काठमाडौं । नेपालले घरेलु टोली मलेसियाविरुद्धको महिला ट्वान्टी–२० शृंखला आफ्नो पक्षमा पारेको छ ।
बुधबार बायोमास क्रिकेट ओभलमा सम्पन्न पाँचौँ तथा निर्णायक खेलमा नेपाल पाँच विकेटले विजयी भएसँगै नेपालले शृंखला ३–२ ले जितेको हो ।
मलेसियाले प्रस्तुत गरेको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा रुवी पोदारले २६ रन बनाइन् । पूजा महतोले २३, रुविना क्षेत्रीले अविजित १५ र सम्झना खड्काले १३ रन बनाए ।
मलेसियाका आइन हामिजा हसिम, नुर डानिया स्युहदा, आइसा एलिसा फिर्डाजु र नुर आल्याले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०३ रनको योगफल तयार पारेको थियो ।
मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले ४० रन बनाएकी थिइन् । माहिरा इज्जती इस्माइलले १९, आइन हामिजा हसिमले १५ र नुर डानिया स्युहदाले ११ रन बनाए ।
नेपालका कविता कुँवर र राजमति ऐरीले समान तीन विकेट लिए । रचना चौधरीको नाममा एक विकेट रह्यो ।
यसअघिका चार खेलमध्ये मलेसियाले पहिलो र तेस्रो खेलमा क्रमशः तीन र १३ रनको जित निकालेको थियो । यता, नेपालले भने दोस्रो र चौथो खेलमा समान ६ विकेटको जित निकालेको थियो ।