काठमाडौं । पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । ती जिल्लामा फैलिएको हैजाको महामारी तथा हालैको वर्षापछिको बाढीका कारण उक्त क्षेत्रमा सिर्जित उच्च जोखिमलाई ध्यानमा राखी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
गएको भदौ ६ गते पर्साको वीरगन्ज महानगरपालिका–१२, मुरली टोलबाट सुरु भएको हैजाका कारण हालसम्म ती दुई जिल्लामा एक हजार ६८५ जना बिरामी भएका छन् ।
‘हैजा रोगविरुद्धको प्रतिकार्य खोप अभियान, २०८२’ का बारेमा बिहीबार (असोज २३) आयोजित पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालले यही असोज–कात्तिकमा खोप अभियान सञ्चालन गरिने जानकारी गराए ।
खोप अभियान पर्सामा असोज २६ गतेदेखि सुरु गरिनेछ । बारामा असोज २९ देखि सुरु गरेर तिहारअघि सकाउने महाशाखाको योजना छ ।
उक्त अभियानका निम्ति स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार १०० मात्रा खोप पर्सा र बारामा पठाउने तयारी गरिएको जनाएको छ ।
निर्देशक लालका अनुसार, यो अभियानमा एक वर्षभन्दा माथि उमेर समूहका सबैलाई खोप दिइनेछ । प्रतिकार्यस्वरूप सञ्चालन गर्न लागिएको हैजाविरुद्धको अभियानमा एकपटक खोप दिइनेछ । यो मुखबाट खुवाइने खोप हो । यो सुरक्षित रहेको महाशाखाले जनाएको छ ।
यो खोप एक वर्षभन्दा माथिको उमेरका सबैले खानुपर्छ । गर्भवती र स्तनपान गराइरहने महिलालाई पनि यो खोप दिन सकिने जनाइएको छ । रासस