site stats
बाह्रखरी :: Baahrakhari
देश
छठ पर्वको पहिलो दिन नहाय खाय सम्पन्न
रुपन्देहीको श्रीराम जानकी हनुमान मन्दिरस्थित छठघाटका बेदीहरू रङरोगन गर्दै श्रद्धालु भक्तजन । तस्बिर : राधेश्याम विश्वकर्मा/रासस ।

धनुषा । मिथिलाञ्चलको महान् चाड छठ पर्वअन्तर्गत शनिबार (कात्तिक ८) नहाय खाय विधि सम्पन्न गरिएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित विभिन्न ठाउँमा बर्तालु महिलाले सूर्यदेवको आराधना गर्दै जलाशयमा नुहाएर चोखो पकवान ग्रहण गरी पवित्र नहाय खाय विधि गरेका सम्पन्न हुन् ।

यो विधिअन्तर्गत बर्तालुले नदी, पोखरी वा धारामा स्नान गरी शुद्ध भई अरवा चामल र लौकाको तरकारीको प्रसाद ग्रहण गर्ने परम्परा रहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी गीतादेवी साहले बताइन् ।

नहाय खाय सम्पन्न गरेपश्चात् बर्तालुले सूर्योपासना गर्दै चार दिनसम्मको कठिन व्रत सुरु गर्ने प्रचलन छ ।

चार दिवसीय छठअन्तर्गत कठोर व्रतको पहिलो दिन नहाय खाय, दोस्रो दिन खरना, तेस्रो दिन उस्ताउँदो सूर्य र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने प्रचलन छ ।

तराई मधेसवासीको मुख्य चाड छठलाई उत्साहका साथ मनाउनका निम्ति तयारी अन्तिम चरणमा रहेको स्थानीय पुनम झाले बताइन् । पोखरी र घाटको सरसफाइ, सजावटलगायत अरू व्यवस्थापनका काम तीव्र गतिमा भइरहेका उनले जानकारी दिइन् ।

स्थानीय बजारमा छठका निम्ति केरा, नरिवल, नैवेद्यलगायत आवश्यक पूजा सामग्री खरिदका लागि निकै भीडभाड बढेको छ । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्