काठमाडौं । जर्मनीले सन् २०२६ मा हुने फिफा विश्वकप छनोटमा लक्जेमबर्गविरुद्ध फराकिलो जित निकालेको छ । शनिबार जर्मनीले युरोपियन क्षेत्रीय छनोटअन्तर्गत लक्जेमबर्गलाई ४–० ले हराएको हो ।
फिफा विश्वकपको पाँचपटकको विजेता जर्मनीको जितमा जोशुवा किमिचले दुई गोल गरे । सेर्ज गेनाब्री र डेभिड रौमले समान एक गोल गरे । जर्मनीले पहिलो र दोस्रो हाफमा समान दुई गोल गरेको हो ।
खेलको १२औँ मिनेटमा रौमले जर्मनीलाई अग्रता दिलाएका थिए । २०औँ मिनेटमा लक्जेम्बर्गका डिर्क कार्लसनले रातो कार्डको दर्शन गरेपछि टोली १० खेलाडीमा सीमित भएको थियो ।
२१औँ मिनेटमा जर्मनीका किमिचले पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाए । ४८औँ मिनेटमा गेनाब्रीले गोल गरेपछि जर्मनीले लक्जेम्बर्गमाथि ३–० को अग्रता कायम गर्यो । ५०औँ मिनेटमा किमिचको दोस्रो गोलसँगै टोलीले ४–० को जित हासिल गर्यो ।
जितसँगै छनोटको समूह ‘ए’मा जर्मनीको ६ अंक भएको छ । जर्मनीले अब लक्जेम्बर्गविरुद्धको दोस्रो लेग आउँदो नोभेम्बर ५ मा खेल्नेछ । पराजित लक्जेम्बर्ग समूहको पुछारमा छ ।