काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आईसीसी एसिया–प्यासिफिक क्षेत्रीय फाइनल सुपर–६ को तेस्रो खेलमा आज ओमानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपाली टिमले आजको खेलमा जित निकाले समग्रमा तेस्रोपटक विश्वकपमा स्थान सुरक्षित गर्नेछ । नेपाली टिमले यसअघि सन् २०१४ मा पहिलो पटक र २०२४ मा दोस्रोपटक टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो ।
तालिकाको दोस्रो स्थानमा रहेको नेपालले बुधबार घरेलु टिम ओमानसँग अल अमेरतमै खेल्ने तालिका छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ । नेपालविरुद्ध मैदान उत्रिँदा ओमानको लक्ष्य पनि यही हुनेछ । ६ अंकसहित नेपाललाई नेट रनरेटमा पछि पार्दै शीर्ष स्थानमा आसिन ओमानले पनि यस खेलमा जित निकाल्न सके विश्वकप यात्रा तय गर्नेछ ।
नेपालले यसअघि सुपर–६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध एक रनको र कतारविरुद्ध पाँच रनको जित निकालेको थियो । ओमानपछि नेपालले सुपर–६ को अन्तिम खेलमा समाओविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
‘हेड टू हेड’
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टिमबीच हालसम्म आठपटक प्रतिस्पर्धा भएको छ । जसमा ओमानविरुद्ध नेपाली टिमले पाँचपटक जित निकालेको छ । यसैगरी, तीन खेलमा ओमानले जित निकालेको छ । यी तीनमध्ये ओमानले एक खेल सुपर ओभरमा जितेको थियो ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलोपटक सन् २०१९ को अक्टोबर १० मा प्रतिस्पर्धा गरेको थियो । अल अमेरतमै भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । यस्तै, नेपालले पछिल्लोपटक सन् २०२४ को अक्टोबर २ मा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा पनि नेपालले ओमानलाई ५६ रनले हराएको थियो ।
आज प्रतिस्पर्धा हुने मैदान अल अमेरतमा हालसम्म यी दुई टिमले चारपटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । अल अमेरतमा पनि घरेलु टिमविरुद्ध नेपाल नै हाबी रहेको पाइन्छ । यी चारखेलमध्ये नेपालले तीनपटक ओमानलाई हराउँदा ओमानले एक खेल जितेको तथ्यांक छ ।
वरीयतामा पनि नेपालअघि
विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीको टी–२० वरीयतामा पनि ओमानभन्दा नेपाल अघि छ । वरीयतामा हिजो (मंगलबार) मात्रै एक स्थान सुधार गरेको नेपाल १७औँ स्थानमा छ । यता, ओमान भने वरीयताको २०औँ स्थानमा छ ।