site stats
बाह्रखरी :: Baahrakhari
देश
पत्रकार महासंघले भन्यो– 'बालेनका भिनाजु'ले ज्यान मार्ने धम्की दिए, कडा कारबाही गर
बालेन शाह । फाइल तस्बिर ।

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आफ्ना सदस्य पत्रकार पर्वतराज घिमिरेमाथि ज्यान मार्ने धम्की आएको भन्दै आपत्ति जनाएको छ ।

आज एक प्रेस विज्ञप्तिमार्फत शाखाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसम्बन्धी समाचार प्रसारण भएपछि बालेनका भिनाजु बताउने सुवास शाहले पत्रकार घिमिरेलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको बताएको छ ।

शाखाका सचिव रमेशकुमार बोहोराले बुधबार प्रकाशित विज्ञप्तिमा भनेका छन्  “यो कुनै व्यक्तिगत रिसइबी होइन, स्वतन्त्र पत्रकारिता र अभिव्यक्तिको अधिकारमाथिको नियोजित हमला हो, जसले लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको आधारभूत मर्मलाई चुनौती दिएको छ ।”

समाचारप्रति असन्तुष्टि भएमा प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था हुँदाहुँदै धम्कीपूर्ण र आपराधिक व्यवहार गर्नु प्रेस आचारसंहिता र प्रचलित कानुनको ठाडो उल्लंघन भएको विज्ञप्तिमा उल्लेख छ ।

शाखाले सुरक्षा निकायलाई घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न र पत्रकारमाथि हुने धम्की तथा आक्रमणप्रति शून्य सहनशीलता अपनाउन माग गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्