काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक नवीन न्यौपानेले त्रिदेशीय मैत्रीपूर्ण फुटबलअन्तर्गत नेपाल इरानविरुद्ध जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रने बताएका छन् ।
बिहीबार मैत्रीपूर्ण फुटबलको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । त्यसक्रममा उनले नेपाल इरानविरुद्ध जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रने बताएका हुन् ।
नेपालले भोलि (कात्तिक ७) त्रिदेशीय मैत्रीपूर्ण फुटबलको आफ्नो पहिलो खेलमा इरानसँग प्रतिस्पर्धा गर्दै छ ।
“सम्पूर्ण खेलाडीहरू खेल्न हर्षित र तयार छन् । हामीले दुवै टिमलाई अब्बल टिमको रूपमा लिएका छौँ । तर हामी तीन अंकको निम्ति केन्द्रित छौँ । नेपालले इरानलाई पराजित गर्ने लक्ष्यका साथ प्रस्तुत हुनेछ,” प्रशिक्षक न्यौपानेले भने ।
यो खेल भारतको सिलोङस्थित जवाहारलाल नेहरू रंगशालामा नेपाली समयानुसार बेलुका ६ः१५ बजे हुनेछ ।
प्रतियोगितामा इरान, नेपाल र घरेलु टिम भारतको सहभागिता छ । यही अक्टोबर २१ देखि प्रतियोगिता सुरु भएको हो । इरानले उद्घाटन खेलमा भारतलाई २–० ले पराजित गरेको थियो ।