काठमाडौं । प्रहरीको यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर ‘घुंग्रु’ भएको छ । विभिन्न भूमिकामा सक्रिय ‘घुंग्रु’लाई यस वर्षको उत्कृष्ट कुकुर घोषणा गरिएको हो ।
यस वर्षको उत्कृष्ट अपराध अनुसन्धान कुकुर ‘टाइगर’ बनेको छ ।
यम पञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाइन कार्यालय महाराजगन्जमा सोमबार आयोजित कार्यक्रममा कुकुर पूजासहित उत्कृष्ट काम गर्ने कुकुरलाई सम्मान गरिएको ।
साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. राम चन्द्र सत्यालले अपराध अनुसन्धान तथा सुरक्षा कार्यमा नेपाल प्रहरीको केनाइन सेवाले खेलेको महत्त्वपूर्ण भूमिका रहेको बताए ।