बैतडी । बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ । पाटन नगरपालिका–६, सुकेलीका अन्दाजी ५८ वर्षीय प्रेमसिंह बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।
उनका अनुसार, बिहीबार (कात्तिक ६) अपराह्न ४ बजेतिर घरबाट सिउडे जान्छु भनेर हिँडेका बिष्ट शुक्रबार (कात्तिक ७) मृत फेला परेका हुन् । बिहीबार अबेरसम्म घर नफर्केपछि परिवारले बिष्टको खोजीका निम्ति इलाका प्रहरी कार्यालय पाटनमा खबर गरेको थियो ।
सोहीअनुसार खोजी गर्दै जाँदा दशरथचन्द राजमार्गअन्तर्गत पाटन–४, अन्नाडी मोडबाट करिब १०० मिटर तल बिष्टको शव फेला परेको हो ।
बिष्टले चलाएको सुपप्र ०१–०११ प ७१५१ नम्बरको मोटरसाइकल पनि सडकबाट तल खसेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक बडूले बताए ।
बिष्टको शव परीक्षणका निम्ति प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस