site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाली पासपोर्टमा साउदी पुग्ने म्यानमारीसँगै बंगलादेशी पनि ! ३०३ पुगेको पुष्टि

काठमाडौं । नेपाली पासपोर्ट प्रयोग गरी खाडी राष्ट्र साउदी अरब पुग्नेमा म्यानमारी रोहिंग्यासँगै बंगलादेशी पनि भएको खुलेको छ । यसअघि २०० जना म्यानमारी रोहिंग्याहरू नेपाली हस्तलिखित पासपोर्टमा साउदी अरब पुगेको खुलेको थियो । साउदी अरबस्थित नेपाली दूतावासले थप खोजी गर्दा यो संख्या ३०३ पुगेको छ, जसमा १० प्रतिशत बंगलादेशी नागरिक छन् । 

बंगलादेशी नागरिक पनि नेपाली हस्तलिखित पासपोर्टमा साउदी पुगेको भेटिएको हो । नेपाली पासपोर्टमा साउदी पुगेका म्यानमारी रोहिंग्या र बंगलादेशीको विवरण साउदी सरकारले नेपाली दूतावासलाई उपलब्ध गराएको छ ।

साउदीस्थित नेपाली दूतावासले नेपाली पासपोर्टमा साउदी पुगेका म्यानमारी रोहिंग्या र बंगलादेशी  ३०३ जनाको विवरण परराष्ट्र मन्त्रालयमा पठाएको छ । “नेपाली पासपोर्टमा साउदी पुगेका ३०३ जना म्यानमारी रोहिंग्या र बंगलादेशीको विवरण प्राप्त भएको छ । पहिला रोहिंग्या मात्र भन्ने थियो । नेपाली पासपोर्टमा बंगलादेशी पनि भेटिएका छन् । बंगलादेशीको संख्या करिव १० प्रतिशत छ,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो । 

परराष्ट्र स्रोतका अनुसार, नेपाली पासपोर्टमा साउदी पुगेका म्यानमारी रोहिंग्या र बंगलादेशीमध्ये १२ जना मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी)मा गएको पाइएको छ । बाँकी सबै हस्तलिखित पासपोर्टमा गएका हुन् । 

“हामी यस विषयमा थप अध्ययन गरिरहेका छौं । विदेशी नागरिक कसरी नेपाली पासपोर्टमा साउदी पुगे भन्ने गम्भीर विषय हो । नागरिकताका आधारमा पासपोर्ट बन्छ । नागरिकता कसरी बन्यो प्रश्न अहंम् छ । केही व्यक्ति नेपालको हस्तलिखित पासपोर्ट फोटो परिवर्तन गरी गएको पनि देखिएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । 

साउदी सरकारले रियादस्थित नेपाली दूतावासलाई सुरुमा यसबारे जानकारी दिएको थियो । साउदीको अध्यागमनले भिसा समयभन्दा बढी बसेका (ओभर स्टे) ठूलो संख्यामा आप्रवासालई नियन्त्रणमा लिएको थियो, जसमा नेपाली पासपोर्टमा गएका म्यानमारी पनि थिए ।

साउदीको अध्यागमनले ‘तपाईँहरूको नागरिक फिर्ता लैजानोस्’ भनेर पत्र पठाएपछि बुझ्न जाँदा उनीहरू नेपाली नभएको खुलेको थियो । त्यसपछि बंगलादेशी पनि नेपाली पासपोर्टमा साउदी पुगेको भेटिएको हो । 

नेपाली पासपोर्टमा साउदी पुगेको केही म्यानमारी रोहिंग्या तथा बंगलादेशीलाई साउदी अरबले ‘डिटेन्सन सेन्टर’ मा राखेको छ भने केहीलाई निगरानीमा बाहिर छोडेको छ ।

उनीहरू नेपाली नभएको खुलेपछि नेपाली दूतावासले ‘ट्राभल डकुमेन्ट’ दिन अस्वीकार गर्दै आएको छ । तर साउदी अध्यागमनले बारम्बार उनीहरूलाई नेपाल फर्काउन नेपाली दूतावाससँग ताकेता गरिरहेको छ । 

राहदानी विभागले हस्तलिखित राहदानी बन्द गरी २०६७ मंसिर १० गतेबाट एमआरपी जारी गर्न सुरु गरेको थियो । यस्तै, विभागले एमआरपीबाट स्तरोन्नति गर्दै २०७८ मंसिर १ गतेदेखि ई–पासपोर्ट जारी गर्न सुरु सरेको थियो । 

नेपाली पासपोर्टमा साउदी पुगेका धेरै म्यानमारी रोहिंग्या र बंगलादेशीसँग हस्तलिखित पासपोर्ट भएका कारण उनीहरूले १५ वर्षअघि नै ती पासपोर्ट लिएको देखिन्छ । जसअनुसार उनीहरू सबै २०७२ मंसिर ८ गते अगावै त्यहाँ पुगेका थिए । किनभने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधान अनुसार २०७२ मंसिर ८ गतेभन्दा पछाडि नेपाली हस्तलिखित पासपोर्ट प्रयोग गर्न पाइँदैनथ्यो । 

स्रोतका अनुसार, ठूलो संख्यामा म्यानमारीहरूले २०६७ मंसिर १० गते अघि नेपाली पासपोर्ट लिएका थिए, किनभने नेपालले २०६७ मंसिर १० गतेबाट हस्तलिखित पासपोर्ट जारी गर्न बन्द गरी मेसिनले पढ्नसक्ने पासपोर्ट (एमआरपी) जारी गर्न सुरु गरेको थियो ।

परराष्ट्र स्रोतका अनुसार, एक समय साउदीले आफ्नो देशमा प्रवेश गर्ने मुस्लिम धर्मावलम्बीलाई संरक्षण गर्ने नीति लिएको समयमा म्यानमारी रोहिंग्या र बंगलादेशी नागरिक नेपाली पासपोर्टमा त्यहाँ गएका थिए ।

सन् २०११ को अरब स्पिङ, सिरिया र यमनमा युद्ध चर्किएपछि ठूलो संख्यामा मुस्लिम शरणार्थी साउदी आउन थालेका थिए । त्यसलाई रोक्न साउदीले मुस्लिम धर्मावलम्बीलाई दिँदै आएको संरक्षण नीति हटाएको थियो ।

राहदानी विभागका अनुसार, जतिबेला नेपालले हस्तलिखित पासपोर्ट जारी गर्न बन्द गर्यो त्यतिबेला २०७२ मंसिर ८ गतेसम्म र त्योभन्दा माथि म्याद भएका २५ लाख हस्तलिखित राहदानी प्रयोगमा थिए । ती राहदानी एकै दिन (२०७२ मंसिर ८ गत) काम नलाग्ने भएका थिए ।
 

 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्