काठमाडौं । जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालयबाट लुटिएको हतियारसहित प्रहरीले शनिबार झापाबाट आठ जनालाई पक्राउ गर्यो । दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर ए को छाप्रोबाट पक्राउ परेका आदित्य लिम्बूको साथबाट हतियार बरामद भएको हो ।
‘जेनजी आन्दोलन’ का क्रममा ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने समूहमा लिम्बुुसहितका युवा थिए ।
उनीहरुसँगै प्रहरीले मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल, साजन थापा, दिपेश तामाङ, सनम राई, पविन विश्वकर्मा, सुचन दर्जी र विजय माझीलाई पक्राउ परेको गरेको छ ।
उनीहरुको साथबाट प्रहरीले खानतलासी गर्ने क्रममा ७ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगरसमेत बरामद गरेको छ । भदौ २४ मा जेनजी प्रदर्शनका क्रममा काठमाडौंबाट लुटेको प्रहरीको पेस्तोलसहित असोज २१ गते समेत कैलालीबाट एकजना लागऔषधसहित पक्राउ परेका थिए ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीको टोलीले घोडाघोडी नगरपालिका– १का २३ वर्षिय आकाश शाहीलाई प्रहरीको टाइप– ५४ लेखिएको चाइनिज पेस्तोलसहित पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार उनी लागुऔषध प्रयोग गरेर नशामा लठ्ठिएको अवस्थामा फेला परेका थिए ।
यसअघिसमेत उनीविरुद्ध लागुऔषध मुद्दामा सुख्खडबाट मुद्दा चलेको खुलको छ । जेनजी प्रदर्शनका क्रममा देशभरबाट प्रहरीका हतियार लुटिएका थिए भने कार्यालयमा आगजनी भएको थियो । यसरी प्रहरीको लुटिएको हतियार आपराधिक समूह र लागूऔषध कारोबारीहरुको हातमा पुगेको आशंका प्रहरीको छ ।
कैलाली र झापामा लागुऔषध कारोबारीसित हतियार फेला परेका घटनाले हतियार लागुऔषध कारोबारीको हातमा पुगेको आंशका प्रहरीले गरेको छ । उसो त प्रदर्शनका क्रममा अधिकांश युवाहरुले विभिन्न प्रकारका लागुऔषधसमेत प्रयोग गरेर आएको दाबी प्रहरीले गरेको छ ।
कति थिए प्रदर्शनमा लुटिएका हातियार ?
प्रहरी प्रधान कार्यालयले भदौ २४ गतेको प्रदर्शनमा लुटिएको हतियारबारे छानबिन गर्न समिति नै बनाएको थियो । प्रहरी प्रधान कार्यालयले डीआईजी दिपक रेग्मीको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।
उक्त समितिको रिपोर्टअनुसार देशभरबाट एक हजार २८१ हतियार लुटिएका थिए । त्यसमध्ये सबैभन्दा बढी हतियार काठमाडौंबाट लुटिएका थिए । काठमाडौंबाट मात्रै एकहजार १७ थान हातियार लुटिएको रेकर्ड प्रहरीसँग छ ।
लुटिएकामध्ये सबैभन्दा धेरै साना हतियार छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सटगन ११७ थान, पेस्तोल ३४६ थान, रिभल्बर ७५ थान हराएका थिए ।
यीबाहेक राईफल ५५४, ग्यास गन १५९, टेजर गन ३० वटा लुटिएका थिए । यसरी लुटिएका हतियारमध्ये हालसम्म करिब तीन सय हतियार प्रहरीले विभिन्न ठाउँबाट बरामद गरेको छ । प्रहरी अधिकारीका अनुसार यसरी लुटिएका हतियारको दुरुपयोग हुँदा सुरक्षा चुनौती देखिएको छ ।
प्रहरीले प्रदर्शनका क्रममा लुटिएको हतियार बुझाउन पटक–पटक सूचना जारी गर्दासमेत बुझाएका छैनन् । प्रहरी अधिकारीका अनुसार आपराधिक समूह र लागुऔषध कारोबारीका हातमा पुगेका कारण फिर्ता आउन ढिलाई भएको दाबी गरेको छ ।
प्रहरीका अनुसार काठमाडौंबाट हराएका हतियार उपत्यका बाहिरसमेत पुग्न थालेको दाबी गरेको छ । हतियारसँगै एक हजार ६८७ थान गोलीसमेत लुटिएको थियो ।
