अमेरिकामा बसोबास गर्दै आएका साहित्यकार विश्वराज अधिकारीको पछिल्लो कृति हो, ‘गीता मन्थन’, जुन हालै पढ्ने मौका मिल्यो । उनले हालै नेपाल आएर संयुक्त लघुकथासंग्रह ‘ओदान’ र आफ्नो स्वलेखनको ‘गीता मन्थन’ दुई पुस्तक सार्वजनिक गरे ।
पुस्तक पढेपछि केही नलेखी रहनै सकिएन । एक विषय र अनेक शीर्षकमा कृतिकारको ‘गीता मन्थन’माथि साहित्यकार खेमराज पोखरेलले थोरै मन्थन गरेका छन् ।
कृतिको भाग ‘क’मा गीता के हो ? शक्ति र न्यायबीचको सम्बन्ध कस्तो हुनुपर्छ ? युद्ध र मानिसबीचको गहिरो सम्बन्ध ? मानव सभ्यताले आफ्नो विकास या विनाश गरिरहेको छ ? हाम्रो असन्तुष्टि किन झन्झन् चुलिँदै छ ? सात्त्विक कर्म र सात्त्विक कर्ता भनेको के हो ? के खुसी रहनुको विकल्प छ ? के श्रीमद् भगवद्गीता सर्वकालीन साहित्य हो ? जस्ता २९ वटा गहन र जीवनोपयोगी प्रश्नहरूको जवाफ दिने प्रयास यस पुस्तकमा गरिएको छ ।
यी विषयहरू बुझिसकेपछि भाग ‘ख’मा रहेको श्रीमद् भगवद्गीताका अठार अध्यायको सरल अनुवाद झनै स्वादिष्ट लाग्दछ ।
यसअघि नै अधिकारीले ‘विश्वगीता’ प्रकाशन गरिसकेका छन् । ‘विश्वगीता’मा उनले गीता के हो भनेर चिनारी दिँदै वर्तमान समयका व्यावहारिक उदाहरणसहित अठारवटा अध्यायको व्याख्या गरेका छन् । उनले अठारै अध्यायका श्लोकको नेपाली अनुवाद समेत गरेका छन् ।
लेखकले कतिपय पौराणिक विषयवस्तुलाई आधुनिकताको कसीमा परख गरेका छन् ।
पछिल्लो पुस्तक ‘गीता मन्थन’मा गीतालाई विभिन्न कोणबाट देखाउने, चिनाउने र जीवनजगत्सँग आबद्ध गराउन लागिपरेका छन् । विशेषतः श्रीमद् भगवद्गीतालाई एक धर्मग्रन्थका रूपमा मात्र बुझ्ने गरिएकोले गीताका जनउपयोगी ज्ञानको भण्डारबाट बहुसंख्यक व्यक्तिहरू वञ्चित हुनुपरेकोमा उनलाई चिन्ता छ ।
यो साहित्यिक कृति पढेर जीवन र जगत्लाई बुझ्ने र सहज जीवनयापन गर्ने मार्गप्रशस्त गरिदिनु नै कृतिकारको मूल उद्देश्य देखिन्छ ।
यो पुस्तक अंग्रेजी भाषामा समेत अनुवाद गरी विश्वभर छरिएर रहेका नेपालीका हातहातमा पुर्याउने अभियानका रूपमा लाग्न सके उनको उद्देश्य परिपूर्ति हुने कुरामा शंका गर्नु पर्दैन ।
गीताको सारतत्त्वले सन्तुलित जीवन बाँच्न प्रेरित गर्दछ । मानिसलाई हर्ष या पीडा आफ्नो कारणले नआउने हुँदा हर्ष र पीडालाई समान रूपले बोध गर्न आह्वान गर्दछ ।
ताप र शीतलता, सुख र दुःख, मान र अपमानमा समान दृष्टि र समान व्यवहार गर्न यस पुस्तकले मार्गप्रशस्त गर्दछ, जसले गर्दा व्यक्ति प्रसन्न भई शान्तिसँग बाँच्न सक्दछ ।
आजका मानिस एकातर्फ प्रविधिको विकास एवं विश्वव्यापीकरणका प्रभावले लोभ, पाप, माया, मोहको दलदलमा फसिरहेका छन् । अर्कोतर्फ, जीवन र जगत्बारे नबुझेर व्यक्तिले आफूलाई कर्ताका रूपमा देख्ने गर्दछ र असफल हुँदा या पीडाबोध हुँदा दुःखी हुन्छ । फलस्वरूप आजका दिनमा विश्वस्तरमा नै नैराश्यतालगायत मानसिक समस्या पनि बढिरहेका छन् । यसबाट मुक्ति पाउने अचुक औषधि बन्न सक्छ श्रीमद् भगवद्गीता । खुसी र सुखी जीवन जिउने सहज मार्ग बन्न सक्छ श्रीमद् भगवद्गीता ।
२८८ पृष्ठको रु ३०० मूल्य राखिएको यो पुस्तक निश्चय पनि पठनीय छ । प्रवासमा रहेर पनि नेपाली साहित्यको श्रीवृद्विमा लागिपरेका विद्वान् लेखक अधिकारीको लेखनले सगरमाथा चुमोस् । टन्न शुभकामना !