समय फेरियो ।
हर्कबहादुरका हात काम्न थाले । के उसलाई पार्किन्सनको रोग लाग्न थाल्यो ?
समय फेरिएको देखाउन हर्केले छोरो विदेश पठायो । तर, दसैँको टीकाका लागि आज दुई दिन बाँकी छँदा पनि छोरो घर आएको छैन । छोरो नआएपछि हर्केको व्यथा सघन भयो ।
चिन्ता थियो हर्केका लागि एउटा मात्र— छोरो दसैँमा किन आएन ? चिन्ताले गर्दा नै हर्के थलिने भयो । दसैँका लागि दुई दिन मात्र बाँकी रहनु भनेको दसैँ बितेसरह हो, बिनाछोरा ।
मुकुल हर्केको कान्छो छोरो थियो, जो बामपुड्के थियो । उसको कद जति थियो, त्यत्तिमै सीमित रहने देखियो । अग्लो हुने छाँटै देखिन्नथ्यो । तर, उसका हातपाखुरा बलिया र ठोस हुँदा थिए ।
हर्केलाई यो छोराको पनि चिन्ता थियो, वामन अवतारमै सीमित रहने लक्षण छ । मुकुलले बिहानै एक तगडा झापड खाइसकेको थियो, बाउ हर्केको हातको । झापड पहिलाजति तगडा हुन सकेको थिएन, कारण केही खास थिएन—हर्केका हात काम्न थालेका छन् ।
तर, तगडा झापड खानुको कारण थियो, उसले बारम्बार सोधिरहेको थियो— दाइ किन आएन ?
दाइले उसलाई माया गर्थ्यो र विदेशबाट केही न केही ल्याइदिन्थ्यो, अरू केही नभए टिसर्ट !
‘तेरो दाइ किन आएन आएन ! ऊ आएपछि उसैलाई सोधेस् किन नआएको भनेर ।’ अनि, उसका गाला रन्केका थिए ।
चिन्तामाथि थप चिन्ता भनेझैँ कान्छो छोरो मुकुलले दाइ किन आएन भनेर सयौँपटक सोधिसकेको थियो र चिन्तित हर्कबहादुर रिसाएको थियो । छोराको आगमनको बाटो हेरिरहेको बाउलाई नै थाहा छैन, उसको दाइ किन नआएको ?
दाइ वीरबहादुरभन्दा मुकुल बाह्रतेह्र वर्षले कान्छो थियो । बाह्रतेह्र वर्ष कान्छो भन्नाले वीरबहादुर हर्केकी जेठीतिरको छोरो थियो । मुकुल कान्छीको । कान्छीको छोरो हुनाले उसले बढी पुलपुल्याएको थियो, कान्छीलाई पनि र उसको छोरो मुकुललाई पनि ।
स्वाभाविक थियो, कान्छी मनमतीलाई झड्केलो छोरो वीरेको चिन्ता थिएन । बिहानैदेखि ऊ ठुस्केर बसेकी थिई, दसैँमा केही नयाँ किन्न पाइएन !
स्वास्नी जवान थिई र हर्के पचपन्नको भएर छप्पन्न–साठीको बुढ्यौलीतिर लम्कँदै थियो । उसमा पहिलेजस्तो रिस पनि थिएन र जोस पनि । पाखुरा उसका अझै पनि दरा थिए, तर आँट थिएन । हात काम्न थालेका थिए ।
आँटको कुरा गर्दा यो थियो, पहिलेपहिले गाउँघरमा खसी छप्काउनु छ भने हर्केको खोजी हुन्थ्यो ।
हर्केसँग खसी मात्र छप्काउने खुकुरी थिएन, बडेमाको अर्को खुकुरी पनि थियो । राँगो ढाल्ने खुँडा थियो । खसीबोका र राँगा ढालेबापत उसले पारिश्रमिक लिन्थ्यो र टाउको पनि ।
गाउँमा उसको प्रतिष्ठा बढी बढ्थ्यो दसैँको समयावधिभरि । दसैँताक सबै उसको खोजीमा हुन्थे । बिहान पाँचै बजेदेखि मान्छे खसीबोका काट्न अथवा राँगोको घाँटी छिनाल्न उसको घरको ढोका कुर्न आइपुग्थे ।
पहिलो व्यक्ति समय पाँच बजे नै किटेर आउँथ्यो, नत्र हर्कबहादुर हात लाग्दैनथ्यो । समय हर्कबहादुर यसकारण समय थाहा पाउँथ्यो, नाडीमा उसले एउटा महँगो घडी बाँधेको थियो ।
ऊ बिहान उठेर जुन मान्छेको अभिवादन पाउँथ्यो, त्यसको उपस्थितिको समय दर्ज गर्न घडीतिर हेर्थ्यो । त्यसैअनुसार उसले पालो किटान गर्थ्यो । घडीमा ठ्याक्कै पाँच बजेको हुन्थ्यो । अरूको घडीको समयले उसलाई छुँदैनथ्यो । बोको खसी के हो काटिदिएर साढे पाँचमा अर्को व्यक्तिको घर पुग्थ्यो ।
ऊ पहिलो आउने व्यक्तिको घरको खसी वा बोका वा कहिलेकाहीँ पाठो वा भेडो ढालेर अर्को व्यक्तिकोमा हिँडिहाल्थ्यो । पारिश्रमिक पेस्कीमै लिन्थ्यो अनि ढालेको पशुको टाउको उसको घर पुर्याइदिने काम पशुधनीले गर्नुपर्थ्यो ।
यसमा फरक पर्नु हुँदैनथ्यो । पारिश्रमिक पेस्कीमा नपाए ऊ त्यो व्यक्तिको घरको बाटो नै समात्दैनथ्यो ।
अर्को एउटा अचम्मको कुरो पनि थियो, ऊ अर्थात् हर्कबहादुर बलि दिने काममा सरिक हुँदैनथ्यो । अर्काको देउता पुज्ने विधि उसैले जानोस् र उसको देउताका लागि बलि दिने काममा हर्केले हस्तक्षेप गर्नु छैन भन्थ्यो । यस नियममा ऊ अटल थियो ।
पशुबलिका लागि उसलाई जति अनुरोध गरे पनि उसले एकपटक नाइँ भनेपछि त्यसमा अर्को कुरो हुनै सक्तैनथ्यो । बरु भनिदिन्थ्यो, ‘मैले नै मार हान्नुपर्ने किन ? तपाईंको देउता रिसाए भने मेरो किन नोक्सान हुने ?’
हर्कबहादुरलाई विश्वास थियो, सबै देउताका आआफ्ना बलिको विधि र पद्धति हुन्छ – जसलाई पालन भएन भने ती ती देउता रिसाउन सक्छन् र त्यसको भागी आफू पनि भइन्छ । किनभने, मार हान्ने काम त आफैँले अघि सरेर गरिएको हुन्छ ।
थपमा बलिको मार हानिदिन अनुरोध गर्ने पशुधनीलाई बाटो सुझाएझैँ विनम्रतासाथ भनिदिन्थ्यो, ‘त्यसो हो भने कुभिन्डोको बलि दिनोस् ।’
बलिको मार हानिदिन दोब्बरतेब्बर पारिश्रमिक दिने प्रस्ताव पनि उसले अस्वीकृत गरिदिन्थ्यो ।
पशुधनी अन्ततः हार खाएर फर्कन्थ्यो र हर्कबहादुरभन्दा अलि पर पुगेपछि फतफताउन थाल्थ्यो— पैसा बढी लेभन्दा पनि मानेन । अरूको बलि मबाट हुँदैन भन्छ । देउता रिसाउँछन् भन्छ । उसका देउता रिसाउने हुन् कि हाम्रा देउता रिसाउने हुन् ? खै, केही बुझ्न सकिएन । अन्धविश्वासीसँग केही सीप लाग्ने रहेनछ । अन्धविश्वास पनि कस्तो बज्र अन्धविश्वास हो गाँठे !
व्यक्तिहरू तैपनि पाँचै बजे उसको घरमा आइपुग्थे । भनाइ यो थियो— हर्केले मार हानेपछि एकै चोटमा गर्धन र गिँड अलग गर्छ । भ्याभ्या र म्याम्या गर्र्नै पाउन्न । यही आधारमा मात्रै ऊ विख्यात थियो गाउँघरमा । जस्तै जब्बर राँगो पनि उसको खुँडामुनि च्वाट्ट छिनालिन्छ भन्थे ।
यसै लोकप्रियतामा मात्रै पनि उसलाई डाक्न मानिसरू दसैँताका तँछाडमछाड गर्थे । ऊ भने उसलाई मात्रै डाक्न यतिका मान्छे अर्थात् गाउँ नै उल्टेर बिहान पाँच बजेदेखि नै कसरी आइपुग्छन् भनेर छक्क परिरहन्थ्यो ।
बीचमा मात्र यत्ति सम्झिराख्नुपर्ने हुन्छ, उसका ती खुकुरी चरप्प समातेर मार हान्ने हात काम्न थालेका छन् ।
तर, यो महत्त्वको कुरो थिएन । कुरो उसको क्रियाकलापको पनि थियो । ऊ मान्छेहरूलाई प्रभाव दिन यसो घडी हेर्थ्यो । किनभने, गाउँमा घडी बाँध्नेहरू कम थिए र उसको घडी दामी देखिन्थ्यो । त्यसमाथि ऊ घडी बाँधेरै पशुको गर्धनमाथि खुकुरीखुँडो उचालेर मार हान्थ्यो ।
पाँचै बजे डाक्न आउनेको नाडीतिर हर्के हेर्थ्यो, त्यहाँ घडी देखेपछि मान्थ्यो— त्यो घडीमा पनि पाँच बजेको हुनुपर्छ र चित्त बुझाउँथ्यो ।
घडीबारे ऊ सजग र गौरवबोध गर्थ्यो, किनभने घडी सामान्यभन्दा महँगो थियो । छोरो खाडी मुलुकमा जानुअगि भनेर गएको थियो, ‘बाबा, म योभन्दा महँगो घडी ल्याइदिऊँला । त्यतिन्जेल यो नै बाँधिराख्नुस् ।’
हर्केलाई घडीभन्दा बढी मोबाइल चाहिएको थियो । त्यही भन्यो र छोरोले हुन्छ भनेको पनि थियो ।
तर, दसैँ यति नजिक आइपुग्दा पनि ऊ आएको छैन ।
पहिलो वर्षमै छोरोले मोबाइल ल्यायो र ऊ बिदा सकेर फेरि खाडीतिरै फर्केर गयो । तर, उसलाई आफ्नो घडी अचेल यसकारण खल्लो र सस्तो लागिरहेको थियो—गाउँमा हल्ला फैलियो, एकजना नेताले चौँसट्ठी लाख दाम पर्ने घडी बाँधेका छन् रे !
यसले हर्केलाई खुम्च्यायो । त्यस्तो घडी बाँध्न सके पो घडी बाँधेको !
हर्केलाई आफ्नो नाडीघडी थोत्रो र सस्तो लाग्यो । नेताहरूको कुरा नै अर्को ! मुलुकै तिनको फाँदामा हुन्छ । सालेहरूले दुहेका दुह्यै हुन्छन् मुलुकको ढुकुटी ! चौँसट्ठी लाखको घडी तिनका लागि कत्ति नै महँगो भयो होला र !
हर्के पचपन्न नाघेर छप्पनतिर गइसकेको छ भने उसमा अचेल अरुचि बढेको छ । काटमारमा उसको मन त्यति जाँदैन । हातहरू नै काम्न लागेका छन् । राति सपना पनि राम्रा देख्दैन ।
देउताजस्तो सेतो घोडा चढेको झाँक्री आएर उसलाई अबदेखि मारकाट नगर्न भन्ने गरेको छ ।
एउटा भय उसभित्र जम्न लागेको छ— वास्तवमा उसले जीवनमा कतिवटा पशुहरूको हत्या गर्यो ? यो हिसाब उसले राखेको होइन । तर, हजारभन्दा बढी पशु काटेर मारेको हुनुपर्छ । ती पशुको आत्माले उसलाई सरापेकाले अहिले यी हात काम्न लागेका हुन् कि ?
ठूलो छोरो वीरेलाई ‘तैँले यो बिँडो थाम्नुपर्छ है’ भनेर जिम्मेवारी दिँदा ‘हुन्न बाबा, म सक्तिनँ यस्तो दिनदिनैको मारकाटको काम गर्न’ भनेर ऊ खाडीतिर हानियो ।
पढ्नेलेख्ने बेलामा स्कुल जानको अल्छीले उसलाई सघाएको त हो र मार हान्न पनि दक्ष भइसकेको थियो । तर, साथीहरू खाडीतिर गएर धेरथोर एकमुस्ट पैसा बोकेर आएको देखेर उसले पनि त्यतै जाने निश्चय गरेको थियो ।
यता हर्केले अर्की स्वास्नी बिहे गर्यो । जेठी माइत गएकी उतैको उतै लागी । हर्केले खोजी पनि गरेन । हर्के तन्नेरी नै थियो, हातमा खुकुरी र गाउँमा खसीबोका काट्ने र धेरथोर किनबेचको कामले कमाइ पनि थियो ।
स्वास्नी गई त मूर्खता गरी, बसेको भए सुखैले पालेको थियो, गई त कसले के गर्ने ?
अचेल डर पसिरहेछ मनमा । राति सपनामा घरीघरी सेतो घोडा चढ्ने झाँक्री आइरहन्छ । उसले चेताइरहन्छ— ए हर्के, अभैm छाड्दैनस् मारकाटको काम ! तँ एक दिन भीरबाट खसेर मर्नेछस् ।
झाँक्रीले सराप दिने रिस देखाएर भन्थ्यो । तर, हर्केको गाउँ वरिपरि कुनै त्यस्तो भीर थिएन, जहाँबाट खसेर मान्छेको मृत्यु होस् । तर, झाँक्रीले उसको मनमा डरको भीर सिर्जिदिएको थियो, जहाँबाट ऊ दिनदिनै खसेर मरिरहन्थ्यो । राति बीचनिद्राबाटै झसंग जाग्थ्यो र उठेर बाहिरको कोठा निस्कन्थ्यो अनि सुत्न डराएर जागै बस्थ्यो ।
तर, धेरै दिनपछि खुकुरी र खुँडोलाई उसले उधाईवरी नयाँ रातो लुगामा बेरेर टिनको ठूलो बाकसमा थन्क्याएको छ । त्यस दिनदेखि सपना अलि खुकुला भएका छन्, झाँक्री सपनामा आउन छाडेको छ । आइहाले पनि ‘ठिक गरिस् हर्के, फेरि त्यही मारकाटको बाटो नसमातेस्’ भनेर मुस्कुराउँदै अन्तर्धान हुने गरेको छ ।
तर, वर्षमा एकपटक दसैँका टीकाको दिन ती टिनको बाकसमा थन्काइएका कर्दसहितको खुकुरीखुँडो आदरसाथ झिकेर पूजा गरीवरी फेरि बाकसमै थन्क्याउने गरेको छ ।
हर्के यसरी भन्ने हो भने सुखी हुनुपर्ने हो । ऊ जेठो छोरोलाई सम्झेर दुःखी हुने गरेको छ ।
राजधानीमा यसपटक दसैँको मुखैमा आन्दोलन उठेको छ । जेनजीहरूको आन्दोलन उठेको दिन उन्नाइसजना कलिला विद्यार्थीहरूलाई ताकीताकी छाती र टाउकामा गोली हानेर मारिएको छ । अर्को दिनमै आफ्नो कुकृत्यका कारण सरकार असफल भएको छ ।
बुढा नेताहरूको विलासी जीवन ध्वस्त भएको छ, तिनको भागाभाग छ । जनतामा भ्रष्टाचारविरुद्ध व्यापक आक्रोश छ ।
नेताहरूका निजी भवनहरू खरानी पारिएका छन् । राजधानी आगोले भस्मीभूत भइरहेको छ । सडकभरि इँटका ठूला साना टुक्रा र ढुंगा छरिएका छन् । रगतले लतपतिएका लुगा र जुत्ताहरू यत्रतत्र देखापरेका छन् ।
जेलबाट खुँखार हत्यारा कैदीहरूसहित सबै फरार भएका छन् । जेल खाली भएका छन् । मुलुकै भयत्रस्त छ ।
अस्पतालमा आन्दोलनका घाइतेहरू छन् । प्रहरीहरू लघारिएका छन्, मारिएका छन् । अराजकता फैलिएको छ ।
अस्पतालमा भर्ना गरिएका घाइतेहरू उपचारकै क्रममा धमाधम मरिहेका छन् ।
टीभीको पर्दामा हर्के यो सब देख्छ ।
यो समय नै हो उसको जेठो छोरो खाडीबाट दसैँका लागि घर फर्कने समय ।
समय त हो घर फर्कने तर...। दसैँ आइपुगेको छ, टीकाका लागि दुई दिन मात्र बाँकी छ ।
दसैँ आइपुगेको छ । दसैँ त आयो तर छोरा आएन ।
हर्के यही सोचीसोची, छोरो सम्झीसम्झी चुपचाप आँसु बगाइरहेछ ।