काठमाडौं । नेपाल नर्सिङ संघले सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।
संघले बुधबार (कात्तिक ५) विज्ञप्ति जारी गरी यही असोज २४ गते वर्तमान अन्तरिम सरकारले न्यूनतम तलब सुविधा कार्यान्वयन गर्न पुनः निर्देशन दिए पनि अस्पतालहरूले बेवास्ता गरेको भन्दै कार्यान्वयनको माग गरेको हो ।
संघका अनुसार, सरकारले ०८१ साल मंसिर २७ गते निर्धारण गरेको न्यूनतम तलब तथा सुविधा हालसम्म पनि धेरैजसो स्वास्थ्य संस्थाले लागु गरेका छैनन् ।
स्वास्थ्य क्षेत्रमा पाँचौँ तहको तलबमान ३४ हजार रुपैयाँसम्म छ । तर, आफूहरूले १५ हजार रुपैयाँ तलबमा काम गर्नुपरेको उनीहरूले गुनासो गर्दै आएका छन् ।
संघले न्यूनतम तलब सुविधा कार्यान्वयनको माग गर्दै देशभरका शिक्षण, सरकारी, निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्स र अरू स्वास्थ्यकर्मी आन्दोलित भएका पनि जनाएको छ । रासस