काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह (बालेन) र वडा नम्बर ११ का अध्यक्ष हिरालाल तण्डुकारबीच चर्काचर्की भएको छ । शुक्रबार बसेको बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच महानगरको भवन निर्माणको विषयमा चर्काचर्की भएको हो ।
तण्डुकारले महानगरको आफ्नो भवन निर्माण गर्न ढिलाइ भएको बताएका थिए । “जहिले पनि महानगर भाडाको घरमा बसेर हुन्छ ? नगर प्रहरीको कार्यालय पनि उस्तै छ । सुरुमा महानगरको भवन बनाउनुपर्यो । तपाईं आएकै यत्रो वर्ष भइसक्यो । जहिले पनि यस्तै भनिरहने ?,” उनले भने ।
जवाफमा बालेनले भने, “तिहारपछि सुरु हुन्छ । तिहारपछि सुरु होस् भन्न खोज्नुभाको कि नहोस् भन्न खोज्नुभाको हो । सुरु हुन्छ भनिसकेपछि...नगर भन्नुभाको हो ?”
तण्डुकारले फेरि भने, “यसमा छिटो गर्नुपर्यो ।”
त्यसपछि बालेनले जवाफ फर्काउँदै भने, “तिहार छिट्टै सकाइदिनुपर्यो ? दश दिनको तिहार आज मैले कसरी सकाऊँ ? आजै सकाउन मिल्छ ? ए ल ल ठिक छ, तिहारलाई छिटो सकिन भन्छु ।”
सुनधारास्थित जेडीए कम्प्लेक्सबाट ०७९ चैत ९ बुधबार गते महानगर मासिक ६० लाख भाडा बुझाउने गरी कमलादीस्थित काठमाडौँ प्लाजामा सरेको थियो । महानगरले जेडीए कम्प्लेक्सलाई पनि भाडा बुझाउँदै आएको थियो ।
महानगरका अनुसार, हाल ६० लाख ५० हजार भाडा बुझाउँदै आएको छ ।
बैठकमा वडाध्यक्षहरूले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा सिंहदरबारलगायत महत्त्वपूर्ण प्रशासनिक भवन आगजनी हुँदा महानगरको दमकल समयमा नपुगेको भन्दै मेयरमाथि प्रश्न उठाएका थिए ।