यही सूचनाका आधारमा प्रहरीको टोली असार २० गते राति १ बजे होटलको ३०५ नम्बर कोठामा बसेका ग्राहकमाथि केरकार गर्न छिर्‍यो ।

कोठाभित्र स्नेहा भन्ने गोमा श्रेष्ठ र दिनेश चालिसे थिए । होटल सञ्चालककै रहोबरमा भित्र छिरेको टोलीले गोमा र श्रेष्ठको साथबाट ०.७१ ग्राम कोकिन र दिनेशको साथबाट ०.१७ गरी ०.८८ ग्राम कोकिन बराद गर्‍यो । लागुऔषधमा पनि महँगो मानिने कोकिन तेस्रो मुलुकबाट नेपाल भित्रिएको हो ।

दुबैजना कोकिनसहित पक्राउ परेपछि प्रहरीले टोली कोकिनको कारोबार गर्ने र सेवन गर्नेहरूको र्‍याकेटको खोजीमा लाग्यो । तिनले आफूहरू कारोबारी नभएर सेवनकर्ता मात्र भएको स्वीकारे । कोनिक आफूहरूले नवलपरासीका सतेन्द्रदेव भट्टसित खरिद गरेको बयान प्रहरीलाई दिए ।

भट्ट पनि त्यो दिन त्यही होटलमै बस्न पुगेका थिए । प्रहरीले भट्टलाई पनि त्यही दिन पक्राउ गर्‍यो । भट्टको साथबाट प्रहरीले ०.७४ ग्राम कोकिन बरामद गर्‍यो । भट्ट केही समयदेखि काठमाडौैं बासबारीमा डेरा गरी बस्दै आएका थिए ।

प्रहरीको टोलीले उनको कोठाबाट थप ४.४४ ग्राम कोकिन बरामद गर्‍यो । कोकिनसहित प्रहरीले उनको कोठाबाट ३९ हजार रकम र केही लागुऔषध प्याक गर्न राखिएको प्लाष्टिकसमेत बरामद गर्‍यो । तर, प्रहरी वृत्त मालीगाउँको टोलीको लागुऔषध कारोवारीसम्म पुग्ने योजना त्यत्तिमै रोकिएन ।

प्रहरीले भट्टमाथि अनुसन्धान थाल्यो । भट्टले पनि आफू मुख्यकारोवारी नभई सप्तरीका प्रकाश यादव भएको दाबी गरे । प्रहरीले दोस्रो दिनमै यादवलाई काठमाडौंको टंगालबाट १.१३ ग्राम कोकिनसहित पक्राउ गर्‍यो । यादवले प्रयोग गरेको स्कुटरबाट थप १.४३ ग्राम कोकिन बरामद भयो ।

प्रहरीले यहीबीचमा यादवको बयानका आधारमा थप अर्का शंकास्पद युवा ललितपुरका सुव्रत अधिकारीलाई पक्राउ गर्‍यो । प्रहरीले अधिकारीको कोठाबाट लागुऔषध फेला नपारेपनि लागुऔषध प्याक गर्न राखिएको र केही प्रयोग गरेको प्लास्टिक बरामद गर्‍यो ।

प्रहरीले उक्त बरामद भएको प्लास्टिक परीक्षण गर्न विधि–विज्ञान प्रयोगशालामा बुझायो । प्रयोगशालाबाट लागुऔषध कोकिन राखिएको पुष्टि गरिदियो । प्रहरीले अधिकारीमाथिसमेत लागुऔषध कारोवारीकै आधारमा अनुसन्धान थाल्यो ।

अधिकारीले आफू कारोवारी नभएको बयान दिए । प्रहरीले लागुऔषधमा ९० दिनसम्म थुनामा राखी अनुुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । लागुऔषध कारोवारीको अनुसन्धान जटिल र संगठित हुने भएकाले प्रहरीलाई अनुसन्धान प्रतिवेदन तयारका लागि ९० दिनको समयसीमा दिइएको हो ।

प्रहरीसितको बयानमा पक्राउ परेका सतेन्द्रदेव भट्ट र सुव्रत अधिकारीले आफूहरूले विजय कार्कीले सञ्चालन गरेको एसके मदिरा पसलबाट उक्त कोकिन ल्याउने गरेको बयान दिए । प्रहरी दोलखाका विजय कार्कीलाई पक्राउ गर्न पसल पुग्यो । तर, अधिकारी र यादवलाई पक्राउ गरेको सूचना पाएका कार्की पसल बन्द गरी फरार भइसकेका थिए ।

प्रहरीले कार्कीको खोजी गर्न प्रहरीको टोली दोलखासमेत पठायो । तर, लामो समयसम्म फरार रहे । प्रहरीको निरन्तरको प्रयासले एक महिनापछि साउन १४ गते कार्कीलाई काठमाडौंमा पक्राउ गर्न सफल भयो । अनुसन्धानमा खटिएको प्रहरीको टोलीले कोकिनको कारोवारीसम्म पुग्न अधिक प्रयास जारी राख्यो । कार्कीले पनि उनीहरूले कोकिन आफ्नो पसलबाट नै लिएको स्वीकार गरे । तर, कोकिन ल्याउनेकाम भने धनुषाका श्रृयन्स अडुकिया रहेको बताए ।

प्रहरीको टोली अडुकियाको खोजीमा लाग्यो । तर, उनी फरार भइसकेका थिए । उनी भारतमा लुकेको सूचना प्रहरीले पायो । प्रहरीले अडुकियालाई फरार सूचीमा राख्दै अनुसन्धान प्रतिवेदन बुझायो, भदौ ६ मा ।

प्रहरीको अनुसन्धान प्रतिवेदनमाथि अभियोजन तयार पारेको जिल्ला सरकारी वकिल कार्यालयल काठमाडौंले भने अभियोजन गर्न १० दिन लगायो । जिल्ला सरकारी वकिल कार्यालयले भदौ १६ गते लागुऔषध कारोवार मुद्दामा जिल्ला अदालत काठमाडौंमा दर्ता गराएको हो ।

मुख्य आरोपीलाई कानुनी प्रक्रिया अगावै उन्मुक्ति

प्रहरीले करिब २ महिना लामो अनुसन्धानबाट लागुऔषध कोकिनका मुख्य आरोपी मदिरा पसलको नाममा कारोवार गर्ने विजय कार्की र धुनषाका फरार श्रृयन्स अडुकियालाई बनाएको थियो ।

विजयको सानो मदिरा पसलको अस्वाभाविक कारोवारसमेत रहेको खुलाएको थियो । पछिल्लो केही महिनामा मात्रै विजयको कारोवार १ करोड ४६ लाख रुपैयाँ बराबर कारोवार भएको बैंक स्टेटमेन्टबाट देखिएको थियो । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार, विजयले मदिराका नाममा लागुऔषधको कारोवार गरेको देखिएको थियो ।

ती प्रहरीले भने, ‘‘पक्राउ परेका सुव्रत अधिकारी र प्रकाश यादवसँग अस्वभाविक कारोवार पनि देखिन्छ । कार्कीकै पसलबाट बरामद भएको डायरीमा एक लिटरको १ लाख ८० हजार रुपैयाँ लेखिएको भेटिएको छ । त्यो लागुऔषधको कोड भाषा हो । मदिरा एक लिटरको १ लाख ८० हजार पर्ने कुनै पनि उनको पसलमा छैनन् ।’’

प्रहरीको अनुसन्धानले विजयको मदिरा पसलबाट नै लागुऔषध कारोवार हुने गरेको खुलाएको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालयले भने उनै कार्की र धनुषाका अडुकियाविरुद्ध मुद्दा नै नचल्ने निर्णय गरेर बाँकीविरुद्ध मात्रै मुद्दा अदालतमा दर्ता गरायो ।

काठमाडौं प्रहरीका एक अधिकारीको भनाइमा, आफूहरूले अनुसन्धान गरेर प्रतिवेदन बुझाएका छौं । तर, मुद्दा दर्ताको काम वकिल कार्यालयबाट नै हुने हुँदा उनीहरू नै जवाफदेही हुन्छन् ।

मुख्यआरोपी छुटाएर बुझाएको प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौंले २ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंले गएको मंगलबार यादव र भट्टलाई थुनामा तथा अधिकारीलाई १ लाख, चालिसेलाई ७५ र श्रेष्ठलाई १० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो । 
 

 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्