site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालको जेनजी आन्दोलनलाई एकतिहाइ फेक अकाउन्टले बढावा दिएको खुलासा !

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी युवाहरूको आयोजनामा भएको आन्दोलन सञ्चालन र प्रवर्धन गर्न व्यापक मात्रामा नक्कली (फेक) सामाजिक सञ्जाल खाता प्रयोग गरिएको पाइएको छ । इजरायलको साइबर अनुसन्धान संस्था साइब्राले ‘नेपाल प्रोटेस्ट २०२५ : अनलाइन न्यारेटिभ्स एन्ड इन्फ्लुएन्स अफ फेक प्रोफाइल्स’ शीर्षकको प्रतिवेदनमार्फत यसको खुलासा गरिएको हो ।

आन्दोलनको प्रवर्धनका लागि प्रयोग गरिएका सामाजिक सञ्जाल खातामध्ये ३४ प्रतिशत फेक रहेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा सेप्टेम्बर ८ र ९ (भदौ २३ र २४ )मा जेनजी आन्दोलन भएको थियो । रिपोर्टले सेप्टेम्बर ६ देखि सेप्टेम्बर ९ सम्मको अधविको अनलाइन गतिविधि विश्लेषण गरेको छ । यस विश्लेषणले विभिन्न प्लेटफर्ममा भएका अन्तरक्रियामा केन्द्रित भएको बताइएको छ ।

अनुसन्धानले आन्दोलनलाई स्वरूप दिने कथा, सहभागी अकाउन्टहरूको प्रमाणिकता र सार्वजनिक धारणालाई प्रभावित पार्न एक्स, फेसबुक र टिकटकमा प्रयोग गरिएका रणनीतिको पनि परीक्षण गरिएको बताएको छ ।

प्रतिवेदनले यी कथा कसरी निर्माण र प्रसारित गरिए, नक्कली प्रोफाइलको भिजिबिलिटी र इन्गेजमेन्टले के असर पारे, र नेपालको विरोध आन्दोलनको गतिलाई प्रवर्धन गर्न सामाजिक सञ्जालले खेलेको फराकिलो भूमिकालाई उजागर गरेको बताएको छ ।

रिपोर्टले अनलाइन विमर्शले निरन्तर जेनजीहरूलाई कसरी ‘प्रजातन्त्रका रक्षक’को रूपमा चित्रित गर्‍यो, उनीहरूलाई प्रतिरोधको अग्रपंक्तिमा स्थापित गर्‍यो र उनीहरूको डिजिटल ज्ञानले सामाजिक सञ्जाललाई परिचालन तथा पहिचान निर्माणको माध्यम कसरी बनायो भनेर विश्लेष गरेको छ ।

युवाको नेतृत्वमा प्रजातान्त्रिक संघर्ष, प्रहरीको बर्बरता र राज्य दमनका आरोप, गहिरिँदै गएको राजनीतिक तथा नेतृत्व संकटजस्ता प्रमुख न्यारेटिभले अनलाइन अन्तरक्रियाको स्वरूप दिएको प्रतिवेदनमा उल्लेख छ । एक्स प्लेटफर्ममा नमुना परीक्षण गरिएका प्रोफाइलमध्ये ३४ प्रतिशत फेक अकाउन्ट थिए । ती खाताहरू सक्कली प्रोफाइलहरूको इन्टर्याक्सनमा सजिलै मिसिएर आन्दोलनका ह्यासट्याग विस्तार गर्दै सरकारविरोधी स्टोरीहरूलाई प्रवर्धन गर्दै, आफ्नो प्रभाव बढाउन वास्तविक प्रयोगकर्ताहरूसँग रणनीतिक रूपमा संलग्न भएको उल्लेख गरिएको छ ।

संख्यामा साना भए पनि फेक प्रोफाइलले कुल सामाजिक सञ्जाल इनगेजमेन्टको ११.५ प्रतिशत हिस्सा ओगटेका थिए । यी खाताहरूले सरकारविरोधी कथाहरूलाई विस्तार गर्दै करिब ३२ करोड ६० लाख अर्थात् कुल सम्भावित पहुँचको १४ प्रतिशत पोटेन्सियल भ्यूसम्म पुगेका थिए ।

नेपालको जेनजी प्रदर्शनको अनलाइन परिचालनको उद्देश्य र निष्कर्ष
यस अनुसन्धानको नमुनामा तीन हजार ९३५ प्रोफाइल समावेश गरिएको थियो । जसले सात हजार २१३ भन्दा बढी पोस्ट र कमेन्ट गरेका थिए ।

सेप्टेम्बर ६–७ मा सामाजिक सञ्जालमा सेप्टेम्बर ८ को प्रदर्शनमा सामेल हुन आह्वान गर्ने पोस्टहरूको बाढी आएको थियो, जसमा 'सेप्टेम्बर ८', 'वेक अप नेपाल' र 'जेजजी प्रोटेस्ट'जस्ता ह्यासट्याग प्रयोग गरिएको थियो । यी प्रचार सामग्रीमा धेरैजसो एआई–उत्पादित भिजुअल थिए, जसले उनीहरूको अपिल र पहुँचलाई विस्तार गरेको रिपोर्टमा उल्लेख छ ।

टिकटक, एक्स र फेसबुकमा प्रयोगकर्तालाई सक्रिय सहभागिताका लागि प्रोत्साहित गरिएको थियो । यी पोस्टहरूले प्रदर्शनहरूलाई अधिकारका लागि पुस्तागत संघर्षको रूपमा चित्रण गरेका थिए ।

विशेषगरी, छोटा भिडियो सामग्री प्रभावकारी सावित भएका थिए, जसका केही पोस्टहरूले लाखौँदेखि करोडौँ भ्युज प्राप्त गरेको उल्लेख छ ।

सेप्टेम्बर ८–९ मा प्रदर्शनहरू हिंसात्मक हुँदै जाँदा र मृत्युका समाचार आउन थालेपछि अनलाइन इन्टरयाक्सन परिवर्तन हुँदै गए । ती आक्रोश, शोक र हिंसाको दस्तावेजीकरणतर्फ सरेका थिए । प्रयोगकर्ताहरूले भिडियो र झडपका प्रत्यक्षदर्शीहरूका भनाइ सेयर गरेको रिपोर्टमा उल्लेख छ ।

नेपालको प्रदर्शनका डिजिटल स्टोरी
अनलाइन छलफल विभिन्न सन्देश र स्टोरीहरूले भरिएका थिए । जसले आन्दोलनको स्तर र भावनात्मक तीव्रतालाई प्रतिविम्बित गरेको रिपोर्टमा उल्लेख छ ।

प्रदर्शन बढ्दै जाँदा प्रयोगकर्ताहरूले आफ्नो आवाजलाई विस्तार गर्न नाटकीय भाषा र प्रभावकारी फ्रेमिङको सहारा लिएका थिए । जसले निश्चित स्टोरीहरूलाई महत्त्वपूर्ण चर्चा दिलाएको पनि बताइएको छ ।

पोस्टहरूले लगातार युवा नेपालीहरूलाई प्रतिरोधको प्राथमिक शक्ति र राष्ट्रको प्रजातान्त्रिक आकांक्षाहरूको प्रतीकका रूपमा चित्रित गरेका थिए ।

त्यस्तै, सुरक्षा बलको हिंसामा केन्द्रित स्टोरी पनि प्रशस्त थिए । प्रयोगकर्ताहरूले भिडमा प्रहरीले गोली चलाएको र प्रदर्शनकारीसँग हिंस्रक झडप भएको विवरण दिएका थिए ।

तेस्रो प्रमुख कथा राजनीतिक अस्थिरता र नेतृत्वको असफलतासँग सम्बन्धित थियो । धेरै पोस्टहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै उनलाई नेपालको गहिरो शासन संकटको प्रतीकका रूपमा चित्रित गरेका थिए ।

नेपालको प्रदर्शनमा डिस्कोर्सभित्रको फेक गतिविधि
साइब्राले जेनजी आन्दोलनको डिस्कोर्सभित्र फेक गतिविधिको उपस्थिति परीक्षण गर्न सहभागी प्रोफाइलहरूको जाँच गर्दा एक्समा एक हजार २८८ फेक प्रोफाइल सक्रिय रहेको पत्ता लगायो । जुन नमुना लिइएका प्रोफाइलको ३४ प्रतिशत थियो ।

रिपोर्ट अनुसार, यी प्रोफाइलले प्रामाणिक प्रयोगकर्ताहरूसँग समानान्तररूपमा प्रचार सामग्री फैलाउँदै सरकार र प्रहरीविरुद्धका दाबीहरूलाई पुष्टि गर्दै सक्रियरूपमा प्रदर्शनलाई प्रोत्साहन दिएका थिए ।

फेक प्रोफाइलले वास्तविक प्रयोगकर्ताहरूले प्रयोग गरेका 'नेपाल प्रोटेस्ट', 'जेनजी प्रोटेस्ट', 'सोसल मिडिया ब्यान' र 'इनफ इज इनफ'जस्ता ह्यासट्यागलाई पहुँच विस्तार गर्न र वार्तालापलाई व्यापक दर्शकहरूसम्म पु‍र्‍याउन रणनीतिकरूपमा प्रयोग गरेका थिए ।

आन्दोलनको भ्युजमा नक्कली प्रोफाइलहरूको प्रभाव
प्रमाणिक प्रयोगकर्ताले अधिकांश अनलाइन आन्दोलनका गतिविधि सञ्चालन गरे पनि फेक प्रोफाइलले स्टोरीहरूलाई विस्तार गर्नमा गलतरूपमा शक्तिशाली भूमिका खेलेको पाइएको छ ।

नक्कली प्रोफाइलले कुल अनलाइन संवाद (कन्भर्सेसन) इनगेजमेन्टको ११.५ प्रतिशत हिस्सा ओगटेका थिए । जसमा कुल एक करोड ४० लाख इन्टरयाक्सनमध्ये एक लाख ६४ हजारभन्दा बढी अन्तरक्रिया थिए ।

यी खाताहरूका सामग्री करिब ३२ करोड ६० लाख सम्भावित दृश्यहरूसम्म पुगेका थिए । जुन प्रदर्शनसम्बन्धी विमर्शको कुल सम्भावित पहुँचको १४ प्रतिशत हिस्सा थियो ।

रिपोर्टको निष्कर्षमा नेपालको जेनजी नेतृत्वका प्रदर्शनहरूमा अनलाइन डिस्कोर्स केवल सामाजिक सञ्जाल परिचालनका लागि मात्र नभई स्टोरीहरूलाई आकार दिने र विस्तार गर्ने युद्धभूमिका रूपमा पनि कार्यरत रहेको भनिएको छ । साथै, युवा–नेतृत्वको प्रजातान्त्रिक संघर्ष, प्रहरीको बर्बरताको आरोप र राजनीतिक नेतृत्व संकट गरी तीन प्रमुख स्टोरीले अनलाइन संवादमा प्रभुत्व जमाएको रिपोर्टमा उल्लेख छ ।

उनीहरूले प्रदर्शनलाई परिवर्तनका लागि पुस्तागत माग र राज्यका संस्थाहरूमाथिको फराकिलो अभियोग दुवैका रूपमा चित्रित गरेका छन् ।

फेक गतिविधिको उपस्थितिले जटिलताको अर्को तह थपेको पनि रिपोर्टमा बताइएको छ । यद्यपि, वास्तविक आवाजहरूले अनलाइन इनगेजमेन्टको बहुमत ओगटेका भए पनि फेक प्रोफाइलले एक्समा नमुना लिइएका खाताहरूको एक तिहाइभन्दा बढी हिस्सा ओगटेका थिए ।

हेर्नुहोस् प्रतिवेदन

 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्