काठमाडौं । केही श्रम गन्तव्य राष्ट्रले नेपालीलाई दिँदै आएको भिसामा कडाइ गरेपछि वैदेशिक रोजगारीमा जानेको संख्या घट्न थालेको छ ।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा ठूलो संख्यामा कैदी/बन्दी नेपालका कारागारबाट भागेपछि युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरब, मलेसियालगायतका राष्ट्रले भिसामा कडाइ गर्दा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा गिरावट आएको पाइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार, जेनजी प्रदर्शनभन्दा अगाडिको १५ दिनमा अर्थात् भदौ ८ देखि २२ गतेसम्मको १५ दिनको अवधिमा ३७ हजार ५६३ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।
भदौ २३ गतेभन्दा अगाडिको १५ दिनमा औसतमा प्रत्येक दिन दुई हजार ५०४ जना नेपाली वैदेशिक रोजगारीमा गएको कार्यालयको तथ्याङ्कले देखाउँछ । जेनजी प्रदर्शनपछिको ३३ दिन अर्थात् २०८२ भदौ २५ गतेदेखि असोज २६ गतेसम्मको अवधिमा ६७ हजार २१८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
जेनजी प्रदर्शनपछिको ३३ दिनमा औसतमा प्रत्येक दिन दुई हजार ३६ जना नेपाली वैदेशिक रोजगारीमा गएको देखिन्छ । जेनजी प्रदर्शन अघिभन्दा पछिका दिनहरुमा वैदेशिक रोजगारीमा जानेको संख्या दैनिक औसतमा ४६८ ले कमी आएको छ ।
“जेनजी प्रदर्शन लगत्तै दसैँ परेका कारण वैदेशिक रोजगारीमा जानेको संख्या थोरै घट्नु स्वाभाविक हो । तर यति ठूलो संख्यामा घट्दैनथ्यो । यसअघिका दसैँमा यति ठूलो संख्यामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको थिएन,” अध्यागमन कार्यालय स्रोतले भन्यो ।
जेनजी प्रदर्शनपछि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या पनि घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार, २०८२ भदौमा वैदेशिक रोजगारीमा जान ६७ हजार ९७२ जनाले श्रम स्वीकृति लिएका थिए ।
गत भदौ महिनामा औसतमा दैनिक दुईहजार १९२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाउँछ । २०८२ असोज १ गतेदेखि २८ गतेसम्मको अवधिमा ५० हजार १३४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
असोज १ देखि २८ गतेसम्मको अवधिमा औसतमा दैनिक एकहजार ७९० जनाले श्रम स्वीकृति लिएका छन् । भदौमा भन्दा असोजमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा दैनिक औसतमा ४०२ ले कमी आएको छ ।
“चाडवाड, केही देशले भिसामा गरेको कडाइ र आन्दोलनले गर्दा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा कमी आएको देखिन्छ,” वैदेशिक रोजगार विभागका निर्देशक टिकाराम ढकालले बाह्रखरीसँग भने ।
गतवर्षको भदौको तुलनामा असोजमा यति ठूलो संख्यामा श्रम स्वीकृति लिनेको संख्यामा कमी आएको थिएन ।
२०८१ भदौमा वैदेशिक रोजगारीमा जान विभागबाट ५७ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका थिए । उक्त महिना औसतमा दैनिक एकहजार ८५४ जनाले श्रम स्वीकृति लिएका थिए ।
२०८१ असोजमा विभागबाट ५३ हजार ५२५ जनाले श्रम स्वीकृति लिएका थिए । गतवर्ष पनि असोजमा दसैँ परेको थियो । गत वर्षको असोजमा औसतमा दैनिक एकहजार ७८४ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाउँछ ।
गतवर्षको भदौको तुलनामा असोजमा औसतमा दैनिक श्रम स्वीकृति लिनेको संख्या ७० ले कमि आएको थियो, तर यस वर्ष यो ४०२ पुगेको छ । यूएई, साउदी अरब, मलेसियालगायतका देशले नेपालीलाई दिँदै आएको भिजिट भिसामा मात्र होइन ‘वर्किङ भिसा’ मा समेत कडाइ गरेका छन् ।
जेनजी प्रदर्शनका क्रममा भागेका कैदी/बन्दी कारागार नफर्केसम्म भिसामा गरिएको कडाइ कायम रहने सन्देश ती देशले नेपालीलाई दिएका छन् ।
कारागार व्यवस्थापन विभागका अनुसार, जेनजी प्रदर्शनका क्रममा ३० हजार ६४६ कैदी/बन्दीमध्ये १४ हजार ५५३ जना कारागारबाट भागेका थिए । भागेका कैदीबन्दीमध्ये नौ हजार ११ जना कारागारमा फर्किइसकेका छन् भने पाँचहजार ५३७ जना अझै फरार छन् ।
कारागार व्यवस्थापन विभागले पटक–पटक सूचना निकाली भागेका कैदी/बन्दीलाई कारागार फर्कनू भनेको छ । तर ठूलो संख्यामा कैदीबन्दी अझै फर्केका छैनन् । फरार कैदी/बन्दीमध्ये ६४८ जना विदेशी छन्, जसमा भारतीयको संख्या ५४० छ ।
भागेका कैदी/बन्दी आफ्नो देशमा आउनसक्ने खतरा देखेपछि केही श्रम गन्तव्य राष्ट्रले नेपालीलाई दिँदै आएको भिजिट भिसा र वर्किङ भिसामा कडाई गरेका हुन् । श्रम गन्तव्य राष्ट्रले भिसामा कडाइ गर्दा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमि आएको हो ।
पछिल्ला वर्षहरुमा वैदेशिक रोजगारीका लागि सबैभन्दा ठूलो संख्यामा नेपाली यूएई जाने गर्छन् । गत भदौ महिनामा मात्र यूएई जान २५ हजार २१८ जना नेपालीले श्रम स्वीकृति लिएका थिए ।
यस असोज महिनाको १ देखि २८ गतेसम्म यूएई जान श्रम स्वीकृति लिनेको संख्या १५ हजार २८५ छ । भदौको तुलनामा असोजमा यूएई जान श्रम स्वीकृति लिनेको संख्यामा झन्डै १० हजारले कमी आएको छ ।
श्रम गन्तव्य राष्ट्रले लामो समय नेपालीलाई दिँदै आएको भिसामा कडाइ गरे यसले नेपाल भित्रने रेमिट्यान्समा समेत असर गर्ने देखिन्छ ।
