अतीतको अनुभव, ज्ञान र उज्ज्वल भविष्यको कामनामा वर्तमानलाई जाँगरिलो बनाउनु आफ्नो धर्म, कर्म र पर्म हो । पुर्खाले रोपेको वर–पीपलको छहारी चौतारीमा बसेर भोग्यौँ, अब आउँदो पुस्ताका निम्ति केही गर्नु हाम्रो कर्तव्यमा पर्छ । अन्यथा मान्छेको बैरी आफैँ बनेको थाहै हुँदैन ।
‘खोलाछेउका चास र वैरीछेउको बास’ राम्रो हुँदैन भन्छन् । त्यसमाथि आफैँसँग वैरी भयो भने भलो कसरी होला ? विचार गर्नुपर्ने गुह्य कुरो यही छ ।
त्यसो त ‘कुरा गर्यो कुरैको दुःख’ हुने हाम्रो मानसिकतामा ‘अभागी भोगेर चेत्छ भाग्यमानी देखेरै चेत्छ’ भन्ने पनि जान्दैनौँ र ‘हुनेलाई जहीँतहीँ नहुनेलाई कहीँ न कहीँ’ भन्दै चित्त बुझाउँछौँ ।
आफ्नै पाखुरीमा जबसम्म आफ्नो विश्वास हुँदैन तबसम्म ‘उठ जोगी फटकार छाला जहाँ जाला भातै खाला’ भन्ने आँट आउँदैन । ‘एक माघले जाडो जाँदैन’ भन्ने जान्दाजान्दै पनि जंघार तरेपछि लौरो बिर्सनेहरूको कमी छैन । जहाँबाट त्यहाँसम्म बुट्यानमात्र छ ।
खोजी बस्दा, बर्खीबस्दा र रोजी हेर्दा पनि मान्छेको मजबूत के छ र कस्तो छ बुझ्नै सकिएन । त्यसैले यहाँ ‘चोरलाई चौतारी साधुलाई सुली’ को गरिमा र महिमा बढ्दो छ ।
यस्तै धामीमा ‘भाग्य तपाईंको जस मेरो’ भन्दै औषधीमूलो गर्ने धामी–झाँक्री पनि धमिलो पानीमा माछा मार्नमा लागिपरेकै छन् । त्यसो त ‘आयु छउञ्ज्याल वायुको पनि चेही चल्दैन’ भन्ने मान्यतालाई पनि स–सम्मान राखिएकै छ ।
अहिले हाम्रो अन्तर–कुन्तरमा आलस्यले थात–बास बनाएको छ, ‘ले बूढी डल्ला बसी बसी फोर्छु’ भन्ने अल्छीहरू बल्छीमै अल्मलिन्छन् । जाँगरिलाको त बयानै छैन, त्यसैले ‘अल्छीको बल्छी मर्दको जाल’ भनिने गरेको हो ।
यो हिसाबबाट अल्छीको गणना ‘नामर्द’मा हुन्छ र भएको छ, ‘भाग्यमा भए धुरीबाट ओइरिन्छ’ भनेर भाग्यका भरमा बस्नेहरू ‘भाग्यमा छ भनेर डोकोमा दूध दुहुनु हुन्न’ भन्ने पनि सम्झिँदैनन् ।
आफ्नै स्वार्थ र लाभका निम्ति चिन्ता र चिन्तन गर्ने यो पुस्ताले सबल, सक्षम र सम्पन्नताको प्राप्ति त परै जाओस् यसको कल्पना पनि गर्न सक्ने मानसिकता छैन, जताततै, ‘बाघको छालामा स्यालको रजाइँ’ भइरहेको छ ।
आफैँ बुन्ने र आफ्नै बनाउनेहरू ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ गर्नेहरू ‘गङ्गाजल झिकी सूर्यलाई अर्घ’ दिँदै ‘आए आँप गए झटारो’ गरिरहेछन् ।
यद्यपि ‘नहारे हिम्मत नछाडे हरिनाम’ भन्ने नै ‘भोकै त भजन पनि हुँदैन’ पर्यन्त भन्न पछाडि पर्दैनन् । ‘माछा भए दुलाँ हात सर्प भए पाखा हात’ गर्नेहरूको जगजगी छ ।
‘एक पन्थ दुई काज’ गर्दागर्दै ‘चौक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ मा परेर ‘मनको लड्डू घिउसँग खानु’ मा व्यस्त छन् । यस्तोमा ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ गर्नु स्वाभाविक हो ।
‘बन्दुकको गोली र मुखको बोली’ छुटेपछि छुट्यो छुट्यो । ‘तित्राको मुखै वैरी’ भएर यत्र, तत्र, सर्वत्र भाँडभैलो भएको छ । ‘मैना पिँजडामा परेको आफ्नै मीठो बोलीले’ नै हो । मान्छे कागलाई मन पराउँदैनन्, त्यस्तै रङ्गको कोइली सबैको प्रिय छ ।
‘कागभन्दा कोइली चङ्ख’ भनेर कोइलीको सम्मान पनि गर्ने गरिएको छ, ‘बिनादूधको बच्चा पाल्नु’ भन्दा पनि बिनागुँड बच्चा हुर्काउने काम कोइलीले ने गर्छ ।
अनेकन् दुःख र कष्ट गरेर सुखद् भविष्यका लागि कागले बनाएको गुँडमा कोइलीले फुल पारिदिन्छ र त्यो फुललाई आफ्नै सम्झेर ममतापूर्वक कोरलेर बच्चा निकाल्छ, त्यो बच्चालाई कागले आहारा ख्वाउँदा–ख्वाउँदा हुर्काएर उडेपछि कागले आफ्नो बच्चा नभएर कोइलीको भएको थाहा पाउँछ, तबसम्म कोइलीको बच्चा उड्न सक्ने भइसकेका हुन्छ ।
‘हिस्स बुढी ङिच्च दाँत’ भएको काग रिसाएर कराउँदा पनि अशुभ मान्ने हाम्रो परम्परा छ र ‘शुभबोल शुभबोल’ भन्दै कागलाई ठाउँ सार्न धपाइन्छ पनि !
कागको रागमा मीठास पनि हुँदैन र शुभ पनि हुँदैन भन्ने पुरानै मान्यता छ । ‘न गरी खानु न मरी जानु’ को बाध्यतामा परेका हामीमा ‘जुङ्गाको लडाइँ आफ्नै बडाइँ’ मा पर्दापर्दै ‘जाने बोल नजाने जिउको मोल’ मा गएर थकाइ मार्ने पराजय स्वीकार गर्ने क्षमतामा वृद्धि गराउनुछ र यो स्वतः हुनेछ पनि !
‘कान्लामुनी झार्यो अनि आँटरो पनि हान्यो’ भनाएर गर्व गर्नेहरू ‘आफैँले खनेको खाल्टोमा आफैँ परेको’ थाहा नै नभएर थेच्चारिनु पर्छ अनि ?
यहाँ हरेक खतरा र भयको सम्भावना छ, मान्छेमा संवेदनशीलता हराउँदै गएको छ । आफ्नो पुर्खाको परम्परा र सभ्यता तथा संस्कृतिको संरक्षण पनि हुन नसक्ने छाँटकाँट बसिसकेको छ ।
यसका विषयमा जे पनि सम्झाउन बुझाउन खोजे पनि ‘काग कराउँदैछ पिना सुक्दैछ’ हुने गरेको छ । हाम्रा बोली–वचनहरू ‘बसेर बोल्दा कसैले नसुन्ने उठेर बोल्दा हावाले उडाउने’ स्थितिमा परेको छ । आग्रह र अनुरोध पनि ‘डाक न बोलाउ लिँडे पुच्छर हल्लाउ’ भएको छ ।
‘गर्भको वात र सगरको बात के थाहा ?’ भन्छन् । तर यहाँ आधुनिकताको नाममा ‘बोकाले दाइँ हुने भए गोरू किन चाहियो ?’ भनेर उल्टै व्यङ्ग्यको पात्र बन्नुपरेको छ ।
त्यसो त यहाँ ‘द्यौता दिने पितृ हर्ने’ पनि भएकै छ । त्यसैले त ‘लहरो तान्दा पहरो गर्जने’ डर बढ्दै गएको हो अन्यथा ‘वस्तु खेद्नु पछि लागि, मान्छे खेद्नु अगि लागि’ भन्नैपर्ने थिएन ।
आजका तन्नेरी भने ‘राजाको राँगो फुकेझैँ’ गरेर मनपरी हिँड्ने र बोल्ने गरिरहेछन् र ‘तावाबाट उछिट्टिएर भुङ्ग्रोमा’ परेजस्तै भएर ‘पोहर मरिन् सासू अहिले आयो आँसु’ गर्ने पनि लेखो र ठेको छैन ।
तैपनि ‘रात रहे अग्राख पलाउला’ भन्ने आशा र विश्वासमा ‘दिँदा तेल नखाने रातिहुँदो कोल चाट्ने’हरूसँग पनि ‘सास छउञ्ज्याल आश’ गरेरै पर्खनुपरेको छ ।
र ‘मर्नुभन्दा बहुलाउनु निको’ भन्दै ‘नकच्चरोको के औषधी ?’ भन्ने मनसायबाट ‘कुकुरले धरो लगाओस् न कपास रोपोस्’ भनेर आफैँ स्थिर र शान्त हुनुछ ।
(साहित्यकार लीलासिंह कर्माको निबन्धकृति ‘मान्छे बन्नै सकिएन’ बाट ।)