site stats
बाह्रखरी :: Baahrakhari
देश
विदेशी मुलुकबाट नियुक्त अवैतनिक दूतका गाडीलाई दिइएको निलो नम्बर प्लेट खारेज
फाइल तस्बिर ।

काठमाडौं । नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक कन्सल जनरल/कन्सलहरूले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको निलो नम्बर प्लेट खारेज गरिएको छ ।

अवैतनिक कन्सल जनरल/कन्सलसम्बन्धी अन्तर्राष्ट्रिय कानुन, पारस्परिकता, अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली, २०३९, हालको प्रचलनबमोजिम निर्णय लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

"साथै, निलो नम्बर प्लेटका सवारीसाधनहरूको दुरुपयोग भएको भन्ने गुनासो समेतका आधारमा सरकारले यो निर्णय गरेको हो," परराष्ट्रले भनेको छ ।

हाल प्रयोगमा रहेका निलो नम्बर प्लेट भएका सवारीसाधनलाई निजी सवारीसाधनमा परिवर्तन गरिने र यस विषयमा परराष्ट्र मन्त्रालयबाट सम्बन्धित निकायसँग यस निर्णयको कार्यान्वयनका लागि आवश्यक समन्वय हुने मन्त्रालयले जनाएको छ ।

"अवैतनिक कन्सल जनरल/कन्सलले तोकिएको कन्सुलर क्षेत्रभित्र नेपालको राष्ट्रिय दिवस समारोह, सम्बन्धित (नियुक्ति दिने) मुलुकको राष्ट्रिय दिवस समारोह, सम्बन्धित मुलुकको राष्ट्र प्रमुख/सरकार प्रमुख र परराष्ट्र मन्त्री नेपाल भ्रमणमा रहेको समयमा सरकारी भेटघाट र स्वागत तथा बिदाइ र नेपालका लागि सम्बन्धित मुलुकको राजदूतको नेपाल भ्रमणको अवसरमा सम्बन्धित मुलुकको राष्ट्रिय झन्डा  प्रयोग गर्न पाउने व्यवस्था भने यथावत रहने छ," परराष्ट्रले भनेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्