काठमाडौं । जेनजी प्रदर्शनका क्रममा लुटिएका हतियार फिर्ता ल्याउन सरकारले संयुक्त सुरक्षा अपरेसन चलाउने भएको छ । गृह सचिवस्तरीय निर्णयका आधारमा आइतबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर हतियार फिर्ता ल्याउन संयुक्त अपरेसन चलाउन भनेको हो ।
“जेनजी पुस्ताको प्रदर्शनका क्रममा मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका वा लुटिएका हातहतियार र खरखजाना फिर्ता ल्याउन सबै सुरक्षा निकायहरूले कार्ययोजना बनाई संयुक्तरूपमा प्रभावकारी ‘सेक्युरिटी अपरेसन’ सञ्चालन गर्ने । अवैध हातहतियारको नियन्त्रण गर्न आवश्यक कार्य गर्ने,” गृह मन्त्रालयको निर्देशनमा भनिएको छ ।
निर्देशनमा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम सञ्चालन गर्दा अहिंसात्मक हुने गरी शान्तिपूर्ण ढंगबाट अन्य पक्षलाई उत्तेजित नपार्ने गरी गर्न भनिएको छ । यस्ता कार्यक्रम, सभा तथा सम्मेलन पूर्वस्वीकृति लिएर मात्र गर्ने व्यवस्था मिलाउन पनि निर्देशनमा भनिएको छ ।
“राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभाव पार्ने, अपराध नियन्त्रण र शान्ति सुरक्षामा गम्भीर असर पुर्याउनेलगायत महत्त्वपूर्ण घटनाको सूचना तत्कालै मन्त्रालय समक्ष प्रमुख जिल्ला अधिकारीले जाहेरी गर्ने,” निर्देशनमा भनिएको छ ।