site stats
बाह्रखरी :: Baahrakhari
देश
उपभोक्ता समितिका नाममा साढे ३८ लाख घुस

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी क्षेत्र नं ४ ‘ख’बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य सरोज कुमार सिंहसमेत १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले उपभोक्ता समितिको नाममा साढे ३८ लाख रुपैयाँभन्दा बढी घुस रकम बुझेको दाबी गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारमा मुद्दा दायर गरेका अन्यमा धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुनाप्रसाद महतो, कोषाध्यक्ष कैशिल्या देवी, धर्मशाला एवं रामनारायणको घरदेखि रामवृक्षको गाछीसम्म निर्माण उपभोक्ता समितिको अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारी छन् ।
 
अधुरो कमलामाई मन्दिर र मालतमाईस्थानको कम्पाउन्ड वाल निर्माण उपभोक्ता समितिको अध्यक्ष रामनाथ सहनी र कोषाध्यक्ष स्वीकृती देवी भन्ने स्वीकृतिदेवी र माइस्थान मन्दिरको सौन्दर्यकरण उपभोक्ता समितिको अध्यक्ष रामशरण खत्वे र कोषाध्यक्ष बिभादेवी खत्वेविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

कञ्चनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समितिको अध्यक्ष रमेश मडर र कोषाध्यक्ष अमलेश कुमारी, देवी महारानी सौन्दर्यकरण निर्माण उपभोक्ता समितिको अध्यक्ष दीपाराज देवी राजपूत र कोषाध्यक्ष भिखारी राउत कुर्मी र रधवा पिपलदेखि सहसौला अनेरभाटदेखि जनता प्रावि हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्रकुमार झाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मुद्दा दायर गरेकामा रधवा पिपल हुँदै अनहेरभाट स्थानसम्म सडक स्तरोन्नती निर्माण उपभोक्ता समितिका अध्यक्ष शम्भुकुमार मण्डल, रधवा पिपलदेखि सहसौला अनेरभाटदेखि जनता प्रावि हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समिति र रधवा पिपल हुँदै अनहेरभाट स्थानसम्म सडक स्तरोन्नती निर्माण उपभोक्ता समितिको कोषाध्यक्ष मन्जुदेवी पासवान छन् ।

मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंह समेतले विभिन्न उपभोक्ता समितिको खाताहरूमा जम्मा भएको रकम आफ्नो स्वकीय सचिवमार्फत झिकी आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा उनीहरूले ३८ लाख ५० हजार ३९९ रुपैयाँ भ्रष्टाचार गरेको भेटिएपछि अख्तियारले मुद्दा दायर गरेको हो । 

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्