site stats
बाह्रखरी :: Baahrakhari
देश
विपद्का घटनाबाट ६ महिनामा ३२३ जनाको मृत्यु, सबैभन्दा बढीको ज्यान सर्पले लियो

काठमाडौं । बितेका ६ महिनामा विपद्का घटनामा परी देशभर ३२३ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढीको ज्यान सर्पको टोकाइबाट गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, ‍०८२ वैशाख १ गतेदेखि कात्तिक ५ गतेसम्मको अवधिमा विपद्का घटनामा परी उनीहरूले ज्यान गुमाएका हुन् ।

पछिल्लो ६ महिनामा विपदका घटनामा परी देशभर एक हजार २३३ जना घाइते भएको प्राधिकरणको तथ्यांकले देखाउँछ । यस अवधिमा विपद्का घटनामा परी ३२ जना बेपत्ता भएका छन् ।

प्राधिकरणका अनुसार, यस अवधिमा देशभर चार हजार ४६० वटा विपदका घटना रेकर्ड भएका थिए । ती घटनामा सबैभन्दा बढीको ज्यान सर्पदंश (सर्पको टोकाइ)बाट भएको छ ।

बितेका ६ महिनामा सर्पदंशका ५२० वटा घटनामा ९० जनाको मृत्यु भएको छ । यस्तै, सोही समयमा पहिरोमा परी ६७ जनाको मृत्यु भएको छ ।

प्राधिकरणको तथ्यांक अनुसार, चट्याङ लागेर ४४, बाढीमा परी ३७ जना, आगलागीमा परी २५, जनावरको आक्रमणमा परी २४, लेक लागेर २१, हावाहुरीमा परी आठ र भारी वर्षाका कारण सात जनाको मृत्यु भएको छ ।

पछिल्लो ६ महिनामा बाढीमा परी २७ र पहिरोमा परी चार जना बेपत्ता भएका छन् । विपद्का घटनाबाट यस वर्ष ५९ हजार ७५३ परिवार प्रभावित भएका छन् । सबैभन्दा बढी ५१ हजार ६४८ परिवार आगलागीका घटनाबाट प्रभावित भएका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्