site stats
बाह्रखरी :: Baahrakhari
देश
घाइते सिरा भन्छन्– आधा घण्टा भिरको घाँस समाएर बाँचे

सुर्खेत । हुम्ला चंखेली गाउँपालिका–४ स्थित देशी खोलामा शुक्रबार बिहान करिब १० बजे भएको जिप दुर्घटनाका चारजना घाइतेहरूको अहिले प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । 

अन्य घाइतेहरू हुम्ला जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य संस्थामा उपचारपश्चात केही घाइते रिफर भइसकेका छन् । केहीको स्थानीयस्तरमै उपचार भइरहेको छ । 

उक्त दुघर्टनामा अहिलेसम्म चारजनाको मृत्यु भइसकेको छ । दुर्घटनामा घाइते भएका हुम्ला चंखेली गाउँपालिका–६ मेल्छामका कैलाश सिरा आफू भाग्यले बाँचेको बताउँछन् । उनी शुक्रबार बिहान आफ्नो गाउँ मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लांग जाँदै थिए । 

पालिका केन्द्र पिप्लांग पुग्न थोरै बाँकी रहँदा गाडी उकालो लागेको थियो । तर, कतिखेर गाडी तल खस्यो भन्ने उनलाई कुनै पत्तो भएन । 

“उकालो लागेको गाडी एक्कासी पल्टिएर तीन सय मिटरभन्दा तल खस्दा हामी सबै गाडीको झ्यालबाट बाहिर निस्किएका रहेछौँ, त्यो मैले कुनै पत्तो पाइनँ,” घाइते सिराले भने, “अरु सबै बेहोस अवस्थामा थिए । म घाँस समाएर आधा घण्टा जति त्यहीँ अड्किएर बाँचेको हुँ । एक हातले घाँस समाएर आफूलाई बचाएको थिएँ भने एक हातले एकजना भाइलाई फोन गरेर दुर्घटनाबारे जानकारी गराएँ ।”

घाइते सिराका अनुसार उनले दुघर्टनाबारे जानकारी गराएको आधा घण्टापछि मात्र घाइतेहरूको उद्धारको लागि त्यहाँ स्थानीय र प्रहरी पुगेका थिए । 

त्यसपछि उनीहरूको शुक्रबार बेलुका मात्र हेलिकोप्टरमार्फत सिरासहित चारजनालाई प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको थियो । 

घाइते सिरासँगै त्यो गाडीमा सवार उनकी २२ वर्षीया बहिनी पार्वती बुढा, उनका दुई वर्षीय भान्जा देवांस बुढा, उनका बहिनी ज्वाईं मनवीर बुढा पनि यात्रामा थिए । उनका बहिनी ज्वाईं मनवरि बुढाको घटनास्थलमै मृत्यु भइसकेको छ । उनका दुई वर्षीय भान्जा देवांसको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको छ । 

अहिले प्रदेश अस्पताल सुर्खेतमा हुम्ला सिमकोट गाउँपालिका – ८ का वडा सचिव महेन्द्र रोकाया, कैलाश सिरा, बहादुर लामा र पार्वती बुढाको उपचार भइरहेको छ । उनीहरूको अवस्था अहिले सामान्य रहेको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ । 

शुक्रबार बिहान चंखेली गाउँपालिकाको मेल्छामबाट पिप्लांग जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप सडकबाट करिब तीन सय मिटर तल खसेर दुघर्टना भएको थियो । उक्त जिपमा १२ जना सवार थिए । 

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्