site stats
बाह्रखरी :: Baahrakhari
देश
अख्तियार प्रमुखबाट राजीनामा दिन राईलाई ‘जेनजी’को दबाब

काठमाडौं । ‘जेनजी’को एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राईलाई पदबाट राजीनामा दिन दबाब दिएको छ । जेनजी मुभमेन्ट अलायन्सले राईसहित सबै आयुक्तलाई राजीनामा दिन दबाब दिएको हो ।

उक्त अलायन्समा आबद्ध व्यक्तिहरू मंगलबार (असोज २१) बिहान कार्यालय समय सुरु हुनेबित्तिकै काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालय पुगेका थिए । उनीहरूले राजीनामाको मागसहित त्यहाँ निवेदन दर्ता गराएका छन् ।

“...७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नका लागि दिएको सहादतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईंलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिनका लागि आह्वानका साथै यस पत्रमार्फत दबाब दिन्छौँ,” निवेदनमा उल्लेख छ ।

उनीहरूले राईको नाम भ्रष्टाचारका मुद्दामा मुछिएको, विशेष अदालतले समेत प्रश्न उठाएको उल्लेख गरेका छन् ।

“तपाईंका कार्यहरू राजनीतिक रूपमा पक्षपाती छन् भन्ने आलोचना पनि प्रशस्तै छन् र तपाईंको आफ्नै नाम वाइडबडी घोटालालगायत धेरै भ्रष्टाचारका मुद्दाहरूमा मुछिएको पनि छ,” निवेदनमा भनिएको छ, “विशेष अदालतले समेत स्पष्ट रूपमा तपाईं र सिंगो अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यप्रणालीमाथि प्रश्न उठाएको छ ।”

निवेदनमा अगाडि उल्लेख छ, “यसले भ्रष्टाचार अन्त्य र दोषीलाई कारबाहीलगायतका सबै पक्षमा नकारात्मक प्रभाव पार्दछ भन्ने अनुमान गर्न गलत नहोला । तपाईंको नेतृत्वमा यी कार्यहरू निष्पक्ष रूपले हुन सक्ला भन्नेमा कुनै विश्वसनीय आधार छैन ।”

निवेदन पढ्नोस्–

Gen-Z-Akhtiyar_Nepal-Photo-Library-(6)-1759814689.jpegGen-Z-Akhtiyar_Nepal-Photo-Library-(7)-1759814707.jpegGen-Z-Akhtiyar_Nepal-Photo-Library-(8)-1759814726.jpeg
 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्