site stats
बाह्रखरी :: Baahrakhari
देश
दाजुभाइले एकापसमा लगाए भाइटीका

दमौली । तिहार दाजुभाइ र दिदीबहिनीको पर्व हो । यो पर्वमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायुको कामना गर्छन् । तर, तनहुँको व्यास नगरपालिका–१०, सेवरका मदन र सुमन तिमिल्सिना दाजुभाइले एकापसमा भाइटीका लगाएका छन् । बिहीबार (कात्तिक ६) उनीहरूले शुभसाइतमा एकापसमा टीका लगाएका हुन् ।

सुरुमा दाजु मदनले भाइ सुमनलाई पानी र तेलको धारो चुहाउँदै फेरो मारे । भाइटीकाको प्रक्रियाअनुसार निधारमा सप्तरंगी टीका लगाएर उनले फूलको माला गलामा पहिर्‍याइदिए । भाइको शत्रु नास र दीर्घायुको कामना गर्दै ओखर फोरे । त्यसपछि भाइ सुमनले दाजु मदनलाई भाइटीका लगाइदिए ।

विगत आठ वर्षदेखि मदन र सुमनले यसरी नै एकार्कालाई टीका लगाएर भाइटीका मनाउँदै आएका छन् । दिदीबहिनी नभएपछि आठ वर्षदेखि भाइटीका यसैगरी मनाउँदै आएको दाजु मदनले बताए ।

उनले भने, “विगतमा आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौँ । उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नुभयो । हामी टीका थाप्न कुरिरहेका थियौँ । नआएपछि मन खल्लो भो । त्यसपछि हामी दाजुभाइले नै भाइटीका गर्ने सोच बनाएर सुरु गर्‍यौँ । त्यसपछि निरन्तर एकर्कालाई टीका लगाएर भाइटीका मनाउँदै आइरहेका छौँ ।”

मदन र सुमनले भाइटीका गर्दा सुरुमा धेरैले अनौठो माने । दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता थिएन । तिहारको मुख्य दिन भाइटीका – दिदीबहिनीले दाजुभाइलाई निधारमा सप्तरंगी टीका, गलामा मखमली र सयपत्रीको माला पहिर्‍याइदिएर दीर्घायुको कामना गरी मनाइन्छ । रासस
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्