site stats
बाह्रखरी :: Baahrakhari
देश
सार्वजनिक सम्पत्ति जोगाउन नसकेकोबारे सेनाले भन्यो– मानवीय सुरक्षा भौतिकभन्दा महत्त्वपूर्ण

काठमाडौं । जेनजी प्रदर्शनका बेला सार्वजनिक सम्पत्तिको संरक्षण गर्नबाट सेना चुकेको भन्दै आलोचना भइरहेका बेला सेनाले यसबारेमा स्पष्टीकरण दिएको छ । नेपाली सेनाले शुक्रबार जंगी अड्डामा पत्रकार सम्मेलनको आयोजना गरी स्पष्टीकरण दिएको हो ।

गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनकारीले देशभर सरकारी, निजी र व्यापारिक गरी एक हजार ५८० भवनमा तोडफोड तथा आगजनी गरेका थिए ।

सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति, मन्त्री क्वाटरलगायत भवनमा आगजनी हुँदा सेनाले सुरक्षा दिन नसकेको भनी व्यापक आलोचना बढेपछि बाध्य भएर सेनाले पत्रकार सम्मेलन गरी यस सम्बन्धमा स्पष्टीकरण दिएको हो ।

“ठूलो संख्यामा अत्यन्त आक्रोशित भिड सिंहदरबारभित्र छिरेपछि ठूलो मानवीय क्षतिको माध्यमबाट बाहेक नरोकिने स्पष्ट देखिन्थ्यो । समग्र घटनाहरूमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकताअनुसार पहल लिएको र मानवीय सुरक्षा भौतिक सुरक्षाभन्दा महत्त्वपूर्ण रहेको बुझाइ यहाँहरूलाई अनुरोध गर्दछु,” नेपाली सेनाका युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले भने ।

देशभर प्रदर्शन, तोडफोड र आगजनी भएको अवस्थामा अराजकता नियन्त्रण गर्न न्यूनतम शक्ति प्रयोग गर्दा पनि अराजक भिड पछाडि नहटिरहेको अवस्था त्यतिबेला रहेको उनले जनाए ।

“सिंहदरबारको कुरा गर्दा अत्यन्त संयमता अपनाई, घातक शक्तिभन्दा पनि कम क्षति हुने उपाय अपनाइएको हो । ४६ राउन्ड हवाई फायर, दुईदुईपटक मूल गेटबाट छिरेको भिडलाई भौतिकरूपमा ठेलेर, सम्झाएर बाहिर फर्काइएपछि ठूलो संख्यामा अत्यन्त आक्रोशित भिड भित्र छिरेको थियो । ठूलो मानवीय क्षतिको माध्यमबाट बाहेक नरोकिने स्पष्ट देखिन्थ्यो,” युद्धकार्य विभागका प्रमुख थापाले भने ।

हालको जेनजी आन्दोलनका विश्वव्यापी तरंग केही अघिबाटै देखिँदै आए पनि नेपालमा घटनाक्रम भने एउटा ‘इभोलुसन’को रूपमा क्रमबद्ध ढंगबाट नभई अचानक ‘इरप्सन’को रूपमा आएको उनले बताए ।

नेपाली सेनाले तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न सुरक्षा अवस्थाको वस्तुपरक ढंगले मूल्यांकन गरी आवश्यकताको सिद्धान्तलाई मनन गरी आवश्यक पहलकदमी लिएको उनले स्पष्ट पारे ।

त्यसपछिको परिस्थितिमा पनि नेपाली सेनाले अन्य सुरक्षा निकाय तथा राष्ट्रसेवक कर्मचारीहरूसँग समन्वयमा शान्ति, स्थिरता कायम राख्ने विषयमा काम गर्दै आएको जानकारी उनले दिए ।

“विशेषत: प्रतिरक्षा निकाय र अन्य सुरक्षा निकायहरूको आआफ्नो भूमिका हुन्छन् । तर, मूल उद्देश्य एउटै हो– नेपाल र नेपाली जनताको हित । यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागसँग नेपाली सेना काँधमा काँध मिलाई सहकार्य गरिरहेको छ,” युद्धकार्य विभागका प्रमुख थापाले भने ।

उनले जेनजी प्रदर्शनको बेला नेपाली सेनाले आफ्नो शक्ति प्रयोग नगरेको भन्दै आलोचना भइरहेकोबारे सेना जानकार रहेको बताए । तर, यसमा सत्यता नभएको उनले बताए ।

“किनभने सेनाको स्पष्ट प्राथमिकता जनधनको सुरक्षा र राष्ट्रिय एकता नै हो । सेनाको प्रत्येक कदम विवेकपूर्ण, राष्ट्रहिततर्फ हुनुपर्छ भन्ने हाम्रो अटल विश्वास रहँदै आएको छ,” उनले भने ।

राष्ट्रका महत्त्वपूर्ण भवनमा क्षति हुन निकै दुःखको कुरा भएको उनले बताए । उनले नेपाली सेनाले सधैँ राष्ट्रिय एकताको रक्षा गर्दै आइरहेको दाबी गरे ।

थप स्पष्ट पार्दै युद्धकार्य विभागका प्रमुख थापाले भने, “नेपाली सेना आफ्ना संविधानप्रदत्त जिम्मेवारीहरूबाहेक नेपाल सरकारबाट प्राप्त तथा समय र परिस्थितिबाट सृजित थप जिम्मेवारीहरू आत्मसात् गर्दै सुझबुझका साथ अगाडि बढ्दै आइरहेको छ ।”

देशभित्र सेनाको भूमिका बहुआयामिक रहँदै आएको उनले जनाए । भूकम्प, कोभिड महामारी, विपद्का समयमा जनताको हितमा सेनाले काम गर्दै आएको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्