दिदीभाइहरू देशविदेशमा छरलिएपछि तिहार रमाइलो रहेन ।
पहिला गाउँमा हाकीलाई फलानाका सन्तान धेरै भन्थे । हुन पनि हामी ८ जना थियौँ । नयाँ पुस्ताका बच्चालाई त अहिले पत्याउन गाह्रो पर्ला । अहिले तिनै सन्तान देशविदेश लागेर घर शून्य भएकोछ । तिहारमा दाजुभाइ दिदीबहिनी सबै जुटेर टीका लगाएको त विसं २०५० तिर नै हो क्यारे । त्यसपछि त कोही कता कोही कता । सबै भेट्न गाह्रो । यस्तै रहेछ जिन्दगी । जे छ त्यही राम्रो मान्नुपर्ने रहेछ । भेट्न पनि विदेश पुग्नपर्ने अवस्था छ टीका लगाउनु त परै जाओस् ।
तिहारमा सुपारे फूलको माला लगाएर त्यसमाथि थुंगे फूलको मालासमेत लगाइन्थ्यो । सुपारे फूलको मालाले बिझाएर कति खेर खोलौ हुन्थ्यो । तिहार र दसैंका आआफ्नै रूपरंग थिए । तैपनि तिहार बढी रमाइलो लाग्थ्यो । किनभने बत्तीको चौतर्फी झिलीमिली, नानाभाँती रोटी, सेल, अर्सा, अनरसा र फिनीको परिकार, देउसी भैलो, गाई, गोर्वधन पूजा, लक्ष्मी पूजा बिछट्ट रमाइलो हुन्थ्यो । गाईपूजामा तोरण टाँगिन्थ्यो । यता सहरमा सबै कुरा 'रेडिमेड' । पैसो कमाउन सके बजारबाट किन्यो ल्यायो ।
अहिले त भाइटीका कृत्रिमताको चाड भएको छ । कहाँको गाई पाउनु, गोर्वधन पूजा गर्नु ? खाली रंगोलीमा सीमित भयो । जुवा खेल्न जानेका छन् । सहरमा त चिट्ठी पठाएर पो देउसीभैलो खेल्न आउँछन् । मौलिक गीत नभएर ढ्याङ्ग्रो म्युजिकमा 'काँटा लगा', 'अरेली काँडाले' जस्ता उत्ताउला गीतमा नाँच्छन् । कहाँको 'रातो माटो चिप्लो बाटो' । पहिला गाउँमा भैलोबाट विद्यालय मर्मत गर्ने स्रोत जुटाउँथे अहिले त भैलो खेलेर 'पिकनिक' जान्छन् । त्यो बेला भैलो देउसी खलेर कराई खाएको अझै याद छ ।
दिदीबहिनी नहुने दाजुभाइले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गएर टीका लगाउने छ चलन काठमाडौंमा । एकल परिवार, स्वार्थी समाज र एक सन्तानमात्र भन्ने अवस्था आएपछि अबका दिनमा त भाइटीका नै मासिन्छ कि भन्ने अवस्था छ । अझै काठमाडौंमा अन्जली दिदीले पनि दिदीबहिनी नभएका दाजुभाइलाई टीका लगायदिने गरेकी छन् र पो । यो त काठमाडौंको कुरा भयो !
मोफसलमा त्यस्तो कुनै ठाउँ मन्दिर र चलन छैन । बरु टीका लगाउनकै लागि दिदीबहिनी बनाउने चलन छ । तिहार दिदीबहिनी नहुँदा खल्लो हुन्छ नै । यताउता दिदीबहिनी बनाएर भाइभाइ खलक ओल्लोपल्लो घरका चेलीबेटी मिलेर तिहारको टीका लगाउँछन् अझैपनि ।
हामीले सँगै बसेर सबै दिदीबहिनी र दाजुभाइ जुटेर तिहारको टीका नलगाएको ३० वर्ष भइसक्यो । सायद आगामी दिनमा कुनै बेला पाइएला कि आशा गरौँ । सास छउन्जेल आश हुन्छ । बाध्यता भनौँ या रहरले सबै मुग्लान पसेपछि हत्तपत्त भनेको बेला मुलुक आउन गाह्रो छ । यसैले मेसेन्जरमा कुरा गर्ने बस्ने सुखदुःख बाँड्ने । अरू विकल्पै के छ र ? एउटा आए अर्को आउन नपाउने कारणले गर्दा विदेशमा हाम्रो चाडको अर्थ नहुने । बिदा नमिल्ने भएकाले सँगै टीका लगाउन नपाउने अवस्था छ । विदेश जाँदा दंग परेपनि चाडबाड आउँदा खड्किने रहेछ ।
ठूलो घर सरसफाइ र लिपपोत गर्न कठिन थियो । सन्तानले आमालाई सघाउँथे । अहिले सहरमा जेनतेन सानो घर छ । त्यही पनि सरसफाइ गर्न जन छैनन् । चारैतिर धान थन्क्याउने चटारो । मौसम न जाडो न गर्मी । चारैतिर फूल नै फूल रंगीचंगी हुन्थ्यो । गाउँमा चाडको महत्त्व अर्कै थियो । दसैंको पिङ चौरतिर चुँडिएको हुन्थेन । लामो बिदा घर बस्न पाइन्थ्यो ।
वनमा कटुस खोज्न गइन्थ्यो । तिहारमा कटुस खाने चलन छ । यदाकदा ओखर पनि किनेर ल्याइन्थ्यो । त्यो बेला सुन्तला, केरा, कटुस, अमला, बयर, स्याउ हुन्थे । पछि बिस्तारै अनेकथरी विदेशी मसला आए । बिस्तारै गाउँले भन्दा बजारका चिजबिज बढे । पहिला भाइ मसला भन्ने सुनिएको थिएन । अहिले भाइ मसलाका नाउमा अनेक आएकाछन् । उपहारमा टोपी दिने चलन थियो । अहिले तिहारमा मासु पनि खान्छन् । तिहारको टीका नखाई लगाउने दसैंको टीका खाएर लगाउने भन्थे बूढापाका भेट्नैसितको अमिलो फललाई यमराज र यमुना प्रतीक मानेर टीका लगाउने र दीर्घजीवनको कामना गर्ने गरिन्छ ।
बाले तिहार लागेपछि गाउँका मानिसलाई घरमा बोलाएर लालटिन बालेर पप्लु खेलेको याद छ । आमालाई जुवाडेलाई चिया खाजा गर्दागर्दा भुक्तमान । त्यो बेला सायद कलब्रेक, क्यारिज थिएन कि ? बाले जुवा हारिन्छ भनेर तिहारमा मस्यौरा नखाने भन्नुहुन्थ्यो । त्यतिखेर कौडाको पनि चलन थियो । काम्लोमा दरीमा कौडा खेलिन्थ्यो । च्याखे थाप्ने पनि गरिन्थ्यो । तिहारदेखि ठूला एकादशीसम्म पनि जुवा चल्थ्यो । जुवामा जिते जितौरी दिने चलन थियो । जुवा हेर्ने पनि त्यतिकै हुन्थ्ये । उता झन्डी बुर्जा खेलाउने हुन्थ्ये । बच्चाहरू झन्डी बुर्जा अर्थात लगुंर बुर्जामा रमाउँथे । गाउँमा बाह्रमासे खेल्ने मानिस अझै जिउदै छन् । कतिको त जसवाले परिवार चलेको छ भन्छन् । होला पनि ।
अहिले त दिदीबहिनीबिनाको चाड । दाजुभाइ नभएको चाड । खल्लो छ । छैनन् भनौ धेरै छन् तर छन् भनौ मुलुकमा चरोभुत्लो कोही छैनन् । मुलुकमै नभएपछि के काम लाग्यो ? सम्झ्यो बस्यो।