हामी केही साथीहरू सहरदेखि टाढा प्रकृतिसँग रमाउन हिँड्यौं । सुन्दर हिमाल देखिन्थे । झरनाहरू नजिकै थिए । खोलामा कञ्चन पानी बगिरहेको थियो । सबैले मोबाइल झिके । कोही फोटो खिच्न, कोही टिकटक बनाउन त कोही भिडियो खिच्न थाले । कसैले पनि एक मिनेट नाङ्गो आँखाले न त हिमाल हेर्यो न त झरनाको पानी । अरे ! खै त प्रकृतिको असली स्वाद ?
नाच्ने गाउने रमाइलो कार्यक्रम थियो । मानिसहरू कोही भिडियो खिच्दै थिए कोही छेउमै बसेर फेसबुकमा रमाउँदै थिए । रमाउनु नै थियो त नाचे भइहाल्थ्यो, गाए वा थपडी बजाए पनि हुन्थ्यो । भिडियो खिचेर के चाहीँ गर्ने हो र ? हामी कुन संसारमा रमाउन थाल्यौँ ?
आफन्तहरू चाडबाड मनाउन भेला भएका थिए । कोही कसैसित कुराकानी गर्नु वा हाँसखेल गर्दैनथे । स्मार्टफोन स्क्रोल गर्न तल्लीन देखिन्थे ।
कता हरायो हाम्रो सामूहिक बसिँवियालो र भलाकुसारी ?
सानो बच्चाले मोबाइलमा कार्टुन नहेरी खाना खान सक्दैन । युवायुवती बाटो हिँड्दा, होटल छिर्दा एक्लै बस्दा वा साथीसँग कुरा गर्दा मोबाइल हेर्दै घोप्टिएको मात्रै भेटिन्छन् । यात्रामा सँगैको सिटमा बसेका सित बोलचाल हुँदैन । मोबाइलको स्क्रिन स्क्रोल गरिरहेका हुन्छन् । कि त फोन मै घन्टौ कुराकानी गरिरहेका हुन्छन् । एक किसिमले भन्दा मानिसहरू जहाँ छन् त्यहाँ नै उनीहरू भएको आभास छैन ।
बिहान उठ्यो शौच गर्दा मोबाइल, चिया पिउँदा मोबाइल, आराम गर्दा मोबाइल, निन्द्रा नलागे मोबाइल वा ल्यापटप । आज मानिसहरू पूरै डिजिटल दुनियाँमा छिरिसकेका छन् । वास्तविक र प्राकृतिक दुनियाँमा छैनन् । मानिसहरू जसरी खानापानी बिना बाँच्दैनन् त्यसरी नै डिजिटल साधन बेगर बाँच्न नसक्ने भएका छन् ।
अब, के गर्ने त ? डिजिटल व्रत बस्ने ।
के हो डिजिटल व्रत (उपवास) ?
जसरी निश्चित समय खाना नखाने कामलाई हामी उपवास वा व्रत भन्छौ त्यसरी नै निश्चित समयका लागि डिजिटल साधन स्मार्टफोन, कम्प्युटर, ल्यापटप वा ट्याब्लेट नचलाउने वा कम प्रयोग गर्नु डिजिटल व्रत (उपवास) हो । सामाजिक नेटवर्क, डिजिटल सामग्री वा प्रविधिबाट आफूलाई अलग राख्नु डिजिटल व्रत हो ।
किन बस्ने डिजिटल व्रत ?
बेन्जामिन फ्य्राङ्कलिनले सबैभन्दा उत्तम औषधि ‘आराम र व्रत’लाई भनेका छन् । पूर्वीय दर्शनले निराहार बस्दा पाचन प्रणाली सुधार, लोभ वासना नियन्त्रण, ध्यान, एकाग्रता, मानसिक शान्ति तथा आध्यात्मिक उन्नति हुने मानेको छ । यसरी नै डिजिटल व्रत बस्नाले मस्तिष्कको क्षयीकरण कम हुने अनुसन्धान कर्ताले सुझाएका छन् ।
मानसिक शान्ति र विश्रामका लागि डिजिटल व्रत जरुरी छ । यसले मोबाइलको पहूँचमा आफू नहुँदा उत्पन्न हुने डर र असहजता (नोमोफोविया) बाट टाढा राख्ने र आफन्तहरूसँग रमाइलोसँग समय बिताउन मद्दत मिल्छ ।
इकिगाई पुस्तकका लेखक हेक्टर गार्सिया र फान्सेस्क मिरालेसले आफ्नो पुस्तकमा मानिसहरूले डिजिटल व्रत बस्दा आफ्नो काममा एकाग्र हुनुको साथै मस्तिष्कको उत्पादन क्षमता बढ्ने उल्लेख गरेका छन् । यस व्रतले मानसिक, भावनात्मक र आध्यात्मिक पुनर्ताजगी प्राप्त गर्न सघाउँछ । मेगन अस्टविक लेख्छिन्⁃ आँखाको थकान कम गर्न, गहिरो निद्रा पर्न, चिन्ता कम गर्न र जीवनसित सन्तुष्ट हुन डिजिटल व्रत उपयोगी छ ।
खाना खाने समयमा अत्याधिक स्क्रिन प्रयोगले पाचन शक्ति कम हुने र अघाएको अनुभूति असन्तुलित हुने अनुसन्धानमा देखिएको छ । विश्व स्वास्थ्य संगठनले २ वर्षमुनिका बच्चालाई स्क्रिन समय सिफारिस गरेको छैन । थुप्रै अध्ययनले अत्यधिक स्क्रिन वा सामाजिक संजाल प्रयोगले तनाव, डिप्रेसन, एक्लोपन तथा असन्तुष्टि बढाउँछ भन्ने निष्कर्ष निकालेका छन् । डिजिटल व्रत बस्नाले ‘फोमो’ कम हुने गर्छ । फोमो भनेको अरूले केही पाउँदैछन् र आफूले केही गुमाइरहेको छु भन्ने डर वा चिन्ता हो जसले गर्दा मानिसहरू पटक पटक स्मार्टफोन स्क्रोल गरिरहन्छन् जसबाट आफू 'अपडेट' भइरइयोस् ।
कसरी बस्ने डिजिटल व्रत ?
हेक्टर गार्सिया र फान्सेस्क मिरालेस लेख्छन्–‘साताको एकदिन शनिबार वा आइतबार डिजिटल उपवास राख्नुहोस् । गीत सुन्नुहोस्, किताब पढ्नुहोस् । पैदल यात्रा वा पौडी खेल्न जानुहोस् ।’ जसरी निराहार व्रतलाई हामीले संस्कारसँग जोडेका छौँ त्यसरी नै डिजिटल व्रतलाई पनि संस्कार बनाउन जरुरी देखिएको छ । निश्चित समय स्मार्टफोन, ल्यापटप वा कप्म्युटरबाट आफू टाढा राख्ने गर्न सकिन्छ । गीत संगीत सुन्ने, पुस्तक अध्ययन गर्ने, करेसाबारी वा बगैँचा गोडमेल गर्नेजस्ता कामलाई दिनचर्यामा ढाल्न सकिन्छ । प्राकृतिक सौन्दर्यको अवलोकन गर्ने, छिमेकी वा साथीसँग भलाकुसारी गर्ने, सिर्जनात्मक कार्यजस्तै लेखन, पेन्टिङ, नाच्ने, गाउने आदिमा समय बिताउँदा डिजिटल दुनियाँबाट हामी केही समय अलग हुन सक्छौँ ।
अन्त्यमा
विश्वभर नै मानिसहरूमा बढ्दो चिन्ता, तनाव, डिप्रेसनले गर्दा मानसिक स्वास्थ्यको विषयमा बृहत् बहस हुनथालेको छ । विभिन्न अध्ययनमा मानसिक स्वास्थ्य सन्तुलित राख्न डिजिटल व्रत बस्नुपर्ने तथ्य उजागर भएको छ । आजको युगमा हामी प्रविधि, इन्टरनेट तथा सामाजिक संजालबाट पूरै टाढा रहन त सम्भब नहोला । त्यसोभए डिजिटल व्रत सुरु गर्ने कि ? हाम्रो सामाजिक, प्राकृतिक र सांस्कृतिक वातावरणमा पनि रमाउन नि थाल्ने कि ?