site stats
बाह्रखरी :: Baahrakhari
देश
शान्तिसुरक्षा मजबुत बनाउन आयोगको सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशको शान्ति सुरक्षालाई बलियो बनाउन अपिल गरेको छ । आज एक विज्ञप्तिमार्फत आयोगले अहिलेका गतिविधिले आगामी दिनमा शान्ति सुरक्षामा पर्न सक्ने प्रभाव र मानव अधिकारको उपभोगमा आउन सक्ने अवरोधका घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

आयोगले शान्तिसुरक्षा र विधिको शासनलाई मजबुत बनाउन सुरक्षा निकायको मनोबल उच्च बनाउँदै धैर्यता र संयमतापूर्वक आवश्यक कदम चाल्न सरकारलाई निर्देशन पनि दिएको छ ।

आयोगले गत भदौ २३ र २४ गते भएको हिंसात्मक कार्य र आगजनीमा भएको मानव अधिकार उल्लंघनको घटनाको अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ । आयोगले विकसित परिस्थितिको अनुगमन गर्ने र सम्बन्धित निकायबाट तथ्य विवरण संकलन गर्ने कार्यलाई निरन्तरता दिइरहेको पनि जनाएको छ ।

"हिंसात्मक गतिविधि, अरूप्रति लक्षित नकारात्मक टीकाटिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलिने र राजनीतिक वातावरण समेत धुमिल हुने हुँदा यसबाट शान्तिसुरक्षा र विधिको शासनमाथि नै प्रतिकूल असर पर्न जान्छ," विज्ञप्तिमा भनिएको छ l

आयोगले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण गर्नु, विधिको शासन कायम गर्नु र सामाजिक सद्भाव कायम राख्दै स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत वर्तमान संक्रमणकालीन अवस्थालाई निकास दिनु राज्यको दायित्व रहेको र यसमा सहयोग गर्नु आम नागरिकको कर्तव्य हुने बताएको छ ।

आयोगले विभिन्न समूहलाई आगामी दिनमा गर्ने भनिएका प्रदर्शनलाई मर्यादित र संयमित बनाउन, अरूप्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न, सामाजिक सद्भाव कायम राख्न र जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन राजनीतिक दल र समूहलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्