site stats
बाह्रखरी :: Baahrakhari
देश
भूपू सैनिकले भने– सेनालाई मूर्ख संस्था नसोचियोस्

काठमाडौं । भूतपूर्व सैनिकले नेपाली सेनालाई लाञ्छना लगाउने काम नगर्न आग्रह गरेका छन् ।

शनिबार (असोज २५) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अवकाशप्राप्त सेनानी थमनबहादुर बस्नेत, पूर्वउपरथी राजेन्द्र थापा, पूर्वसहायक रथी भरतबहादुर रायमाझी, पूर्वसहायक रथी डा. प्रेमसिंह बस्न्यात, अवकाशप्राप्त सेनानी वासुदेव अधिकारीलगायतले ‘जेनजी’ आन्दोलनका क्रममा सेनाले बल प्रयोग नगरेकै कारण मुलुक सुरक्षित अवतरणको बाटोमा गएको भन्दै लाञ्छना लगाउने काम नगर्न आग्रह गरेका हुन् ।

पूर्वसहायक रथी डा. बस्न्यातले जेनजी आन्दोलनका क्रममा नेपाली सेनाले राष्ट्रका निम्ति काम गरेको बताए । सेनाले राम्रो काम गर्दा बदनाम सहनुपरेको उनको भनाइ छ ।

केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेतालाई राष्ट्रिय सुरक्षा परिषद्को नियम, सैनिक ऐन हेर्न र सेनालाई मूर्ख संस्था नसोच्न उनले सुझाव दिए ।

अवकाशप्राप्त सेनानी अधिकारीले जेनजी आन्दोलनका क्रममा धेरैजनाको ज्यान जानबाट सेनाले जोगाइदिएको जिकिर गरे । राष्ट्रलाई असर पर्ने गरी नलेख्न र नबोलिदिन समेत उनले सबैलाई आग्रह गरे । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  १७:४९
प्रतिक्रिया दिनुहोस्