काठमाडौं । एएफसी एसियन यू–१७ महिला कप छनोटमा थाइल्यान्डविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती–११ सार्वजनिक भएको छ ।
शुक्रबार नेपाली राष्ट्रिय यू–१७ महिला फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले भूमिका बुढाथोकीको कप्तानीमा पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।
टोलीमा एक परिवर्तन भएको छ । यसअघि सम्पन्न तुर्केमिनिस्तानविरुद्धको खेलमा गोल पोस्ट सम्हालेकी झरना डुम्राकोटीको स्थानमा लक्ष्मी ओलीलाई मौका दिइएको हो ।
खेल थाइल्यान्डको चोनबुरी रंगशालामा नेपाली समयअनुसार ५ः१५ बजे हुनेछ ।
समूह ‘एफ’ अन्तर्गतको यो खेलमा नेपाल घरेलु टोलीलाई हराउनैपर्ने दबाबमा छ । नेपालले थाइल्यान्डलाई पराजित गरे सन् २०२६ मा चीनमा हुने एएफसी एसियन यू–१७ महिला कपमा स्थान बनाउन बाटो खुल्नेछ ।
यता समूहको शीर्ष टोली समेत रहेको थाइल्यान्ड अपराजित यात्रालाई कायम राख्ने कोसिसमा रहनेछ । थाइल्यान्डले तालिकामा तीन अंक जोडेको छ ।
समूह विजेताले एएफसी एसियन यू–१७ महिला कपमा स्थान बनाउने छ ।