काठमाडौं । जेनजी अभियन्ता मिरज ढुंगानाले रु ५०० र हजारका नोटबन्दी गर्न माग गरेका छन् । पहिलोपटक पत्रकार सम्मेलन गरेका अभियन्ता ढुंगानाले निर्वाचनमा आर्थिक चलखेल हुने र त्यसले परिणामलाई प्रभावित पार्ने भन्दै नोटबन्दी गर्न माग गरेका हुन् । उनले अवैध रूपमा थुपारिएको कालोधन नियन्त्रणका लागि पनि नोटबन्दी उपयोगी हुने तर्क गरे ।
"अब रु ५०० र हजारका नोट निश्चित समय सूचना दिएर बन्द गरिनुपर्छ । त्यसपछि तिनै नम्बरका नोट पुनः छापेपछि मान्यता दिन सकिन्छ," ढुंगानाले भने, "त्यसो गर्दा अवैध रूपमा थुपारिएको कालो धन नियन्त्रण सहज हुन्छ । साथै, निर्वाचन प्रभावित पार्ने सम्भावना पनि न्यून हुन्छ ।"
ढुंगानाले यसबारे चाँडै सरकारलाई सुझाव दिने र निर्णय कार्यान्वयन गर्न बाध्य पार्ने पनि बताए । पत्रकार सम्मेलनमार्फत ढुंगानाले विदेशमा बस्ने नेपालीहरूलाई मतदान र प्रत्यक्ष निर्वाचित कार्यकारी आफूहरूको बटमलाइन भएको दोहोर्याए ।