काठमाडौं । जेनजी प्रदर्शनको महिना दिन नाघिसक्दा पनि प्रहरीको गोली लागेर घाइते भएका केही अझै अस्पतालको बेडमै छन् ।
राष्ट्रिय ट्रमा सेन्टरको बेड नम्बर ५०१ मा तुलसीपुर नगरपालिका–६ का २१ वर्षीय सुरेश पोखरेल छन् । गएको भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा उनी नयाँ बानेश्वर पुगेका थिए । प्रदर्शनले उग्ररूप लिएपछि प्रहरीले चलाएको गोली उनको तिघ्रामा लागेर ढले । त्यसपछि उपचारका लागि ट्रमा सेन्टर पुगेका थिए ।
अहिलेसम्म सुरेशको पाँचपटक अपरेसन भइसकेको छ । “अहिलेसम्म मेरो पाँचपटक अपरेसन भइसकेको छ । अझै कति दिनसम्म बस्नुपर्ने हो,” उनले भने ।
आफूहरूले देशमा आमूल परिवर्तनका लागि गोली खाए पनि कुनै परिवर्तनको महसुस नभएको उनी बताउँछन् । सरकारले घाइतेलाई पूर्णरूपमा बेवास्ता गरेको सुरेशको गुनासो छ ।
“प्रदर्शनका गोली लागेर घाइते भएका हामीहरू यस्तो अवस्थामा छौँ । गोली खाएर अंगभंग भएका साथीहरूको जीवनको ‘ग्यारेन्टी’ कसले गराउने ? उनीहरूको उपचार, घाइतेहरूलाई पहिलेकै अवस्थामा फर्काउन के गर्ने ? यसबारे सरकार बेखबर छ,” सुरेशले भने ।
सरकारले घाइतेहरूका माग पूरा गर्न नसकेको उनले बताए । “सरकारमा हालीमुहाली छ । गोली खाएका घाइतेहरूलाई अन्याय भयो । अहिले सरकारले हाम्रा मागहरू सुन्दैन,” उनले भने ।
महिना दिन बितिसक्दा पनि सरकारको मन्त्रिपरिषद्ले पूर्णता नपाउनु दुर्भाग्य भएको उनी बताउँछन् । भन्छन्, “सरकार बनेको महिनौँ दिन बितिसक्यो । तर, मन्त्रिपरिषद् नै पूर्ण हुन सकेको छैन । भ्रष्टाचारीहरूलाई जेल हाल्न पनि सकेन ।”
उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेनजी अगुवा सुधन गुरुङप्रति पनि आक्रोशित छन् । आफू बालेनलाई सत्तामा ल्याउन लडेको तर बालेनले घात गरेको उनको बुझाइ छ ।
“बालेनलाई ल्याउनका लागि हामीले गोली पनि खायौँ । २४ घण्टामा सत्ता पनि ढाल्यौँ । तर, बालेनले जेनजीमाथि ठूलो विश्वासघात गरे । म बालेनको नाम सुन्न पनि चाहन्नँ । रिस उठ्छ । एकपटक पनि अस्पतालमा भेट्न नआएको सुधन अहिले राज्यसत्तामा हालीमुहाली गर्दै छ,” उनी भन्छन् ।
नायब सुब्बा बन्ने राकेशको सपना बेडमै
सर्लाहीका २७ वर्षीय राकेश कुमार महतो पनि जेनजी प्रदर्शनका दिन नयाँ बानेश्वर पुगेका थिए । ढाडमा गोली लागेर घाइते भएका उनी पनि ट्रमा सेन्टरको पाँचौँ तलामा उपचाररत छन् । काठमाडौं डेरा गरेर बसेका उनले बीबीए सकाएर नायब सुब्बाको तयारी गरिरहेका थिए ।
चिकित्सकले उनलाई ढाडमा गोली लागेर स्पाइनल कट इन्जुरी भएको बताएका छन् । “ढाडमा गोली लागेको थियो । दुवै खुट्टा चल्दैनन् । कम्मरभन्दा मुनी सेन्सेसन छैन । डाक्टरले स्पाइनल कट इन्जुरी भएको बताउनुभएको छ,” उनले भने ।
स्पाइनल कट इन्जुरी भएका अधिकांश बिरामी पुरानै अवस्थामा नफर्किने उनले बुझेका छन् । “यस्तो अवस्थामा बिरामी कमै निको हुँदा रहेछन् । नायब सुब्बाको तयारी गरिरहेको थिएँ । अब यस्तो अवस्था छ । अबका दिनहरू बेडमै बिताउनुपर्छ कि भन्ने चिन्ता छ,” उनले भने ।
घरका तीनजना दाजुभाइमध्ये आफूले मात्रै पढेको उनले बताए । “घरका तीनजना दाजुभाइमध्ये म कान्छो हो । सबै मिलेर मलाई पढाउनुभएको थियो । अहिले यस्तो अवस्था भयो । देशमा परिवर्तन त आउला । तर, मेरो पीडा कसले बुझिदिने ? नयाँ सरकार त आयो । तर, म पहिले जस्तै हिँड्न सक्छु कि सक्दिन, थाहा छैन,” उनले थपे ।
राकेशको अपरेसन सकिएर नर्मल वार्डमा उपचार भइरहेको छ ।
अझै अस्पतालमै छन् १९ जना घाइते
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, अझै पनि विभिन्न अस्पतालमा जेनजी प्रदर्शनका १९ जना घाइते उपचाररत छन् ।
राष्ट्रिय ट्रमा सेन्टरमा आठ, त्रिवि शिक्षण अस्पतालमा तीन, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक, नोबेल मेडिकल कलेजमा एक जनाको उपचार भइरहेको छ । अन्य ६ जना जेनजीका घाइतेहरूको पनि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, बी एन्ड बी अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार, जेजनी प्रदर्शनका क्रममा कुल दुई हजार ३१६ जना घाइते भएका थिए । जसमध्ये उपचारका क्रममा ४९ जनाको मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार, जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली र आगजनीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।
जेनजी क्लिनिकमा ‘फलोअप’
स्वास्थ्य मन्त्रालयले जेनजीका घाइतेहरूलाई थप उपचार र ‘फलोअप’का लागि विभिन्न १६ वटा अस्पताल तोकेर जेनजी क्लिनिक सञ्चालन गरिएको छ ।
“विभिन्न अस्पतालमा १९ जना घाइतेको उपचार भइरहेको छ । जेनजी घाइतेहरूकै लागि १६ वटा अस्पतालहरूमा जेनजी क्लिनिक सञ्चालन गरिएको छ,” प्रवक्ता बुढाथोकीले भने ।
जेनजी क्लिनिकमा जेनजीका घाइतेहरूको फास्ट ट्र्याकमा उपचार हुने मन्त्रालयले जनाएको छ । “जेनजीका घाइतेहरूले दुःख नपाऊन् भनेर जेनजी क्लिनिक सञ्चालन गरिएको हो । फोकल पर्सन तोकेर उहाँहरूको फास्ट ट्र्याकमा ‘फलोअप’ भइरहेको छ,” बुढाथोकीले भने ।
